रवि लामिछानेः गल्ती र प्रायश्चित्त

0
253

काठमाडौं, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत आइतबार नेपाली सञ्चारमाध्यममाथि गरेको विषवमनको तरङ्ग अहिलेसम्म जारी छ । उनले संयम गुमाएर मिडियामाथि लगाएका आरोपको स्पष्टीकरण दिने क्रम पनि चलिरहेको छ । आरोप लगाएपछि त्यसलाई पुष्टि गर्ने दायित्व आरोप लगाउनेवालाको हो भने आफूमाथि कसैले आरोप लगाइसकेपछि त्यसलाई स्पष्ट पार्ने जिम्मा आरोप लाग्ने व्यक्तिमाथिको हो । 

रविले राज्यको चौथो अंगमाथि आइतबार एकाएक यतिधेरै आरोप लगाए कि मानौं उनी आफू भगवान् र बाँकी सबै राक्षससरह । रविले आइतबार गरेको विषवमनको जवाफ दिने नै छन् । उनी चुप लागेर पक्कै बस्ने छैनन् । किनकि जति आरोप उनले लगाए त्योभन्दा बढी हिलो उनको ‘करियर’मा छ्यापिइसकेको छ । 

प्रतिनिधि सभाको चौथो ठूलो दलका सभापतिले नेपाली सञ्चारमाध्यमलाई घृणाको दृष्टिले मात्र हेरेनन् आफूविरुद्ध लेख्ने जुनसुकै मिडियालाई कारबाही गर्ने धम्कीसमेत दिएका छन् । आफूविरुद्ध लेख्ने जोकोहीलाई खबरदारी गरेर नेतामा हु्नुपर्ने संयम गुमाएका छन् । 

रविको प्रतिष्ठा 
रवि लामिछाने सञ्चारकर्ममा लाग्नेहरुका लागि उदाहरणीय व्यक्ति हुन् । सर्वप्रथम त उनी निडर सञ्चारकर्मी थिए । गत असारमा पार्टी दर्ता गर्नुअगाडिसम्म उनको परिचय एक सञ्चारकर्मीकै रुपमा रहेको थियो । 

रविले नेपाल टेलिभिजनको कार्यक्रम गर्दा उनलाई धेरैले चिन्थे । उनको सम्पादन र निर्देशन क्षमता देखेर उनीबाट सिक्नेहरु अहिले ठूलै निर्माता र निर्देशक भइसकेका छन् । तिनीहरुका लागि रवि उदाहरणीय हुन् । 

रविकै निर्देशनबाट प्रेरित भएर अहिले कयौंले आफ्ना कार्यक्रम चलाउँछन् । चलचित्रसमेत पनि बताउँछन् । उनको त्यो क्षमतामा खोट लगाउने काम टेलिभिजनले कहिल्यै गरेन । 

साथै उनले पछिल्ला केही वर्षदेखि टेलिभिजनमा चलाएको ‘सिधा कुरा’ ले धेरैको मन जितेको थियो । ‘न्याय नपाए रवि लामिछानेको कार्यक्रममा जानू’ भन्ने त सर्वसाधारणमा परेकै थियो । सरकारी ढिलासुस्तीले हैरानी खेपेकाहरु रविको कार्यक्रममा सहभागी भएपछि समस्या समाधान भएका धेरै उदाहरण छन् । 

त्यस्तै सिकारु सञ्चारकर्मीले उनको प्रश्न सोध्ने निडरपनबाट धेरै ज्ञान सिके । उनलाई पछ्याउने सञ्चारकर्मी पनि भए । रविले लामो समय सञ्चारक्षेत्रमा काम गरे । उनको पहिचान सञ्चारकर्मीकै रुपमा भएको हो । सञ्चारकर्मीकै हैसियतमा लगातार एकैपटक सबैभन्दा बढी समय कार्यक्रम चलाएर उनले विश्व कीर्तिमान नै रचे । उनको इच्छाशक्तिले त्यो सम्भव भएको हो । 

