परासी, २५ मंसिर । पश्चिम नवलपरासीमा उखु क्रसिङ्ग सिजन शुरु भयो तर अझैपनि अधिकांश गरिब किसानले उखुको भुक्तानी पाएका छ्रैनन् । विगत पाँच बर्षदेखि भुक्तानी पाउने आशमा बसिरहेका गरिब किसानहरुले अझैपनि उखुको भुक्तानी नपाएपछि समस्यामा परेका छन् । अहिले देशभरि नै देखिएको आर्थिक संकटका बेला किसानहरु खेतीपाती गर्न, औषधोउपचार र घरव्यहार मिलाउन कतैपनि सापटी तथा ऋणमा पैसा नपाईरहेकाले किसानहरु थप पिडामा परेका छन् । ‘‘आफनो पैसा छ मिलमा मिलले दिदैन, उता आर्थिक संकट, मिटर ब्याजीका कारण बैंक तथा साहु महाजनले सापटी तथा ऋणमा पैसा दिदैन” हामी किसानले आफनो गुजारा कसरी चालने भनि चिन्तामा परेको प्रतापपुर ९ का उखु किसान भिम कोईरीले दुखेसो पोखे ।
उनी भन्छन्, ‘‘नगदेबाली उखु चिनी मिलमा उधारो पुर्जीमा दिइयो तर मिलले भुक्तानीका लागि आजभोली भन्दै चारबर्ष झुलाई दियो, ठुला र पहुँच हुने किसानहरुले आफनो भुक्तानी उहिले नै पाईसके तर हामी गरिब किसानहरुको मिलमा पहुँच नभएकै कारण अहिलेसम्म उधारोमा दिएको पुर्जी भज्न सकेको छैन ।” किसान कोईरीले ईन्दिरा सुगर ईण्डष्ट्रिज प्रा.लि.बाट ४ बर्ष अगाडीकै ६० हजारको उखुको भुक्तान लिनु पर्ने छ । यस्तै अर्काे किसान प्रतापपुर ८ पिपरपाती बस्ने युवराज मौर्य हुन् । उनले पनि ईन्दिरा चिनी मिललाई ४ बर्ष अगाडी दिएको उखुको भुक्तान किस्ता किस्तामा थोरै थोरै पाएपनि अझै २५ हजार पाउन बाकी रहेको दावी गरे । ईन्दिराबाट भुक्तान लिने यस्ता धेरै गरिब किसानहरु छन् जसका पहुँच नभएकाले उनका पुर्जी अझै अल्झि रहेको छ । उखुको भुक्तानी नपाएका गरिब किसानहरुमा समस्यामा परेका छन् उनका दुखसुख सुन्ने कोई छैन ।
जिल्लामा बागमति, ईन्दिरा र लुम्बिनी चिनी मिल गरि तीन वटा ठुलो चिनी मिलहरु छन् भने सय बढि भेली क्रसरहरु पनि संचालनमा छन् । विगत ३ बर्षदेखि बन्द अस्थामा रहेको ईन्दिरा र लुम्बिनी चिनी मिल यसबर्ष संचालनमा आएका छन् । किसानहरुले ईन्दिरा र लुम्बिनि चिनी मिलबाट अझै करिब ८० लाख रुपैया भुक्तान लिनु पर्ने उखु उत्पादक कृषक संघले दावी गरेको छ जसमा ईन्दिराबाट करिब ७० लाख र लुम्बिनीबाट करिब ७ लाख र ३ लाख अन्य मिल तथा भेली क्रसरबाट पाउनु पर्ने संघको तथ्याङ्क रहेको छ ।
अहिले उखु क्रसिङ्ग जारी छ तर सरकारले उखुको समर्थन मुल्य तोकेको छैन । मिलहरु पुरानै मुल्यमा उखु खरिद गरिरहेका छन् । मुल्य निर्धारणमा सरकारको ढिलाई र विगतमा मिलहरुको भुक्तानीमा आलटाल गरि किसानलाई झुलाउने समस्याले किसानहरु थप चिन्तामा छन् ।
जिल्लाको गण्डक कमाण्ड क्षेत्रमा किसानहरुको उखु नै मुख्य बाली हो । नगदे बालीको रुपमा रहेको उखु खेती किसानहरु ऋण खोजेर गर्ने गर्दछन् तर समयमा भुक्तानी नपाएर ऋण त पर जाओस् व्याज पनि तिर्न असक्षम बनेका छन् । किसानहरुको समस्या प्रति सरकारले ध्यान नदिएकै कारण किसानहरु थप पिडित बन्दै जाँदा उखु खेती घटदै गएको छ । जिल्लामा कुल साढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुदै आएको थियो तर अहिले घटेर ५ हजार हेक्टर क्षेत्रफलमा सिमिति भएको छ ।