परासी, १७ भदौ । केराको उचित मुल्य नपाएर किसानहरु यतिबेला चिन्तामा परेका छन् । पश्चिम नवलपरासीका केरा किसानहरु उत्पादित केरा लगानी अनुसारको मुल्य नपाँउदा पिर मर्कामा परेका हुन् । नेपालमा भारतीय सस्तो केरा ट्रकका ट्रक भित्रिन थालेदेखि नेपाली केरा किसानहरु सस्तोमा केरा बेच्न बाध्य बनेका छन् । यो बेला केराको सिजन हो । जिल्लाको गण्डक कमाण्ड क्षेत्रमा १८२५ विगाहा क्षेत्रफलमा केरा खेती गरिएको छ । केरा यतिबेला बोटमा तयार छ । किसानहरु विक्रीका लागि व्यपारीलाई कुर्दै छन् तर व्यपारीहरु भने सस्तो केरा खोज्दै भारतीय बजार धाउने कार्यले यहाँका केरा विक्री नभएर अहिले बोटमै पाकेर झर्न थालेको छ । केरा तयारी अवस्थामा छ तर व्यपारीहरु केरा लिन आउन छोडेका छन् अधिकांश किसानको केरा अब बोटमै पाकेर कुहिन थालेकाले किसानहरु थप समस्यामा परेका छन् । एका तिर केरामा ब्लेकसिगाटोका रोगको संक्रमण बढदै गएको छ अर्काे तर्फ केरा विक्री नभएर बोटमै पाकेर कुहिन थालेको छ ।
विगतका बर्षहरुमा प्रति दिन ७० देखि ८० पिकप केरा यस जिल्लाबाट विक्रीका लागि व्यपारी तथा किसानहरु लैजाने गर्दथ्ये तर भारतीय केराको आयातले अहिले १० देखि २० गाडी पनि मुस्किलले विक्री भईरहेको केरा उत्पादक संघका जिल्ला अध्यक्ष लख्खु यादवले बताउनु भयो । अध्यक्ष यादवका अनुसार १५ दिन अगाडी केरा बगानबाटै व्यवपारीहरु प्रति दर्जन ३५ देखि ४५ रुपैयामा लैजाने गरेका थिए तर अहिले भारतीय सस्तो केराको आयातले हाम्रो केरा प्रति दर्जन १८ देखि २५ रुपैयामा दिनुपर्ने बाध्यता रहेको छ । केरा खेतीमा लागनीको अनुपातमा अहिले मुल्य नपाएको र केराहरु बोटमै पाकेर झर्न थालेपछि हामी किसानहरु पिर मर्कामा परेको उहाँले दुखेसो पोख्नु भयो ।
डेढ विगाहा क्षेत्रफलमा केरा खेती गर्दै आएको प्रतापपुर ८ पिपरपातीका केरा किसान युवराज मौर्य पनि केराले उचित मुल्य नपाएकोमा दुखी भएका छन् । किसानहरुले दुख मिहिनेत र आर्थिक लगानी गरि केरा खेती तयार गर्छौं तर केरा विक्री हुने बेलामा भारतीय केरा धमाधम नेपाल आयात हुन थाल्छ जसले गर्दा हाम्रो केरा उचित मुल्य नपाउने समस्या हामी बर्षेनी झेल्दै आएको बताउनु भयो । भारतीय केरामा रोक लगाउन र केराको बजारीकरणको समस्या सामाधानका लागि नत्र स्थानिय सरकारनै कुनै पहल गरेको छ नत्र प्रदेश तथा संघ सरकारनै कुनै चाँसो देखाएका छन् किसान मौर्यको भनाई छ ।
उखुको बैकल्पिक खेती केरा खेतीमा किसानहरु आकर्षित हुदै गएका छन् तर बजारीकरणको समस्या र उचित मुल्य नपाउनुले किसानहरु निराश हुदै गएका छन् । जिल्लामा कुल ३७४० घरधुरी खेती खेतीमा आवद्ध छ । केरा किसानको समस्या सामाधानका लागि तिनै तहको सरकार र सम्बन्धित निकायहरुबाट आवश्यक पहल र कार्वाही आवश्यक देखिन्छ । नेपाली केराको बजारलाई भारतीय केराले धारासायी बनाउने हुँदा केरा सिजनमा भारतीय केरामा रोक लगाउनु पर्ने आवश्यकता देखिन्छ ।