गत असारमा स्थापना गरेको पार्टी र त्यसको सभापति भएर पाँच महिनापछि नै प्रतिनिधि सभामा चौथो ठूलो दलको हैसियत बनाउनु सञ्चारकर्मीकै पृष्ठभूमिले गर्दा हो । उनलाई मतदाताले चिनेको कुनै ठूलो त्याग र तपस्यासँगै समाजसेवा गरेर हैन सञ्चारमाध्यमकै प्रयोग गरेर सम्भव भएको हो । सञ्चारमाध्यमको शक्ति कस्तो हुँदोरहेछ भनेर उनले देखे, भोगे र त्यसको भरपूर उपयोगसमेत गरे । 

सञ्चारमाध्यमले सहीलाई सही र गलतलाई गलत भन्ने हैसियत राख्छ । सरकारको प्रशंसा भन्दा बढी आलोचना गर्नु सञ्चारमाध्यमको धर्म हो । उनी आफू सञ्चारकर्मी हुँदा त्यही नै गरेका हुन् । आपत विपद्मा परेका, न्याय नपाएका, दुःख पाएकाहरुलाई पनि सञ्चारमाध्यमको प्रयोग गरेर सहयोग गरेकै हुन् । उनले त्यसबापत प्रतिष्ठा कमाए । सञ्चारकर्मी बन्दा उनले नेतालाई ‘झुर’ भन्थे । त्यही जनतालाई मन पर्दथ्यो । किनकि नेताहरुले दायित्व निर्वाह गर्न सकिरहेका छैनन् । 

नेता बनेपछि सञ्चारमाध्यमको सहयोग
रवि नेता भएपछि अधिकांश सञ्चारमाध्यमले उनी र उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गरे । सञ्चारकर्मी र सञ्चारमाध्यमले उनको नीति र पार्टीको विधान हेरेर उनलाई सहयोग पक्कै गरेका हैनन् । पार्टीका कार्यकर्ता बनेर पनि सहयोग गरेका हैनन् ।

उनी र उनको पार्टीलाई सहयोग गर्नुको पछाडिको एकमात्र उद्धेश्य भनेको नयाँपनको खोजी हो । आशा हो । भरोसा हो । विश्वास हो । सञ्चारमाध्यमले सधै देश र जनताको भलो हेर्छ । स्वार्थ हेर्दैन । पारदर्शी देख्छ । त्यसैले त ठूला दलहरुसँग गरेको परीक्षण, ठूला दलहरुले गर्न नसकेको देशको विकास, ठूला दलहरुले लोकतन्त्रमाथि गरेको बलमिच्याइँ, ठूला दलहरुले बढाएको भ्रष्टाचार, ठूला दलहरुको बेथितिले गर्दा देश र जनताको भलो सोचेरै सञ्चारमाध्यमले नयाँ पार्टीलाई साथ र सहयोग दिएको हो । 

त्यसअनुसार केहीलाई छाड्ने हो भने रवि र उनको दललाई सहयोग गरेकै हुन् । सञ्चारमाध्यमहरु पनि यसलाई नकार्दैनन् । सञ्चार उद्यमी पनि यसमा सहमत छन् । 

नयाँ पार्टीमा चुनौती बढी हुने गर्छ । उसलाई आफू राम्रो हुनका लागि र जनताको विश्वास जित्नका लागि हरदम जनताकै वरिपरि हुनुपर्ने दायित्ववोध हुन्छ । त्यही विश्वासका साथ रवि र उनको पार्टीलाई सञ्चारमाध्यमले साथ र सहयोग गरे । 

रविको पार्टी छोटो समयमा हुर्किएको भएकाले कुनै अवसर पाएको थिएन । त्यसैले पनि उसको दल र दलका युवा नेताहरुमा जोश देखिन्थ्यो । केही गर्छन् कि भन्ने आशा र भरोसा देखिन्थ्यो । बोली र वचनमा विश्वास लाग्ने हुन्थ्यो । यो स्वभाविक पनि हो । 

