जेनजी आन्दोलनबाट करिब ७८ अर्बको क्षति, निजी क्षेत्रको ३६ अर्ब मात्रै

काठमाडौँ, १ मंसीर। गत भदौ २४ को जेनजी आन्दोलनको क्रममा देशभर भएको तोडफोड र आगजनीबाट धेरै सरकारी र निजी सम्पत्तिमा क्षति पुगेको छ । राष्ट्रिय योजना आयोगको अगुवाइमा सरकारले सङ्कलन गरेको क्षतिको विवरण अनुसार सरकारी संरचनामा बढी क्षति पुगेको छ । आन्दोलनको क्रममा त्यस दिन देशभरका सरकारी कार्यालय, ठुला सुपर स्टोरदेखि साना पसलसम्म आगजनी,तोडफोड, लुटपाट र चोरी भएको थियो । उक्त घटनाबाट जसले ठुलो आर्थिक नोक्सानी पुर्‍याएको थियो । सरकारले अध्ययन गरेको क्षतिको विवरण अनुसार देशभरका ५५ जिल्लामा करिब दुई हजार ९०० भवनहरू क्षतिग्रस्त भएका छन् ।

त्यसमध्ये ४१९ निजी क्षेत्रको रहेका छन् । राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले हालैको आन्दोलनले करिब ७८ अर्ब बराबरको भौतिक संरचना क्षति भएका प्रारम्भिक विवरण आएको बताए । उनले सरकारी अध्ययन टोलीले देशभर पुगेको क्षतिको मूल्याङ्कन अनुसार कुल करिब ७८ अर्ब रुपैयाँ देखिएको र जसमा निजी क्षेत्रको मात्रै ३६ अर्ब रुपैयाँ बराबरको क्षति भएको विवरण प्राप्त भएको जानकारी दिए ।

उनले जेनजी आन्दोलनका क्रममा भएका क्षतिको विवरण पुनः निर्माणका लागि सरकारले चालु आर्थिक वर्षको बजेटबाट एक खर्ब २० अर्ब बराबरको स्रोत जुटाएको जनाउँदै उक्त रकम पुनः निर्माणका लागि पर्याप्त हुने विश्वास व्यक्त गरे । उनले सरकारले आकलन गरेको क्षति भन्दा कम क्षति भएको भन्दै तत्काल पुनःनिर्माणमा लाग्ने बताए ।

उनले करिब एक वर्षभित्रमा सबै पुनःनिर्माणको काम सक्ने तयारी रहेको बताए । अर्थमन्त्री खनालले बिमा दाबी भुक्तानीलाई सहज बनाउन र तत्काल राहतका लागि ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिने व्यवस्था मिलाइएको जानकारी दिए । अर्थमन्त्री खनालले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने दायित्व सरकारको पहिलो प्राथमिकता रहेको बताए । उनले भने, ‘सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति गर्छ। सुशासन, भ्रष्टाचार नियन्त्रण र नागरिकलाई सम्मानपूर्वक बाँच्ने वातावरण सिर्जना गर्नु आफैँमा सुरक्षा हो ।’