हामी नगरपालिकामा निर्वाचित भएर आएपछि विकास बारेको बुझाइ बदल्ने गरी काम गर्न खोज्यौं । पहिला जो अलि ठूलाबडा थिए, उनीहरूले जहाँ जसरी बजेट हाल्थे, त्यही मात्रै काम हुन्थ्यो ।
अहिले हामीले सबैभन्दा पहिला जनसमुदायको माग के हो, त्यसको आवश्यकता कति हो र त्यसले दिने प्रतिफल के हुन्छ भन्ने आधारमा काम गरिरहेका छौं । त्यो काम गर्दा हुने फाइदा के-के हुन् र सम्भावित नराम्रा प्रभाव के हुनसक्छन् भनेर पनि हामी हेर्छाैं ।
पहिले त बाटाघाटा र पुल-पुलेसालाई मात्रै बजेट जान्थ्यो । अहिले समग्र क्षेत्रलाई हेरेर विकास गरिरहेका छौं । शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, कृषि, पशु, सामाजिक र लक्षित वर्गअन्तर्गत रहेर हामी काम गरिरहेका छौं । यसले सबै पक्षलाई समान रूपमा लाभ हुने अवस्था बनेको छ । विकासले दिने लाभ सबैका लागि हुनुपर्छ भन्ने हामीले बुझेका छौं र त्यसैअनुसार काम गरिरहेका छौं ।
वातावरणीय मुद्दामा पनि हामी संवेदनशील छौं । कुनै बाटो निर्माण गर्दैछौं भने त्यसले वातावरणमा के असर गर्छ भनेर अध्ययन गर्छौं । पहिलेदेखि नै बाटो छ भने अहिले नापजाँच गर्दा जग्गा सम्बन्धी सवाल पनि आउँछन्, यस्ता सामाजिक सवाल मात्रै नभएर कानुनमा टेकेर गर्नुपर्ने वातावरण विषयमा पनि हामी छिनोफानो जनताको हित हेरेर नै गर्छौं ।
हाम्रो शिवराज नगरपालिकामा पनि वर्षौंअघिदेखि केही वन क्षेत्रमा मान्छेको बसोबास छ । जहाँ-जहाँ वनभित्रका बस्तीमा काम गर्नुपर्नेछ, त्यहाँ हामी वातावरणप्रति सचेत भएर आवश्यक प्रक्रिया पूरा गरेर वनसँगको समन्वयमा नै काम गर्छौं ।
त्यो बस्ती निकै पुरानो हो । जंगलमा छ भने त्यहाँको बस्तीलाई सेवा सुविधा नै नदिने भन्ने हुँदैन, त्यसैले वन कार्यालयका प्रमुखसँग बसेर छलफल गरेर काम अघि बढाएका छौं । नियमले दिने काममा समन्वय गर्नुपर्छ भनेर र पछि वनको सवाल नआओस् भनेर यसो गरेका हौं ।वातावरणीय मुद्दालाई हाम्रो भविष्यको हितको लागि उठेको मानेर हामी काम गरिरहेका छौं । काम गर्दा ‘इस्यु’ नआउने हैन, त्यसलाई सकारात्मक रूपमै लिनुपर्छ र समाधान खोज्नुपर्छ
कतै वातावरणीय सवाल आयो भने त्यहाँको समुदायलाई के आवश्यक छ र त्यहाँ त्यसले पार्ने प्रभाव कसरी कम गर्न सकिन्छ भनेर हेर्ने गरेका छौं । चुनौती आइपर्दा समाधान गरेर अघि बढेका छौं ।
वातावरणलाई स्वच्छ राख्ने मामिलामा हामी सचेत छौं । हामीले नगरपालिकाभित्र पार्क निर्माणको प्रक्रिया पनि अघि बढाएका छौं । पार्क बनाउन नगरपालिकाको केन्द्रमा जग्गा भएकाले वनसँग समन्वय गरेर उहाँहरूले दिनुभएको जग्गामा पार्क निर्माणको सुरुवात गरेका छौं ।
अहिले पहाडबाट तराई झर्नेहरू छन्, जग्गाको किनबेच त नागरिकले स्वतन्त्र तरिकाले गर्छन् । त्यो अनुसार बस्ती शहरीकरण भइरहेको छ । जहाँ जहाँ बस्ती बस्दैछन्, त्यहाँ आफ्नो वरपर सरसफाइ गर्न हामीले जनचेतना जगाउने काम गर्छौं । अहिले बजार क्षेत्रमा हुने फोहोर उठाउन र सफाइ गर्न भने हामीले ठेक्का लगाएर काम गरिरहेका छौं ।
आयोजनाहरू बनाउँदा त्यसले कति बस्ती र जनसमुदायलाई प्रभाव पार्छ भनेर त्यसअनुसार अध्ययन गरेर काम गर्ने गरेका छौं । कतै एउटा मात्रै घर छ, तर आयोजना बनाउँदा त्यसले लाभभन्दा बढी हानि हुने देखियो भने त हामी सोचेरै काम गर्छौं ।
खेतीयोग्य जमिन बचाउन हामीले पकेट क्षेत्र नै छुट्याएका छौं । कुन वडामा के बढी उत्पादन हुन्छ, त्यसका आधारमा त्यो क्षेत्रलाई पकेट क्षत्रे भनेर विभाजन गरेका छौं । यसले गर्दा जनतालाई खेतीयोग्य जमिनको महत्व बुझाउन पनि सजिलो भएको छ । यसले वातावरण संरक्षणमा पनि योगदान पुगेको छ ।
जति बस्ती बढ्दै जान्छ, खेतीयोग्य जमिन मासिंदै जान्छ, त्यसमै प्लटिङ हुन्छ । हामीलाई विकास पनि चाहिएको छ र वन तथा वातावरण पनि जोगाउनु परेको छ । यही वन जंगलबाट हामीले अक्सिजन प्राप्त गरेका छौं, यसलाई हामीले जोगाउनुपर्छ भन्ने कुरामा फरक मत नै छैन । वातावरणलाई स्वच्छ, सफा र दुरुस्त राख्दा हुने लाभबारे हामी जानकार छौं । बस्ती बढ्दै गएको अवस्थामा घर-घरले बिरुवा रोप्नुपर्ने गरी अभियान नै चलाउनुपर्ने देख्छु म ।
बाटो बनाउने क्रममा एक-दुई वटा रूख काट्नै पर्यो भने वृक्षरोपण गर्नुपर्यो । हामीले खाली ठाउँमा अहिले पनि वृक्षरोपण गराइरहेका छौं ।
काम गर्दा वातावरणको ‘इस्यु’ नआउने हैन, त्यसलाई त हामीले सकारात्मक रूपमै लिनुपर्छ र उचित खालको समाधान खोज्नुपर्छ । हामी वातावरणीय मुद्दाहरूलाई हाम्रो भविष्यको हितको लागि उठेको मानेर त्यसअनुसार काम गरिरहेका छौं । साभार अनलाइन खबर