जिवन न्यौपाने –
परासी, १९ भदौ । बाबा बर्दगोरिया मन्दिरमा लाग्ने ७ दिने वृहद तिज विशेष धार्मिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । नवलपरासीको सुनवल नगरपालिका वडा नं. ११ केरवानिमा अवस्थित बाबा बर्दगोरिया धाम परिसरमा हरितालिका तीजको अवसर पारी यहि भदौ २१ गते देखी भदौ २७ गते सम्म लाग्ने ७ दिने तिज विशेष धार्मिक महोत्सवको तयारि अन्तिम चरणमा पुगेको मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
बाबा बर्दगोरिया धाम विकास संस्थाको आयोजना तथा सुनवल नगरपालिकाको सह–आयोजनामा हुन लागेको यस धार्मिक महोत्सवमा धार्मिक तथा सांस्कृति झल्काउने गरि मेलाको आयोजना गरिएको छ । बुद्ध सर्किटमा पर्ने लुम्विनी, देवदह, रामग्राम, त्रिवेणिधाम संगै बाबा बर्दगोरियालाई पनि बुद्ध सर्किटमै जोडी धार्मिक तथा पर्यटकीय क्षेत्र विस्तार गर्ने अभिप्रायले यस क्षेत्रका धार्मिक तथा भौतिक पूर्वाधार विकास एवम वैदिक सत्य सनातन धर्म दर्शन संस्कृती परम्परा र सभ्यताको संरक्षण, सम्वर्धन, प्रवर्धन तथा व्यापक प्रचार प्रसार गर्ने उद्देश्यले यस महोत्वसमो आयोजना गरिएको सम्मेलनमा संस्थाका अध्यक्ष नारायण तिवारीले बताए ।
आयोजक संस्थाले मेलाको तयारी तिब्र पार्दै स्टलहरु निर्माण, बाल उद्यान, कुश्ती स्थल निर्माण र मेला स्थलको वृहद सरसफाई समेतको कार्यमा जुटेको छ । महोत्सवमा १५० भन्दा बढी स्टल रहने र मेलामा श्रीमद् भागवत सप्ताह महायज्ञ एंव तीज महाम्य, महिला पुरुष दुबैको कुस्ती खेल प्रदर्शन, तीज गित प्रतियोगिता, राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुति, भजन किर्तन, साहित्यिक कार्यक्रम लगायतका महोत्सवको मुख्य आकर्षण रहने संस्थाका उपाध्यक्ष नरपति पाण्डेले बताए ।
महोत्सवमा विशेषगरी धार्मिक सामाग्रीहरुको प्रदर्शनी, खेलौना तथा स्वदेशि कपडाहरुको स्टल, विभिन्न जातजातिका परिकार तथा संस्कृती झल्कने कार्यक्रमहरु, मोटरसाइकल स्वरुम लगायतका स्टलहरु रहनुका साथै राष्ट्रिय स्तरका कलाकारकहरु बद्रि पंगेनि, पृति आले, प्रिया भण्डारी, हाँस्य कलाकार बिष्णुजी पाण्डे (माइला बा), पुरुषोत्तम भण्डारी (पुर्खे बा) लगाएतका कलाकारकहरुको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार सयोजक तथा प्रवक्ता उपेन्द्रमान प्रधानले जानकारी दिउ ।
बाबा बर्दगोरिया धाम विकास संस्थाका अध्यक्ष नारायण प्रसाद तिवारीको अध्यक्षता र सुनवल नगरपालिका वडा नं. १२ का वडाध्यक्ष यमलाल पाण्डेको प्रमुख आतिथ्तामा रहेको पत्रकार सम्मेलनको सन्चालन भएको थियो ।
यस्तो छ बाबा बर्दगोरियाको महत्व
