काठमाडाै, ७ भदाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । सोमबार दिउँसो सारजाह एभिएसन सर्भिसको जी९५३६ नम्बरको फ्लाइटमा भन्सार छली गरी अवैध रूपमा सुन ल्याई कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३४ वर्षीय विकास महाजन रहेका छन् । विशेष अनुसन्धान टोलीले सिनामंगल गोल्डेन गेट नजिक रहेको ट्याक्सी पार्किङबाट महाजनलाई शङ्कास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा निजले लगाएको सेण्डो भेष्टमा सुन जस्तो पहेँलो पेष्ट गरेको धातु फेला पारेको थियो ।
त्यसलाई तौल गर्दा ४०८ ग्राम र निलो रंगको अन्डरवेयरमा सुन जस्तो पहेँलो देखिने कपडामा पेष्ट गरेको धातुसहित तौल गर्दा ३६९ ग्राम गरी जम्मा ७७७ ग्राम तौल रहेको थियो । उनको साथबाट ५०० दरको भारतीय रुपैयाँ १९ हजार ५०० र ४२० दिराम पनि प्रहरीले फेला पारेको छ । उनले सुन जस्तो देखिने पहेँलो धातु दुबईबाट लगाएर भारत लैजान लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
महाजनलाई भन्सार छली सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ । @राताेपाटी