नवलपुर, २० भदाै । देशमा बलत्कारका घटना बढ्दो क्रममा रहेको भन्दै गण्डकी प्रदेशका सांसदहरूले सरकारलाई गम्भीर हुन आग्रह गरेका छन्। सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले बलत्कारको घटना बढेको र घटनाको वास्तविकता बाहिर नआएको भन्दै चिन्ता समेत गरे। बैठकको विशेष समयमा बोल्ने सबै सांसदहरूले कञ्चनपुर, पोखरा, कपिलबस्तुमा भएको बलत्कारको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए।
‘आफ्नै घरमा बहिनी बलात्कृत भइन् छोरी मारिइन् भनेर न्याय माग्न सडकमा झर्दा लाठी चार्ज गर्ने, अश्रुग्याँस हान्ने र मान्छेमाथि गोली हान्ने काम सरकारले गरेको छ’ कांग्रेसका सांसद कुमार खड्काले भने, ‘सरकारले दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्नेमा उल्टै पीडित परिवारलाई मानसिक यातना दिने, गलत किटानी जाहेर गर्न बाध्य पार्ने, मानसिक रोगीलाई अपराधी भन्दै पक्राउ गर्ने काम निन्दनीय छ।’ नेपाली सभ्यतामा महिलाको सम्मान र पुजा गर्ने परम्परा भए पनि अहिले महिलामाथि भएको घटना क्षम्य नभएको उनको भनाई छ।
‘हाम्रो संस्कृति, सभ्याता र धर्मले महिलालाई पुज्दै आएको छ’ उनले भने ‘अहिले नेपाली समाज तस्विरको देवी पुज्ने र घरकी देवी चुट्ने विनासको बाटोतर्फ अग्रसर भइरहेको छ। जिउँदै जलाउने, एसिड हान्ने र बलात्कार गर्ने घटना कहालीलाग्दो भइसक्यो। सरकारले यसबारे गम्भीरता पूर्वक लिएन।’ नेकपाकी सांसद मीना गुरुङले साउन र भदौमा देशमा ३३ वटा बलात्कारको घटना भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। अर्की सांसद पुष्पा केसीले पनि बलात्कारकै घटनाको विरोध गरिन्।
‘पोखराकी पुष्पा केसीको मृत्यु कसरी भयो रहस्मय छ’ उनले भनिन्, ‘मेरै परिवारकी सदस्य समेत हुन् उनी। यसबारे सम्बन्धित निकायले किन केही बोल्दैन।’ नयाँ शक्तिका हरिशरण आचार्यले सरकार र नागरिकबीच दूरी बढ्दै गएकोप्रति सचेत गराए। ‘त्यति धेरै जनमत बटुलेर बनेको सरकार जनताबाट किन टाढा भागिरहेको छरु सरकार र नागरिक बीचको सम्बन्ध कमजोर हुँदै गएको छ।
अन्तरविरोध बढिरहेको छ,’ उनले भने, ‘जनताभन्दा फरक शक्ति नेपालमा स्थापित भइरहेको छ यसमा सरकारको ध्यानाकर्षण गराउँछु।’ कांग्रेसकै सांसद मेखलाल श्रेष्ठले पनि सरकारको विरोध नै गरे, ‘सरकार बोल्छ तर गर्दैन। ठेकेदारलाई नियमसँगत बनाउँछु भन्यो अहिलेसम्म गर्न सकेन। यातायातमा सिण्डकेट हटाउछु भन्यो। अहिलेसम्म गरेन’ उनी भन्छन्, ‘सुनकाण्डको ठूलो माछा समात्छु भन्यो। (साभारः नवलपुर एफएम)