ट्रान्स फ्याटयुक्त खानेकुरा घटाऔँ, घातक रोगबाट बचौँ

0
258

काठमाडौं, १७ फागुन । न्यून तथा मध्यम आय भएका मुलुकहरूका लागि नसर्ने रोग अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यी मुलुकमा वार्षिक एक करोड ५० लाख व्यक्तिको नसर्ने रोगका कारण मृत्यु हुने गरेको छ ।नेपालमा कुल मृत्युमध्ये ६६ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को तथ्यांक छ । यसरी मृत्यु हुनेमा मुटुरोग, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह प्रमुख कारक छन् । हृदयघात,मस्तिष्कघात, मधुमेह, क्यान्सरजस्ता रोगको प्रमुख एक कारण हो, ‘ट्रान्स फ्याट’ । 

के हो, ‘ट्रान्स फ्याट’ ?
तयारी खानेकुरामा हुने अति खराब चिल्लोको मात्रालाई ‘ट्रान्स फ्याट’ भनिन्छ । यो प्राकृतिक र कृत्रिम गरी दुईवटा स्रोतबाट पाइन्छ । प्राकृतिक ‘ट्रान्स फ्याट’ माछामासु तथा दूग्धजन्य खानेकुरामा पाइन्छ । चौपायाको मासुमा ३ देखि ९ प्रतिशतसम्म र दूधजन्य खानेकुरामा २ देखि ६ प्रतिशत ‘ट्रान्स फ्याट’ पाइन्छ । 

एक वयस्क व्यक्तिले दैनिक दुई हजार क्यालोरी ऊर्जा दिने खाना खानुपर्छ । जसमध्ये एक प्रतिशत अर्थात् दुई ग्राम (आधा चिया चम्चाभन्दा कम) ‘ट्रान्स फ्याट’युक्त खाना खानु पर्याप्त हुने वरिष्ठ हृदयरोग विशेषज्ञ डा. प्रकाशराज रोग्मी बताउँछन् ।

घरमै बनाएका खानेकुरामा पनि हुनसक्छ ‘ट्रान्स फ्याट’ 
कृत्रिम रूपमा पाइने ‘ट्रान्स फ्याट’ले व्यक्तिको शरीरमा अति नकारात्मक असर गर्छ । कृत्रिम ‘ट्रान्स फ्याट’को मुख्य स्रोत धेरैबेर तताएको तेल पटक–पटक तताएको तेल तथा वनस्पति घिउ हुन् । सामान्य तापक्रममा जम्ने चिल्लो पदार्थमा ‘ट्रान्स फ्याट’को मात्रा बढी हुन्छ । 

यस्तो तेल वा घिउमा पकाएको खानेकुरामा अत्यधिक ‘ट्रान्स फ्याट’ पाइन्छ । त्यस्तै, जंकफुड, बजारमा पाइने तयारी खानेकुरा, बेकरी आइटम, प्याकेटमा पाइने खानेकुरा, मिठाइ आइटमलगायत खानेकुरामा शरीरलाई चाहिनेभन्दा बढी ‘ट्रान्स फ्याट’को मात्रा हुन्छ । 

त्यस्तै, उद्योगबाट उत्पादित केही चिल्लो पदार्थलाई पार्सियल्ली हाइड्रेजेनेटेड ओइल अर्थात् पीएचओ भनिन्छ ।  यस्ता खाद्यन्न केही मात्रामा हाइड्रोजन अणु मिसाएर बनाइएको हुन्छ । हाइड्रोजन अणु मिसाएर बनाइएका खाद्यपदार्थको स्वाद मिठो हुन्छ । तर,स्वास्थ्यका दृष्टिले हानिकारक हुन्छ ।

त्यसैगरी, घरमा अत्यधिक तताएर बनाइएका खानेकुरामा पनि ‘ट्रान्स फ्याट’ हुनसक्ने विशेषज्ञहरू बताउँछन् । 

‘ट्रान्स फ्याट’ले यसरी निम्त्याउँछ घातकरोग 
‘ट्रान्स फ्याट’ले रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढाएर प्राकृतिक कोलेस्ट्रोलको मात्रालाई घटाउँछ । त्यसैगरी, रक्तनलीको भित्री भागमा रगतको थेग्ला जमाउने सम्भावना बढाउँछ र रक्तनली साँघुरिने क्रम बढाउँछ ।

‘ट्रान्स फ्याट’ले हृदयघात तथा मस्तिष्कघात हुने सम्भावना पनि बढाउँछ । त्यस्तै, मधुमेह, बाथरोगजस्ता समस्या निम्त्याउन सक्छ । 

कसरी घटाउने ‘ट्रान्स फ्याट’को प्रयोग ?
बजारमा पाइने खानेकुरामा ‘ट्रान्स फ्याट’को प्रयोग थाहा पाउन प्याकेटबाहिर टाँसिएको लेबलमा ‘ट्रान्स फ्याट’को मात्रा लेखिएको हुन्छ । ‘ट्रान्स फ्याट’को मात्रा नभएका खानेकुरा किन्न विशेषज्ञहरू सुझाव दिन्छन् । घरमा बनाइने खानेकुरामा पनि तोरी, नरिवल, ओलिभलगायतको तेल बढी प्रयोग गर्नुपर्ने उनीहरू बताउँछन् । 

गाईंभैँसीको घिउमा पकाइएका खानेकुरामा ‘ट्रान्स फ्याट’को मात्रा कम हुने हुँदा घरमा पनि घिउको प्रयोग गर्नु ‘ट्रान्स फ्याट’को प्रयोग घटाउने अर्को उपाय भएको बताउँछन् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्य । 

रातो मासु, आइसक्रिम, बेकरी आइटमजस्ता खानेकुराको प्रयोग कम गर्नु नै ‘ट्रान्स फ्याट’ घटाउने उपाय भएको डा. वैद्यको भनाइ छ । 

‘ट्रान्स फ्याट’ नियन्त्रणका लागि कानुन आवश्यक 
नेपाल सरकारले नसर्ने रोग नियन्त्रणको बहुपक्षीय कार्ययोजना २०२१–२५ स्वीकृत गरेको छ । योजनामा सन् २०२३ सम्ममा औद्योगिक ‘ट्रान्स फ्याट’को मात्रा दुई प्रतिशत कायम राख्ने लक्ष्य समेटिएको छ । विश्वका ४० मुलुकले यो लक्ष्य हासिल गरिसकेका छन् ।

औद्योगिक ‘ट्रान्स फ्याट’ नियन्त्रणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न देशबाट नेपाल भित्रिने १६ वटा तेलको गुणस्तर मापदण्ड तोकेको छ । 

त्यस्तै,नेपालमै उत्पादन हुने खाद्यपदार्थको लेबलिङका लागि सरकारले नयाँ ऐन बनाउने प्रक्रिया अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here