परासी, २७ मंसिर । महेसपुर सडकको काम नसकिदै ढल भत्किन थालेपछि बजारमा ठेकदार कम्पनीको नेगेटिभ आलोचना बढेको छ । महेसपुर भन्सारदेखि दशगजासम्म दुबैसाईडमा ढलसहित निर्माण भैरहेको मुल सडकको ढल भत्किन थालेपछि ठेकदारको कामप्रति स्थानियले प्रश्न उठाएका छन् । उक्त मुल सडकको स्तरउन्नती गरि फराकिलो सडक निर्माण गर्न सडकको दुबै साईडमा निर्माण गरिएको ढलमा कमसल निर्माण सामाग्री मिसाइएकोले ढलका भित्ताहरु भत्किन थालेको स्थानिय दामोदर पाठकले आरोप लगाए । ठेकदारले दुबै साईडमा ढल बनायो, अहिले सडकमा बेस खसाली रोलिङ्ग गर्ने क्रममा ढलहरुमा प्रेसर पर्दा ठाउँठाउँमा ढल भत्किन थालेको छ भने कतै चिरा पर्न थालेको छ । काम नसकिदै सामान्य प्रेसरले ढल भत्किनु भनेको यसको निर्माणमा कमसल सामाग्री र कमजोर सिमेन्ट मसला प्रयोग भएको हुनु पाठको दावी छ ।

ठेकदारले बजेट पचाउन ढलमा दोयम, सेम ईट्टा, झरही खोलाको बालुवा, कमजोर मसालाहरुको प्रयोग गरेकोले यि ढलहरु भत्किरहेको स्थानिय बैजु प्रसाद गुप्ताले आरोप लगाए । उनले भने, यो सडक र ढल निर्माण हुने क्रममा कमसल ईट्टा र निर्माण सामाग्रीहरु प्रयोग भैरहको बेलामा हामीले विरोध गर्दापनि ठेकदारले अटेरी गर्दै काम गर्दै आएको थियो । अहिले सडक निर्माणको क्रममा सडकमा बेस च्यापिदा ठाउँठाउँमा ढल भत्किने र चर्किन थालेको छ भने भोलीका दिनमा यसै सडकमा ठुला ठुला मालबाहक ट्रक र कन्टेनर लरी आउँदा यो सडक र ढलको हाल के होला भनि गुप्ताले चिन्ता जाहेर गरे ।

ढल सडको पश्चिम तर्फ ५० फुटबढि भत्किएको छ भने कतै दबेर खुम्चिएको, भत्किएको र चर्किको प्रत्यक्ष हेर्न सकिन्छ । २÷३ महिना अगाडी ढल बनाउदा ढलमा कमजोर मसला, सेम ईट्टा र लोकल बालुवा प्रयोग गरेको स्थानियले चर्काे विरोध गरेका थिए तर पनि सुधार भएको थिएन । आज ढल भत्किनुले कमसल र अनियमितलाई प्रमाणित गर्दछ । यस्तो ठुलो रकम र मुल सडकको निर्माण कार्यमा नत्र साईटमा ईन्जिनियरहरु नै देखिन्छ नत्र पालिका र जिल्ला समन्वय समति मार्फत अनुगमहरु नै भएको पाईन्छ । सबै सम्बन्धित निकाय किन मौन छ कतै आर्थिक प्रलोभन त होईन नि भनि स्थनिय दामोदर पाठको प्रश्न छ ? ।

सिमा प्रहरी चौकीको कार्यालयदेखि दक्षिण सिमा गेटसम्म ३३६ मिटर दुरीको उक्त फराकिलो बाटोको म्याद यहि मंसिरमा सकिदैछ तर काम सम्पन्न हुने छाँटकाट देखिएको छैन । सडक डिभिजन कार्यालयले उक्त सडक निर्माणका लागि २ करोड, ८१ लाख ३९ हजार ३७१ रुपैयामा प्रदिप सामर्थ जेभी कम्पनीलाई ठेक्का दिएको छ । उक्त सडकमा रिटर्निङ्ग वाल, ढल, माटो फिलिङ्ग भईसकेको अब बेस झारी रोलिङ्गको काम भैरहेको छ । समग्रमा हेर्ने हो भने कुल कामको करिब ६० प्रतिशत काम सम्पन्न भएको देखिन्छ ।