नवलपरासीको सुनवल नगरपालिका वडा नं. ११ केरवानिमा रहेको चुरे पहाडको काखमा अवस्थित बाबा बर्दगोरियाधामको महत्वलाई विभिन्न पक्षिंको कुहुकुहु ध्वनि, मयुरको नाच, शङ्खघन्टिको सुमुधुर ध्वनी र विभिन्न जातका रङ्गिबिरङ्गी फूलहरुले अझ शोभायमान बढाएको छ । बाबा बर्दगोरियालाई दाहिने पारेर बग्ने पानभार नदी र बाँया पारेर बग्ने भुमही नदिले यस धामलाई सिञ्चित गरी पवित्र तुल्याएका छन् । बाबा बर्दगोरियाको अगाडी रहेको अमर पोखरीले जीवजन्तु, वनस्पतिको जीवनलाई अझ थप प्राण भरिदिएको छ । चराचुरुङ्गिको चिरविर चिरविर आवाज, कीटपतङ्गको गुञ्जन, दुबैतर्फ सलल बग्ने पानीको कलकल ध्वनि, सन्तजनको शिवशिव ध्वनि, सदावर्त धुवाँईरहने अखण ध्वनी र प्राकृतिक सुन्दर, शान्त अनि मनोरम वातावरणमा सुसजित बर्दगोरिया धाम आध्यात्मिक आनन्द वर्षाउने एक पवित्र धाम हो । यस धाममा आएपछी जो कसैले आनन्द अनुभुत गर्दछन् र केहि क्षण भएपनी आध्यात्मिक सुख प्राप्त गर्दछन ।
बाबा बर्दगोरिया घाममा प्राचिन दरबार, मठमन्दिरहरु नभएपनी बिभिन्न समयमा देखापरेका विभिन्न शैलिमा कुँदिएका प्रस्तर मुर्ति, चक्र र पर्खालमा प्रयोग गरिएका ढुङ्गा माटाका भाँडा र ताम्रपत्रसमेतले यस धामको प्राचीनतालाई पुष्टि गर्दछन । झण्डै दश वर्ष पहिले नदिले भूमि कटान गर्दा प्रकटेश्वर महादेव प्रकट भएकाले उक्त पवित्र मूर्तिलाई बाबा बर्दगोरिया मन्दिर समिती र जयदुर्गे भजन मण्डली समुह भुमहीको अगुवाईमा १०८ शिवालिङ्ग तथा १०८ पिपलको व्यवस्थापन गरी प्रत्येक सोमवार जलार्पण गरिनाले यसको महत्व अझै बढेको पाइन्छ ।
वि.स. २०५० मा यहाँको नदिकिनारमा प्राप्त ताम्रपत्र साविक रामनगर गाविस कार्यालय र पुरातत्व विभाग काठमाडौंमा सुरक्षित राखिएको छ । यहाँका प्रस्तर मूर्ती र चक्र वालमिकी आश्रम त्रिवेणी र काँक्रेबिहार सुर्खेतका कलात्मक ढाँचासँग मिल्दाजुल्दा रहेका छन् ।
यस स्थानमा देवादिदेव भगवान शिवसँग सम्वन्धित र प्राचिन नन्दिकेश्वर भगवानको मूर्ति रहेकाले हरेक सोमबार यस मन्दिरमा श्रध्दालुहरुको भिड लाग्ने गर्दछ । भगवान बर्दगोरियाको आशीर्वादले मनोकांक्षा पुरा हुने , सन्तान, धनसम्पति, सुख प्राप्ती हुने जनविश्वास रहेको छ । भक्तजनहरुले यस मन्दिरमा रहेको मूल मुर्तिमा दुध चढाएर भगवानको स्तुती गर्दछन् । यहाँ विशेष गरी बाला चतुर्दशी, श्रावण महिना र भाद्र शुक्ल तृतिया (तीज) मा वर्षेनी ठूलो मेला लाग्दै आएको छ । मेला भर्न नेपालका विभिन्न जिल्लाहरु सहित भारतको उत्तरप्रदेश, उत्तराखण्ड, बिहार, झारखण्ड लगायतका स्थानहरुबाट भक्तजनहरु बाक्लो संख्यामा आउने गर्दछन् ।
यस धाममा २०६९ सालामा ब्रह्माण्डीय सनातन धर्म महासभा नेपालले १५ दिन सम्म महारुद्र एवं पञ्चदेव धान्याञ्चल विराट ज्ञान महायज्ञ साथै विश्वमै अव्दितिय मानिने १११११ कन्या पूजनसहित जगत गुरु निश्चलानन्द सरस्वती जी महाराजका मुखारविन्दबाट भागवत कथा वाचन गरी यज्ञ सम्पन्न गरिएको थियो । बाबा बर्दगोरिया धाम विकास संस्थाको आह्वान तथा सुनवलवासीको संरक्षणमा नेपाल महर्षि वैदिक प्रतिष्ठानद्वारा विगत दुई वर्षदेखि अखण्ड रुपमा वरिष्ठ धार्मिक विद्वान यज्ञाचार्यज्यूहरुको अगुवाइमा ३३ देखि ४४ जना वैदिक पण्डितहरुको सहभागिता र सहकार्यमा विश्व शान्ति ब्रह्मानन्द सरस्वती ज्ञान महायज्ञ सञ्चालित भैरहेको छ ।