रविको एकाएक फेरिएको रुप
लामो समय सञ्चारकर्ममा रहेका रवि रातारात नेता भए । उनले यतिछिटो राजनीति गर्छन् भनेर कमैले अनुमान गरेका थिए । अनुमान जेसुकै भए पनि सञ्चारकर्म गरेको र केही ‘ख्याति’ पनि कमाएको व्यक्ति नेता बन्दा धेरैले उनमा थप विश्वास देखे । 

उनले चितवन २ बाट चुनाव जिते । त्यो चुनाव पनि उनले मंसिर ४ को निर्वाचनमा सबैभन्दा मतान्तरले जितेको मत थियो । त्यो इतिहासको पानामा ठूला अक्षरले लेखिने गरी । चितवनवासीले निकै नै भरोसा गरे उनलाई । 

उनीहरुको भरोसालाई कायम राख्ने क्रममा उनले चुनाव जिते लगत्तै विभिन्न कार्यालयमा गएर अनुगमन गर्न थाले । उनले प्रतिनिधि सभा सदस्यको रुपमा शपथ खानुअघि नै आफ्नो पदीय दायित्व भन्दै काम थालेका थिए । 

एकातिर मतदाता खुशी हुँदै थिए भने अर्कातिर उनले नेतामा हुनुपर्ने गुण आवेगमा बिर्सदै गएको हो कि भन्ने पनि भान दिलाउँदै थिए । किनकि कतिपय कार्यालयका प्रमुखहरु आफूलाई जानकारी नै नदिएर अशोभनीय काम गरिरहेको आरोप लगाउँदै थिए । 

राजनीतिक समीकरण फरक बन्दै जाँदा रवि सरकारमा गए । त्यो पनि प्रधानमन्त्रीपछिको सबैभन्दा ठूलो जिम्मेवार मन्त्रालय लिएर । उनी उपप्रधान तथा गृहमन्त्री भए । 

उनी गृहमन्त्री भएपछि उनी सरकार भए । जब उनी सरकार भए तब उनले कसैलाई गन्न छाडे । सञ्चारमाध्यम वास्तवमै सरकारको विपक्षमा हुन्छ । रविका कामको हिसाबकिताब हुन थाल्यो । 

उनले गरेका राम्रो कामको प्रशंसा हुन थाल्यो भने नराम्रा कदमको आलोचना हुन थाल्यो । उनमा यतिसम्म काँचोपना देखियो कि अपराधी पक्राउ गर्न भन्दै गृहमन्त्रालयले प्रेस विज्ञप्ति निकाल्न थाल्यो । 

हुनत रवि रातारात नेता भए र रातारात नै मन्त्री भए । उनले गल्ती गर्दै गए । सञ्चारमाध्यमले लेख्दै गए । कुनै समय निकै प्रशंसा गर्ने मिडियाले रविकै गल्तीका कारण आलोचना गर्न थाले । र रविलाई यो पचेन । 

अनि आवेगमा आए । उत्तेजनामा आए । एकाएक रवि स्खलित भए । चुचुरोबाट जमीनमा खसे । आफ्नो गल्ती ढाकछोप गर्नलाई उनले मिडियालाई गाली गर्न थाले । नेतामा हुनुपर्ने गुण बिर्सेर अराजक बने । ‘पत्रकार बन्दा नेता झुर र नेता बन्दा पत्रकार झुर’ भन्ने उनको नीति स्पष्ट देखियो । अचम्म त के भने जुन जुन नेतालाई गाली गरेर आज उनी नेता भए तिनै नेतालाई उनले पत्रकार सम्मेलनमा गाली हैन प्रशंसाका फूल चढाए । 

एकाएक उनी बदलिए । हिजो नेतालाई गाली गर्ने रवि त्यो आइतबार (माघ २२ गते) सञ्चारकर्मीलाई गाली गर्ने भए । काम गर्दा गलत हुँदा आलोचना हुन्छ । उनी आलोचना खेप्ने नेता परेनन् । 

अर्कातर्फ उनले गरेका गल्ती सञ्चारमाध्यमले औंल्याएकोमात्र हो । उनका अवैध कामको उठान गरेको मात्र हो । देशभक्त नेता हुँ भन्ने र अमेरिकाको सुखसयल छोडेर आएँ पनि भन्ने अर्कातर्फ आफू अवैध नागरिकता बोकेर चुनाव लड्ने, चुनाव जित्ने र गृहजस्तो सबैभन्दा जिम्मेवार सम्हाल्न पुग्ने । अनि मिडियाले उनको जयजयकार गाउनु पर्ने ? 

