परासी , २३ मंसिर । आफ्नो भविष्य राम्रो र सफल बनाउन सकारात्मक सोचका साथ आनिबानी सुधार गरेर अगाडी बढ्नुपर्ने जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपि भोजराज पाण्डेले बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको आयोजनामा शुक्रबार त्रिभुवन क्याम्पस बेलाटारीका उच्च तहमा अध्ययनरत विद्यार्थीहरुलाई आत्महत्या न्युनिकरण सम्बन्धी कार्यक्रममा सहजिकरण गर्दै पाण्डेले सो कुरा बताउनुभएको हो ।
साथै पाण्डेले समाजिक सञ्जालको दुरुपयोग गरि बढ्दै गएको अपराध न्युनिकरण गर्न तालिम फलदायी रहने धारणा राख्नुभयो ।
करिब ३ सयको संख्यामा क्याम्पसका उच्च तहमा अध्ययनरत विध्यार्थीहरुको उपस्थिती रहेको कार्यक्रममा लागु औषध दुर्व्यसनीबाट टाढा रहनुपर्ने र चेतनामुलक कार्यक्रममा सहभागी हुनुपर्ने कुरामाथि पाण्डेले जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय परिसरबाट अभियानकै रुपमा सञ्चालन भएको आत्महत्या न्युनिकरण कार्यक्रमलाई बर्दघाट र सिमावर्ती क्षेत्र महेशपुरमा पनि सञ्चालन गर्नुपर्ने आयोजकले जानकारी दिएको छ ।
सो अवसरमा ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक नवराज केसी, क्याम्पस प्रमुख मनोजधर द्धीवेदी, शिक्षक, सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।