युक्रेनमा गत बिहीवारदेखि रुसी सेनाको आक्रमण जारी छ । राजधानी किएभ तथा अन्य प्रमुख शहरहरू कब्जा गर्न रुसी सेना लागिपरेको छ । सकेसम्म कम नागरिक हताहती होस् भनेर रुसी सेनाले कारवाहीलाई सामान्य गतिमा अघि बढाइरहेको छ । आखिर, रुसलाई समान स्लाभ जाति र अर्थोडक्स क्रिस्चियन धर्म मान्ने दाजुभाइ दिदीबहिनीको कत्लेआम गर्नु छैन । रुसको भूसुरक्षामा आघात पुर्याउन खोज्ने अनि पश्चिमका कठपुतली बनेका उग्रराष्ट्रवादी नवनाजीहरूको मात्र सफाया गर्नुछ ।
रुसले यस युद्धमा नसोचेको क्षति बेहोरिरहेको भनी पश्चिमले व्यापक रूपमा प्रचारबाजी गरिरहेको छ । युक्रेनी अधिकारीहरूले पनि अहिलेसम्म ४५ सय रुसी सैनिकहरूको ज्यान गएको बताइरहेका छन् । रुसका अनेकौं हातहतियार पनि युक्रेनी सेनाले नष्ट गरिरहेको उनीहरूले दाबी गरेका छन् ।
उता रुसले युद्धको अद्यावधिक विवरण निश्चित समयान्तरमा मात्र उपलब्ध गराइरहेको छ । घटना पुष्टि भएपछि मात्र त्यसको जानकारी सञ्चारकर्मीहरूलाई उपलब्ध गराउने रुसको नीति देखिन्छ । र रुसी सैनिकहरूका साथ इम्बेड गरिएका पत्रकारहरू खासै देखिएका छैनन् । तर यो नीति अपनाउँदा रुसले पश्चिमसँगको सूचना युद्ध (इन्फर्सेसन वारफेयर) चाहिँ गुमाइरहेको छ ।
सामाजिक सञ्जालमा युद्धका बग्रेल्ती भिडियो र तस्वीरहरू पोस्ट गरिन थालेका छन् । तर तिनलाई स्वतन्त्र रूपमा पुष्टि गर्न निकै कठिन छ । कतिपयले त वर्षौंअघिका र अन्य ठाउँमा भएका युद्धका तस्वीर पनि युक्रेन युद्धका नाममा पोस्ट गरिरहेका छन् । बीबीसीले समेत त्यस्ता कतिपय भिडियोहरू फेक भएको भनेर लेखेको छ ।
यस्तो अवस्थामा रुस र पश्चिम दुवैतर्फका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका सामग्रीलाई तर्कसंगत ढंगले हेर्नुपर्ने हुन्छ । पंक्तिकारले विभिन्न स्रोतको अध्ययन गरेर पाठकहरूका लागि सामग्री पस्किने प्रयास गरेको छ ।
युक्रेनले ठूलो संख्यामा रुसका सैनिक हताहत भएको र आफूले युद्ध जितिरहेको बताउने गरेका छन् । तर त्यसलाई पुष्टि गर्न सकिने प्रमाण उनीहरूले उपलब्ध गराएका छैनन् ।युक्रेनीहरूले हतियार चलाउन सक्ने सबैलाई व्यापक संख्यामा हातहतियार उपलब्ध गराइरहेका छन् । युक्रेनले युद्ध जितिरहेको हुन्थ्यो भने सैनिकहरू बाहेक अन्यलाई हातहतियार दिनै पर्दैनथियो, विजेता सैनिकहरू नै रुसीहरूका लागि पर्याप्त हुन्थे ।
