नवलपरासीबासी भन्छन्, अब हाम्रो ठाउँमा पनि विकास हुने भयो : त्यो बिनोद चौधरीबाट सम्भव देखिन्छ

0
332

परासी,१ कार्तिक । नेपाली कांग्रेसका नेता विनोद चौधरी नवलपरासी १ मा प्रतिनिधिसभा उम्मेदवार भएपछि स्थानीय खुसी भएका छन् । उनीहरुले कांग्रेस नेता चौधरीका कारण अब नवलपरासी १ मा विकास हुने विश्वास लिएका हुन् । नेपालका एक मात्र डलर अर्बपति चौधरीले उम्मेदवारी दिएपछि नवलपरासी क्षेत्रको विकास पनि हुनेमा आफूहरु आशावादी बनेको बर्दघाट नगरपालिका वडा नम्बर १४ का दीपक हरिजनले बताए ।
‘देशको प्रतिष्ठित व्यक्ति हुनुहुन्छ उहाँ, ठूलो उद्योगी पनि हुनुहुन्छ । देशको आर्थिक विकासमा उहाँले ठूलो योगदान गरेको हामीलाई थाहा छ, उनले भने, अब त हाम्रै क्षेत्रमा उम्मेदवार बन्नुभएको छ । उहाँले यहाँको विकास पनि अवश्य गर्नुहुनेछ ।’
हरिजनले यसअघि निर्वाचित जनप्रतिनिधिले आश्वासन मात्रै दिएको र विकास नगरेको गुनासो गरे । उनले भने, ‘चुनावका बेला यस्तो गर्छाैं, त्यस्तो गर्छाैं भन्ने तर जितेपछि कामै नगर्ने नेता भए अहिलेसम्मका । अब विनोद चौधरी आएपछि छ विकास हुन्छ । हामी त एकदमै आशावादी छौं ।’

नवलपरासी १ बाट पूर्वमन्त्री एवं जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी पाँच पटक निर्वाचित भइसकेका छन् । त्रिपाठीलाई पटकपटक निर्वाचन जिताउँदा पनि नवलपरासीको विकास हुन नसकेको स्थानीयको दावी छ । उनीहरु त्रिपाठीसँग रुष्ट देखिन्छन् ।
कांग्रेस नेता चौधरी उद्योगपति भएकाले पनि उनीबाट विकास हुने स्थानीयको विश्वास छ । चौधरी उम्मेदवारी दर्तापछि स्थानीय घरदैलो अभियानमा छन् । उनी जनतासँग प्रत्यक्ष अन्तर्क्रिया गर्दै उनीहरुका समस्या सुन्दै आएका छन् । ‘उहाँ हाम्रो घरमै आएर समस्या के छन् भनेर सोध्नुभयो । हामी त एकदमै खुसी छौं,’ प्रतापुर गाउँपालिका बस्ने उमा देवि हरिजनले भनिन्, ‘पहिला पहिला जितेर जानेहरुले हामीलाई फर्केर पनि हेरेनन् । अब हाम्रो आशा नै विनोद चौधरी हुन् ।’ उनी कांग्रेस नेता चौधरीले आफूहरुका समस्या समाधान गर्नेमा ढुक्क छिन् ।

कांग्रेस नेता चौधरीले आफू विकास र समृद्धिका लागि नै राजनीतिमा होमिएकाले नवलपरासी पश्चिमको विकासका लागि प्रतिवद्ध रहेको बताए । ‘जनताले खोजेको विकास अवश्य सम्भव छ, जनताले चाहेको विकासका आधार पहिचान गर्दै जनताको घरघरमा पुगेको छु’ उनले भने । चौधरीका अनुसार नवलपरासी पश्चिममा बेरोजगारी, नदि कटान, भारतीय सीमा समस्या लगायतका समस्याबारे आफू जानकार रहेको बताए । ‘यहाँ जे जस्ता समस्या छन्, म त्यसबारे जानकार छु । यी समस्याको समाधानका लागि व्यक्तिगत तर्फबाट र राज्यकातर्फबाट मैले पहल गर्छु । समस्याको समाधान हुन्छ पनि,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here