मिडियाले उनको अवैध नागरिकता र दोहोरो राहदानीको खुलासा गरेको छ । गलतलाई गलत भन्ने हैसियत मिडियाले राख्छ । हिजो आफूले गलतलाई गलत भन्दा महान् अनि आज अरुले उनकै बारेमा गलत भन्दा बेइमान हुनै सक्दैन । 

आफ्नो बारेमा नराम्रो लेखेका खण्डमा मिडिया नै घेराउ गर्ने धम्की दिएर रविले आफूलाई विधिको शासन भन्दा माथि राख्न खोजेका छन् । प्रेस स्वतन्त्रताको ठाडो हस्तक्षेप गरेका छन् । जसलाई प्रेस स्वतन्त्रताको रक्षा गर्ला भनेर मिडियाले सहयोग गरेका थिए आज तिनैलाई गाली गरिरहे रविले । 

आफूलाई गाली गर्दासमेत सञ्चारमाध्यमले प्रत्यक्षप्रशारण रोकेनन् । समाचार अपडेट दिने रोकेनन् । उनीहरुले धर्म निभाए । तर रविले भने आफू गृहमन्त्री हुन नपाएको झवाँक् भन्दै मिडियालाई गाली गरिरहे । यथार्थ त के हो भने संविधानअुनसार रवि अझै कुनै पनि पदीय दायित्व बोक्ने हैसियत राख्दैनन् । उनको अपराध क्षम्य हुँदैन । 

देश बनाउँछु भनेर नयाँ धारका साथ आएको दलको प्रमुखले जुन हैसियत आफ्नो देखाएका छन् त्यसले सिङ्गो पार्टीलाई असर गर्ने स्पष्ट छ । उनले पत्रकार सम्मेलनमा वास्तविक रविकै रुप देखाएका छन् । उनले पटक पटक आफूलाई महान् बनाउँदै बाँकी कोही ठीक छैनन् भनेरसमेत भन्न भ्याए । यो अहम् नयाँ धारका नेताको नभइ एक अहमवादी तानाशाह प्रवृत्तिकै हो । आफ्नो पदीय मर्यादामा नबसी उनले जुन कुरुपता देखाएका छन् त्यसले मुलुकलाई अराजकतातिर लैजान खोजिरहेको त छैन ? भन्ने संकेत दिन्छ । 
    
अयोग्य मिडियाले हैन आफैँ बनेका हुन् रवि
उनलाई मिडियाले अयोग्य बनााएको हैन उनी आफैँ अयोग्य बनेका हुन् । उनी आफ्नै कर्मले अयोग्य भएका हुन् । मिडियाले त उनले गल्ती गर्दैछन् भनेर औंँल्याएकोमात्र थियो । उनको अवैध नागरिकता र राहदानीको विषय उनी सञ्चारकर्मी छँदै उठेको विषय हो । 

उनमा इमान भएको भए उनले तत्काल गल्ती सुधारेर जहाँ गलत भएको छ त्यहाँ प्रक्रिया पूरा गरेर आउन सक्थे । उनले आफूमाथि कारबाही भएको दुई दिनमै नागरिकता बनाए । नागरिकता बनाउन गाह्रो त थिएन नि । तर उनले सिङ्गो प्रणालीलाई हेपे । देशले अनधिकृत व्यक्तिलाई सांसद बनायो । 