युक्रेनी सैनिकहरूले विभिन्न पुलहरू ध्वस्त पारेर रुसी सेनालाई अगाडि बढ्न नदिएको दाबी गरिरहेका छन् । जस्तो, क्राइमिया र मुख्यभूमि युक्रेनलाई जोड्ने महत्त्वपूर्ण रणनीतिक पुल हेनीचेस्कलाई युक्रेनका मरिन बटालियन इन्जिनीयर भिताली स्काकुन भोलोदीमीरोविचले आत्मघाती आक्रमण गरेर उडाइदिएको युक्रेनी सेनाले आफ्नो फेसबूक पेजमा जानकारी दिएको छ ।
पुलमा माइन राखेर भाग्न नसक्दा उनको त्यहीँ मृत्यु भएको थियो ।
त्यस्तै युक्रेनको रक्षा मन्त्रालयले इभानकिभ शहर नजिक रुसी सुरक्षाबलहरूलाई अघि बढ्न नदिनका लागि टेटेरिभ नदीमाथिको पुल उडाएको जानकारी दिएको छ । इभानकिभ किएभभन्दा ४० माइल उत्तरतर्फ पर्छ ।
एकातिर यसरी पुल उडाएको भन्ने युक्रेनीहरूले रुसीहरूलाई पराजित गरिसकेको र सबै मोर्चामा प्रत्याक्रमण गरिरहेको पनि भनिरहेका छन् । यसमा विरोधाभास देखिन्छ किनकि युद्ध जितिरहेको शक्तिले पुल उडाउने काम गर्दैन ।
दोस्रो विश्वयुद्धको अन्तिम वर्षमा जर्मन सेना पूर्णतया पतनको संघारमा पुग्दा जर्मनीको पूर्वी भागमा राइन नदीमा बनेको लुडेनडोर्फ पुललाई नाजीहरूले उडाउन खोजेको तर सफल नभएको इतिहासलाई यहाँ स्मरण गर्नुपर्ने हुन्छ ।
त्यससँगै युक्रेनीहरूले हतियार चलाउन सक्ने सबैलाई व्यापक संख्यामा हातहतियार उपलब्ध गराइरहेका छन् । युक्रेनले युद्ध जितिरहेको हुन्थ्यो भने सैनिकहरू बाहेक अन्यलाई हातहतियार दिनै पर्दैनथियो, विजेता सैनिकहरू नै रुसीहरूका लागि पर्याप्त हुन्थे ।
रुसी सेना र युक्रेनी सेनाको संख्या तथा क्षमता तुलनीय नै छैन । त्यसैले युक्रेनी अधिकारीले प्रचारबाजी गरिरहेको र पश्चिमी सञ्चारमाध्यमले त्यसलाई प्रोत्साहन गरिरहेको निष्कर्ष निकाल्न सकिन्छ ।
त्यसमाथि युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले कारागारमा रहेका कैदीहरू हतियार चलाउन सक्षम छन् भने तिनलाई थुनामुक्त गराइने घोषणा गरेका छन् । त्यससँगै लुटपाट र हत्याहिंसा गर्ने खुँखार अपराधीहरूले किएभ तथा अन्य शहरमा हातहतियार चलाइरहेको खबर आएका छन् । तर उनीहरूले सैन्य तालिम नपाएको भएर उनीहरूको प्रहार सटीक रूपमा रुसी सैनिकहरूमाथि भएको होला भनी पत्याउन गाह्रो छ ।
जेलेन्स्कीको यस निर्णयले पनि युक्रेनको जीत भइरहेको छ भन्ने भाष्यलाई आफैं खण्डन गर्छ । युक्रेनीहरूले जितिरहेको भए कैदीलाई हातहतियार दिएर किन लडाउनुपर्थ्यो ?
