परासी, १६, असाेज । पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिका ३ कुस्मामा निशुल्क स्वास्थय सिबिर संचालन गरिएकाे छ । नेपाली सेनाकाे गाेरखदल गणकाे अायाेजना तथा पाल्हीनन्दन गाउँपालिकाकाे सहकार्यमा कुस्मा स्थित सिददार्थ मा.विमा एकदिने निशुल्क स्वास्थ्य सिबिर संचाल भएकाे हाे । उक्त निशुल्क स्वास्थ्य शिविरमा एक हजार बढि बिरामीले विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा लिएका छन् । शिविरमा ७ सय १५ महिला र ३ सय १७ पुरुष सहित एक हजार ३२ जनाले विशेषज्ञ सेवा लिएका हुन।
शिविरमा देवदह मेडिकल कलेज र नेपाली सेनाका गरी २० जना भन्दा बढि विशेषज्ञ चिकित्सक सहित ५० जना स्वास्थ्यकर्मिको टोलीले चेकजाँच गरेको हो । स्थानियलाई स्त्रीरोग, नाक कान घाँटी, मनोरोग, हाडजोर्नि, मुटुरोग, दन्त सेवा लगाएतका ११ प्रकारका रोगका विशेषज्ञ सेवा सहित ईसिजि सेवा प्रदान गरिएको थियो । सिमावर्ती क्षेत्रका बासिन्दाले सहजै विशेषज्ञ चिकित्सक सेवा नपाउने समस्यालाई मध्यनजर गर्दे स्वास्थ्य शिविर आयोजना गरेको गोरखदल गण परासीका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले बताउनुभयो ।
शिविरमा स्त्रीरोग सम्बन्धि सबैभन्दा बढि २ सय २ जनाले चेकजाँच गरी उपचार सेवा लिएका छन् । सेनाले स्वास्थय शिविर मार्फत चिकित्सकको सिफारिस बमोजिम ८ लाख बराबरको औषधि निशुल्क वितरण गरेको छ । उक्त शिविरको नेपाली सेनाको २२ नम्बर बाहिनी अड्डा बुटवलका बाहिनिपती सहायक रथी ललित बहादुर कुँवरले उद्घाटन गर्नुभएको थियो ।