परासी,२० भदौ । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय सुनवल ११ जर्गहाले सुविधायुक्त सर्पदंश उपचार केन्द्र निर्माण गर्न लागेको छ । सुनवल नगरपालिकाको आर्थिक सहयोगमा महाविद्यालयले जनताहरुलाई सर्पदंशको उपचार सेवा दिने उद्देश्यले आफनो ब्यारेक भित्र सुविधा सम्पन्न उपचार केन्द्र निर्माण गर्न लागेको हो ।
२८ लाख रुपैयाको स्टिमेटमा निर्माण हुने ६ कोठे उपचार भवनको आज एक कार्यक्रम बिच सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापाले शिलन्यास गरेका हुन् । तीन महिनामा सम्पन्न हुने सो भवन निर्माणको लागि सुनवल नगरपालिकाले यस आर्थिक बर्षमा २० लाख रुपिया बिनियोजन गरेको छ ।
उपचार केन्द्रमामा आकस्मिक कक्ष, आईसीयु, ल्याब, उपचार कक्ष, प्रतिक्षा कक्ष र चिकित्सक कक्ष सहित सुविधायुक्त भवन निर्माण हुने महाविद्यालयका प्रमुख एवं बरिष्ठ प्रहरी उपरिक्षक नल प्रसाद उपाध्यायले बताए । उनले भने, यस सर्पदंशक उपचार केन्द्रमा एक जना एमबीबी एस डाक्टर, थप आवश्यक चिकित्सक, औषधी र उपचारका लागि आवश्यक उपकरण, विरामीका लागि ५ वटा बेड, ल्याबका लागि उपकरण तथा मेटेरियल समेतको व्यवस्था महाविद्यालयले मिलाउने बताए । त्यस्तै सो भवन निर्माणका लागि आवश्यक मिस्त्री र लेबर समेतको व्यवस्था महाविद्यालयले नै मिलाउने बताए ।
यो सर्पदंश उपचार केन्द्र नवलपरासी जिल्लामा दोश्रो केन्द्र हो । एउटा केन्द्र नेपाली सेनाको ब्यारेकमा छ भने यो अर्काे केन्द्र यस महाविद्यालयमा परिसरमा निर्माण हुन लागेको छ । करिब ४० विगाहा क्षेत्रफलमा रहेको यस महाविद्यालयको अगाडी भागमा ५०‘–९”x२४‘–९” क्षेत्रफलमा सो उपचार केन्द्रको भवन निर्माण हुने छ ।
भवन सिलन्यास कार्यक्रममा प्रमुख अतिथि एवं नगरपालिका प्रमुख भिम बहादुर थापाले यस उपचार केन्द्रबाट यस जिल्लाकै विरामीहरुले लाभ लिन विश्वास व्यक्त गरे । प्रमुख अतिथि थापाले, यस केन्द्रमा जिल्लाको विभिन्न अस्पतालबाटा रिफर हुने सर्प दंशको विरामी र सिधै यस केन्द्रमा आउने विरामीहरुलाई उपचार सेवा प्रदान गरिने बताए ।
कार्यक्रममा बरिष्ठ प्रहरी उपरिक्षक उपाध्याय, सुनवल नगरपालिका वार्ड ११ का अध्यक्ष देवीलाल डुम्रे, वार्ड १२ का अध्यक्ष यमलाल पाण्डे, वार्ड १३ का अध्यक्ष कृष्ण प्रसाद देवकोटा, सुनवल नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ लगायतले यस केन्द्रबाट यस जिल्लाका विरामीहरुले प्रत्यक्ष लाभ लिने सक्ने बताए ।