परासी, ७ भदौ । रामग्राम नगरपालिकाले परासी बजारमा रहेको अव्यस्थित टेलिकम तथा वाईफाईका तारहरु व्यवस्थापनमा ध्यान दिएको छ । बिजुलीको पोलमा अवस्थित तरिकाले झुलीरहेको दुर संचार, केबल तथा विभिन्न वाईफाई र नेटवर्कका तारहरु व्यवस्थापनका लागि नगर प्रमुख धनपत यादवले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका हुन् ।

रामग्राम नगरपालिका वडा २,३,५ र ६ सहित परासी बजार भरिकै पोलहरुमा अवस्थित रुपमा झुलीरहेको तारले सवारी साधन आवतजावतमा कठिनाई त भएकै छ यता बजार पनि कुरुप देखिने हुँदा सो व्यवस्थापनका लागि नगर प्रमुख धनपत यादवले नेपाल टेलिकम तथा विभिन्न नेटवर्कका संचालकहरु निर्देशन दिएको नगरपालिका ईन्जिनियर शतिस गुप्ताले जानकारी दिनु भयो । ईन्जिनियर गुप्ताका अनुसार तार व्यवस्थापनका लागि ति संचालकहरुलाई एउटा म्याद राखेर चिठी काटने र व्यवस्थापन गर्ने पालिकाको योजना रहेको बताउनु भयो । त्यस्तै बजारमा देखिएको ट्राफिक व्यवस्थापनका लागि पनि पालिकाले आवश्यक कार्य गरिरहेको छ ।

यता रामग्राम नगरपालिका ५ का वडा अध्यक्ष रामबृक्ष यादव, वडा सदस्य हरि शर्माको नेतृत्वमा बजार सफाई गरिएको छ । रामग्राम ५ मा पर्ने परासी बजारको मुख्य सडकमा रहेको फोहोर मैलाहरुको सफाई गरिएको वडा अध्यक्ष रामबृक्ष यादवले जानकारी दिनु भयो । परासी बजारका लागि नगरपालिकाका जनप्रतिनिधिहरु लागी परेका छन् । अहिले बजार सुन्दर सफा देखिन थालेको छ ।