सर्वोच्च अदालतले प्रमाण हेर्छ । जुन प्रमाणमा उनी चुकेका थिए । अवैध नागरिकता लिएर सांसद बनेका थिए । उनको पद खारेज भयो । फेरि पनि उनी दोष मिडियालाई नै दिइरहेका छन् । चितवन २ मा सरकारले गरेको लगानी, उम्मेदवारहरुले गरेका लगानी सबै खेर गयो । 

रविले अर्को फन्डा निकालेका छन् । उनले माघ २२ को पत्रकार सम्मेलनमा आफूलाई अब राहदानीमा फसाउन मिडिया लाग्नेछन् भन्दै भ्रम पार्न खोजिरहेका छन् ।‘पासपोर्टमा फसाइयो’ को भाष्य निर्माण प्रयास गर्दै रवि लामिछाने

त्यो भ्रममा पार्नै पर्दैन । उनले दोहोरो राहदानी प्रयोग गरेको प्रमाण भएपछि फेरि अदालतले उनलाई कारबाही गर्ने नै छ । त्यहाँ मिडियाले जतिसुकै उनको बचाउ गरे पनि उनी बच्ने छैनन् । 

आफू अयोग्य भएर सांसदबाट हटाइँदाका दिनसम्म उनले कानून कार्यान्वयन गर्ने र शान्ति स्थापना गर्ने सबैभन्दा ठूलो गृह मन्त्रालयमा ३२ दिन बिताए । सर्वोच्चको माघ १३ को फैसलापछि पनि उनी गृह मन्त्रालयमा रहिरहन प्रयासरत थिए । 

उनले माघ १५ मा नेपाली नागरिकता पुनः प्राप्ति गरेको दिनदेखि नै गृह मन्त्रालय फर्कन प्रयासरत थिए । मिडियाले नै संविधानको पाना पल्टाएर उनी फेरि सरकारमा फर्कन नसक्ने समाचार लेख्यो ।प्रचण्ड र ओलीले चाहे पनि रविलाई बनाउन सक्दैनन् गृहमन्त्री

उनले त्यसमा पनि मिडियालाई दोष दिए । खासमा उनी आफै दोषी थिए ।  

उनी गृहमन्त्री बन्न नपाउने निश्चित भएपछि आफू त बाहिरिए नै सिङ्गो पार्टीका मन्त्रीहरुलाई पनि फिर्ता बोलाए । अनि दोष फेरि मिडियालाई दिए । मिडियामाथि विषवमन गरे । उनले आफूविरुद्ध केही पनि नलेख्न चेतावनी दिए । 

रविको नागरिकता र राहदानीको फण्डा  
उनले २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका थिए । अमेरिका पुगेर उतैको नागरिकता लिए । २०७० फागुन २१ (सन् २०१४ मार्च ५) गते अमेरिकी सरकारले उनलाई ५१२९६६९८१ नम्बरको राहदानी दिएको थियो । 

अमेरिकी राहदानी प्रयोग गरेर रवि गैरपर्यटक (नाता) भिसामा २०७२ बैशाख २८ (२०१५ मे ११) गते नेपाल आए । तर अमेरिकी राहदानीमा नेपालको भिसा लगाएर आएको १६ औं दिन जेठ १३ (मे २७) गते नेपालकै राहदानी बनाए । 

विदेशको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहने कानूनी व्यवस्था छ । तर उनले चुनावमासमेत २०५० सालमै बनेको नागरिकता प्रयोग गरे । 

२०७२ कात्तिक १ (२०१५ अक्टोबर १८) गते अमेरिका जाँदा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राहदानी नै देखाए । जबकि उनले नेपाली राहदानी पनि बनाएका थिए । 

अमेरिकी राहदानीमा नेपालको भिसा लगाएर आएको मौकामा उनले मिडियामा काम थाले । उनले न्यूज २४ मा काम गर्दा अध्यागमन विभागलाई लेखेको पत्रमा नेपालमा अमेरिकी नागरिकका रूपमा बस्दा श्रम स्वीकृति लिएको उल्लेख गरेका छन् । तर उनले अर्को कानून भुले । अध्यागमन नियमावली, २०५१ को दफा २० को (१) मा ‘पर्यटक र परिवारको सदस्यका हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउने छैन’ भनिएको छ । 