अझ जेलेन्स्कीले युक्रेनीहरूको पक्षमा लड्नका लागि विदेशी सैनिकहरूलाई आह्वान गरेका छन् । उनले त्यस्ता सैनिकहरूलाई सजिलै प्रवेशाज्ञा दिइने आदेशमा हस्ताक्षर समेत गरिरहेका छन् ।
इन्टरनेसनल लिजन आर्मीमा सहभागी हुन हजारौं मानिस स्वतःस्फुर्त रूपमा युक्रेन पुगिरहेको पश्चिमी सञ्चारमाध्यमहरूले खबर दिएका छन् । युक्रेनी सेना हावी हुन्थ्यो भने विदेशीलाई किन गुहार्नुपर्थ्यो ? ती विदेशी सैनिकहरूलाई गुरिल्ला युुद्धको विधि अपनाएर रुसी सेनामाथि अधिकतम क्षति पुर्याउन लगाउने रणनीति युक्रेनी सेनाले बनाएको देखिन्छ ।
तर युक्रेनले सोचे जति यो सहज छैन । स्लोभाकिया सरकारका महान्यायाधिवक्ता मारोस जिलिन्काले युक्रेनको सशस्त्र विद्रोहमा सहभागी हुने स्लोभाक नागरिकलाई आठ वर्षसम्मको कैद सजाय दिइने बताएका छन् । तर रुसको गतिविधिलाई सार्वजनिक रूपमा समर्थन गर्नेलाई २५ वर्षको कैद सजाय दिइने पनि उनले बताएका छन् ।
यसैबीच कतिपय मुलुकले युक्रेनलाई हातहतियार उपलब्ध गराउन मानेका छैनन् ।
बुल्गेरियाले युक्रेनलाई आफ्ना मिग–२९ लडाकू विमान उपलब्ध गराउन अस्वीकार गरेको छ । रुसी वायुसेनाले युक्रेनको आकाशमा कायम गरेको सर्वोच्चतालाई काउन्टर दिन युक्रेनले यो अनुरोध गरेको थियो ।
त्यस्तै हंगेरीका परराष्ट्रमन्त्री पिटर जिजार्तोले आफ्नो देशको बाटो भएर घातक हतियार युक्रेन लैजान नदिने बताएका छन् । अनि आफैंले पनि युक्रेनलाई हतियार नदिने र मानवीय सहायता मात्र उपलब्ध गराउने उनको भनाइ छ । आफ्नो सीमामा आइपुगेका युक्रेनी शरणार्थीलाई हंगेरीले आश्रय दिएर वाचा पूरा गरिरहेको पनि छ ।
युरोपेली संघको परराष्ट्र मामिला तथा सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि जोसेप बोरेलले युक्रेनलाई युरोपेली मुलुकहरूले सहजै लडाकू विमान उपलब्ध गराउने भने पनि त्यो सोचे जस्तो सहज देखिएको छैन । तर स्पेन, पोर्चुगल, क्रोएसिया, स्लोभेनिया, उत्तरी मेसिडोनिया लगायतका मुलुकले युक्रेनलाई हतियार सहितका सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका छन् ।
जर्मनीले युद्धरत पक्षलाई हातहतियार उपलब्ध नगराउने आफ्नो लामो परम्परा तोड्दै युक्रेनलाई एक हजारवटा एन्टी–ट्यांक हतियार तथा ५०० वटा स्टिंगर एन्टी–एयरक्राफ्ट मिसाइल सिस्टम उपलब्ध गराउने घोषणा गरेको छ । उता स्विडेनले ५ हजारवटा हलुका एन्टी–ट्यांक हतियारहरू युक्रेनलाई दिने घोषणा गरेको छ ।
युरोप र अमेरिकाले जति दुष्प्रचार गरेको भए पनि रुसी सैनिकहरू आफ्नै गतिमा लक्ष्यतर्फ अघि बढिरहेको देखिन्छ । एसिया टाइम्समा डेभिड पी गोल्डम्यानले रुसी सेनाको प्रगतिका विषयमा विशद वर्णन गरेका छन् । उनका अनुसार, अहिले रुसी सैनिकहरू तीन ठाउँमा घेराबन्दीको योजना सहित अघि बढिरहेका छन् ।
पहिलो, रुसी सैनिकहरूको जत्था पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रहेको सबभन्दा ठूलो शहर मारिउपोलको पश्चिमतर्फ अघि बढिरहेका छन् । त्यहाँ उनीहरूले हतियारले सुसज्जित युक्रेनी सेनालाई छलेर तिनीहरूको पछाडि पुगेर आक्रमण गर्न खोजिरहेका छन् ।
