काठमाडौं, ९ मंसिर । गाजामा पछिल्लो ४८ घण्टामा १०० बढी प्यालेस्टाइनी मारिएका छन् । इजरायलले घेरा हालेको क्षेत्रमा बमबारी तीब्र पारेसँगै दुई दिनमा कम्तिमा पनि १२० जना मारिएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार गाजा शहरको जिटोन उपनगरमा शुक्रबार रातभर एक आवासीय घरमा भएको आक्रमणमा कम्तिमा पनि ७ जना मारिए भने दक्षिणी गाजामा पनि उतिनै मानिस मारिएका छन् । इजरायली हवाई आक्रमणले मध्य गाजामा रहेको नुसीरत शरणार्थी शिविरसँगै रहेको अल फारुक मस्जिदमा समेत नोक्सान पुगेको छ । यस्तै, आंशिक रुपमा सञ्चालित अस्पतालमा भएको आक्रमणमा कयौं स्वास्थ्य कर्मचारी घाइते भएका छन् । क्मान अदवान अस्पतालका निर्देशक हुसाम अबु सफियाले इजरायली सैनिक बलले कयौँ पल्ट आपतकालीन सेवा नै समाप्त पार्ने गरी अस्पताललाई निशाना बनाएको बताएका छन् । इजरायली सेनाले उत्तरी गाजामा स्थल आक्रमण तथा बमबारीलाई तीब्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।