उखु क्रसिङ्ग शुरुहुन लाग्दा पनि निर्धारण भएन समर्थन मुल्य : छिटो मुल्य तोक्न माग

परासी, ३ मंसिर । उखु क्रसिङ्ग सिजन शुरु भएपनि अझै सरकारले उखुको मुल्य निर्धारण नगरि दिँदा उखु किसानहरु चिन्तामा परेका छन् । पश्चिम नवलपरासीमा मंसिरको पहिलो साताबाट उखु क्रसिङ्ग शुरु गर्ने जिल्लाका चिनी मिलहरुले सुचना जारी गरेका छन् तर अहिलेसम्म समर्थन मुल्य नआएकाले उखु किसान र चिनी मिलहरुमा अन्यौलता ल्याएको छ । उखु खेतीमा लागत बढदै गएको छ जसको अनुपातमा सरकारले यसबर्ष प्रति क्वीन्टल ८ सय रुपैया समर्थन मुल्य तोक्नु पर्ने उखु उत्पादक कृषक संघ र किसानहरुको माग रहेको छ ।

जिल्लाको प्रतापपुर गाउँपालिका वडा ९ पिपरपाती बस्ने उखु किसान युवराज मौर्य भन्छन् ‘‘ क्रसिङ्ग शुरु हुने समय आई सक्यो तर सरकारले अहिलेसम्म समर्थन मुल्य तोकेको छैन जसकारण किसानहरु चिनी मिलहरुलाई गतबर्षकै मुल्यमा उखु बेच्नु पर्ने बाध्यता देखिन्छ भने यता केहि किसानहरु आफनो घर व्यवहार मिलाउन प्रति क्विन्टल ३ सय देखि ३५० रुपैयामै भेली क्रसरहरुलाई उखु बेची रहेको मौर्य बताउछन् ।

जिल्लामा संचालित रहेको बागमति खाडसारी चिनी मिल, लुम्बिनी चिनी मिल र ३ दर्जन बढि उखु क्रसरहरु पहि यहि मंसिरको पहिलो सातादेखि संचालनमा आउने छन् भने केहि भेली क्रसरहरु संचालनमा आईसकेका छन् । उखु खेतीका लागि चाहिने मल, बिउ, सिँचाई र ज्यालाहरु महंगो भएकाले उत्पादन लागत बढेको छ । उखुको समर्थन मुल्य ८ सय रुपैया प्रति क्विन्टल तोकिएन भने किसानहरु घाटा व्यहोर्नु पर्ने देखिने प्रतापपुर गाउँपालका अध्यक्ष एवं उखु उत्पादक महासंघका प्रवक्ता उमेशचन्द्र यादवले बताउनु भयो ।

सरकारले गत बर्ष प्रति क्विन्टल ५८५ रुपैया उखुको समर्थन मुल्य निर्धारण गरेको थियो जुन लागतको अनुपातमा निकै कम रहेको किसानहरुको भनाई छ । जिल्लामा कुल साढे ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेति गरिदै आइएको छ । जसबाट १८ लाख क्वीन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ । उखु खेतीमा गण्डक कमाण्ड क्षेत्रका हजार बढि किसान परिवारहरु आवद्ध रहेका छन् ।