पत्रकार महासंघ नवलपुरले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

0
561

नवलपुर, २० भदाै । नेपाल पत्रकार महासंघ नवलपुरले वुधवार सहायक जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।भाद्र १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएको भन्दै महासंघले ज्ञापन पत्र बुझाएको हो । महासंघले ऐनका केहि बुँदाहरु तत्काल संशोधन गरी पूर्ण प्रेस मैत्री बनाउन जिल्ला प्रशासन कार्यालय, नवलपुर मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइएको हो ।

विज्ञप्तीमा मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का विभिन्न दफाका प्रावधानहरुलाई हेर्दा सञ्चार माध्यममा प्रकाशित प्रसारित सामग्रीकै आधारमा संचारकर्मी माथि गम्भीर अभियोग लाग्न सक्ने अवस्था देखिन्छ । यस ऐनका कुनै पनि दफामा सञ्चार माध्यममा प्रवाह भएका सामग्रीका सन्दर्भमा यो ऐनका प्रावधानहरु लागू हुँदैन भन्ने व्यवस्था नरहेको र सञ्चार माध्यम सम्बन्धी छुट्टै ऐनमा समेत यस ऐनमा उल्लेखित विषयका सन्दर्भमा कुनै प्रावधानहरु नै नराखिएकाले यो ऐनबाट सञ्चार माध्यम र पत्रकारहरु पीडित बन्न सक्ने अवस्था उल्लेख गरिएको छ ।

ऐनका केही व्यवस्थाले पत्रकारहरुलाई खोजी समाचार तयार पार्न समस्या पार्नुका साथै तस्विर खिच्न र प्रकाशन प्रसारण गर्न बाधा हुन सक्ने देखिन्छ । त्यसैले ती बुदाको शंसोधन गर्नुपर्ने माग गरेको महासंघका अध्यक्ष होमराज रानाभाटले बताउनुभयो ।

महासंघले सञ्चार माध्यममा समाचार लेखेकै कारण सरकारवादी मुद्दा बनाएर फौजदारी कसुर लगाउनु हुँदैन । लेखेर हुने गल्तीलाई देवानी कसुरमा राख्नुपर्ने माग गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष नारायण शर्मा, प्रेस युनीयनका केन्द्रिय सचिव के।वी राना लगाएत विभिन्न संचार संस्थामा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here