गैरपर्यटक भिसामा नेपाल आएका अमेरिकी नागरिकले टेलिभिजनमा काम गरेको विषयमा प्रेस काउन्सिल नेपालले प्रश्न गरेपछि मात्र रविले २०७५ जेठ ४ मा नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकता र राहदानी त्याग गर्न निवेदन दिएका थिए । 

२०७५ साल जेठसम्म अमेरिकी राहदानी चलाउँदै आएका उनले २०७२ जेठ १३ (२०१५ मे २७) मा बनाइएको नेपाली राहदानी पनि आफूखुशी प्रयोग गरे । उनले २०७५ असोज ४ (२०१८ सेप्टेम्बर २०) गते जापान र दक्षिण कोरिया जाँदा नेपालको राहदानी प्रयोग गरे । दोहोरो राहदानी प्रयोग गरे । 

माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले उनी नेपालको नागरिक नै नरहेकाले भएका सबै सार्वजनिक पद खारेज भएको फैसला दिएको थियो । पूर्णपाठको प्रतिक्षा अझै छ । त्यसमा राहदानीको विषय उठान नभएको भए फेरि मुद्दा पर्नेछ । तर उनले त्यसलाई प्रभावित पार्नका लागि दोष मिडियालाई दिइरहेका छन् । राहदानीको कसुरमा उनीमाथि फौजदारी अभियोग लाग्ने नै छ । राहदानी ऐन २०७६ मा ‘झुटा विवरण दिइ राहदानी वा यात्रा अनुमतिपत्र लिए वा लिन प्रयत्न गरे’ जरिवाना र सजाय हुने व्यवस्था छ । त्यस्तो गर्ने व्यक्तिलाई दुईदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानूनी व्यवस्था छ । 

अन्त्यमा, रविमाथि नराम्रो होस् भनेर कसैले पनि उनलाई यो दलदलमा फसाएको पक्कै हैन । उनी आफ्नै कर्मले यहाँ आइपुगेका हुन् । एउटा सर्वसाधारणले नागरिकता र राहदानी दुरुपयोग गर्दा भोग्नुपर्ने सजाय उनले पनि भोग्नुपर्छ । उनी नागरिक नै हुन् । त्योभन्दा माथि एकरत्ति हैनन् । 

र, गल्ती हुन्छ । गल्ती भएपछि प्रायश्चित्त गर्न सकिन्छ । प्रायश्चित्त गरेर रवि फेरि पुरानै लयमा आउन सक्छन् । नेपालको कानूनले कसैलाई काखा र पाखा गरेको छैन । 

उनले गरेका गल्ती सुधार गर्न सक्छन् । उनले आफू इमानदार नेता भएर फर्केको प्रमाण पेश गर्ने हो भने उनीबाट आशा गर्ने ठाउँ अझै छ । उनको नागरिकता र राहदानीमा गरेको बेइमानी अन्य व्यक्तिलाई हानि गर्ने ठूलो अपराध हैन । 

तर उनले गत माघ २२ गते लगाएका लान्छनाले भने सिङ्गो आमसञ्चार जगतलाई नै बदनाम गरेको छ । यसको भने उनले छिट्टै निराकरण गर्न सक्नु पर्छ । 

प्रायश्चित्त गर्न सक्नुपर्छ । आफूले वर्षौं अपनाएको पेशालाई उनले गलत भनिरहेका छन् भने उनी स्वयं गलत हुन् यो विश्व हैन । पेशा कहिल्यै गलत हुँदैन । व्यक्ति गलत हुने हो । नेपाली पत्रकारिताको दुरुपयोग गर्नेहरु पनि छन् । उनीहरु सुध्रिनुपर्छ । 

तर रविले फेरि पनि गल्तीमाथि गल्ती गर्ने हो भने कानूनले उनलाई संविधानभन्दा माथि अवश्य राख्ने छैन । @साभार हाम्ाकुरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here