दोस्रो, किएभको घेराबन्दीको काम पूरा भइसकेको छ । रुसी सैनिकहरूले चारैतिरबाट शहर घेरेकाले नागरिकलाई सुरक्षित रूपमा अन्त लैजान नसक्ने त्यहाँका मेयर भिताली क्लिच्कोले बताएका छन् । पछि उनले युक्रेन सरकारको दबाबमा बयान फिर्ता लिएको भए पनि सत्य कुरा ओकलेर उनले वास्तविकता बताइहाले ।
रुसको रक्षा मन्त्रालयले किएभ घेराबन्दी गरिसकिएको र किएभ–भासीलकिभ राजमार्ग भएर सबै सर्वसाधारणले शहर छोड्न पाउने भनेर ह्युमानिटेरियन कोरिडोर वा कोर्डन स्यानिटेयर बनाइएको घोषणा गरेको छ ।
तेस्रो, रुसी सैनिकहरू बेलारुसबाट दक्षिणतर्फ अघि बढिरहेको गूगल म्यापमा देखिन्छ । उनीहरू किएभ शहरको बीचबाट बग्ने नीपर नदीको पश्चिमी भागमा अघि बढ्दै सडकको आवागमन ठप्प पारिरहेका छन् ।
गोल्डम्यानका अनुसार, रुसले सकेसम्म कम हताहती होस् भनी युक्रेनी सेना अड्डा जमाएर बसेको पोजिसनमा सिधै अगाडिबाट आक्रमण गरिरहेको छैन । अनि युक्रेनी शहरहरूमा अर्बन वारफेयर पनि रुसी सैनिकहरूले गरिरहेका छैनन् ।
शहरी युद्ध वा अर्बन वारफेयर खुला मैदानमा गरिने युद्ध जस्तो हुँदैन । यो शहरको भित्री भागमा गरिने हुनाले यसमा नागरिकहरू हताहती हुने सम्भावना बढी हुन्छ । अहिले युक्रेनी सेनाले सर्वसाधारणलाई ढाल बनाएर रुसी सेनामाथि आक्रमण गरिरहेका छन् ।
युक्रेन सरकारले १८ देखि ६० वर्षसम्मका पुरुषलाई देश छोड्न नदिएर यही अर्बन वारफेयरमा लगाउन खोजेको छ । उनीहरूलाई पेट्रोल बम बनाएर रुसीहरूमााथि प्रहार गर्न युक्रेनी सरकारले उक्साइरहेको छ । यस्तो अवस्थामा प्रत्याक्रमण गर्दा नागरिक मारिने सम्भावना भएकाले रुसी सैनिकहरू अधिकतम सतर्कता अपनाइरहेका छन् ।
बरू त्यसको साटो रुसी सेनाले ‘वार अफ पोजिसन’ मा रहेर युद्ध गरेको गोल्डम्यानको भनाइ छ । युक्रेनी सेनाको शक्तिशाली इकाइलाई सैनिक र हातहतियार तत्कालै उपलब्ध गर्न (रिसप्लाई) बाट रोक्ने र युक्रेनलाई सम्झौताका लागि बाध्य बनाउन रुसले यस्तो रणनीति अपनाएको हो । भूउपग्रहीय तस्वीरहरू हेर्दा किएभबाहिर रुसी सेनाको जत्था ४० माइल लामो देखिन्छ । किएभ कब्जा गर्न चाहिँ रुसीहरूलाई समय लाग्नेछ किनकि त्यहाँ आमनेसामनेको लडाइँभन्दा कठिन अर्बन वारफेयर तथा डोर टु डोर अपरेसन रुसी सेनाले गर्नुपर्ने हुन्छ ।
शत्रुको घेराबन्दी गरेर शहरका विभिन्न केन्द्रमा उससँग लडाइँ गर्नमा रुसी सैनिकहरूले महारथ हासिल गरेका छन् । गोल्डम्यानका अनुसार, रुसी सैनिकहरूले युक्रेनमा इतिहासकै सबभन्दा ठूलो घेराबन्दी युद्ध जितेका थिए ।
सन् १९४३ मा किएभ आइपुगेका नाजी सैनिकहरूलाई घेराबन्दीमार्फत थकित बनाएर रुसीहरूले पछि हट्न बाध्य बनाएको इतिहास छ । पुटिनले भन्ने गरेका युक्रेनी नवनाजीहरूलाई पनि रुसी सैनिकहरूले त्यही विधि अपनाएर गलाउन खोजेको देखिन्छ ।
यसरी हेर्दा पश्चिमले प्रचारबाजी गरे जस्तो रुसले युद्ध हारिरहेको देखिँदैन । युद्ध हारिरहेको हुन्थ्यो भने रुसी सेना किएभतर्फ बढिरहेको नै नहुनुपर्ने थियो ।
तर भूउपग्रहीय तस्वीरहरू हेर्दा किएभबाहिर रुसी सेनाको जत्था ४० माइल लामो देखिन्छ । किएभ कब्जा गर्न चाहिँ रुसीहरूलाई समय लाग्नेछ किनकि त्यहाँ आमनेसामनेको लडाइँभन्दा कठिन अर्बन वारफेयर तथा डोर टु डोर अपरेसन रुसी सेनाले गर्नुपर्ने हुन्छ ।