परासी, ७ भदाै । गोपिगंज–त्रिवेणी हुलाकी सडक निर्माणमा ढिलाई हुँदा यात्रीहरुलाई सास्ती भएको छ । बर्षा हुँदा हिलाम्मे र घाम लाग्दा धुलाम्मे उक्त सडकमा यात्रा गर्न यात्रीलाई कठिनाई हुने गुनासो गरेका छन् भने स्थानियलाई पनि आवतजावतमा कठिनाई हुने बताउछन् । पश्चिम नवलपरासीको उक्त सडकका अधिकांश भाग फुटेर खाल्डाखुल्डी भएको छ भने सडकमा पानी पर्दा सडक पुरै हिलाम्मे हुने हुँदा यात्रामा निकै कठिनाई भोग्नु परिरहेको स्थानिय युवराज मौर्यले जानकारी दिए । उक्त १५ किलोमिटर दुरीको हुलाकी सडक तल बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका हुदै सुस्ता गाउँपालिकालाई जोडेको छ ।

नारायणचोक (गोपीगंज) देखि रानीनगरसम्म (त्रिवेणी) कुल १५ किलोमिटरको उक्त हुलाकी सडक निर्माणका लागि बज्रगुरु महालक्ष्मी जेभी ललितपुरले ठेक्का लिएको छ । २ लेनको पिच सडक निमार्णका लागि ठेकदार कम्पनीले भ्याटसहित ४९ करोड, ६७ लाख ६२ हजार ५४६ रुपैयामा ठेक्का लिएको छ । बाटो निर्माणका लागि ठेकदार कम्पनीले २०७६ मंसिर १ गते सम्झौता गरि २०७९ मंसिर १ गतेसम्म सम्पन्न गर्नु पर्ने म्याद रहेको छ । ठेक्काको म्याद ४ महिना भित्रै सकिन्छ तर अहिलेसम्म जम्मा ३० प्रतिशत मात्र काम भएको पाइएछ । करिब ३ बर्षको समयमापनि ठेकदारले काम सम्पन्न गर्न नसक्दा स्थानियहरु सास्ती खेप्न बाध्य भएका छन् । ठेकेदारलाई समयमै काम सम्पन्न गर्न पटक–पटक ताकेदा गर्नपनि खासै चाँसो नदेखाएको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए ।

ठेकदार कम्पनीले विभिन्न बहाना गर्दै ढाई बर्षमा जम्मा २४ वटा कल्भर्ट बनाएको छ । त्यस्तै बजार क्षेत्र बनाउनु पर्ने ढलको ८० प्रतिशतमात्र काम सम्पन्न गरेको छ भने बाकी २० प्रतिशत गर्न बाकी नै छ । सडक डुबान क्षेत्रमा रिटर्निङ्ग वाल र ६ किलोमिटर ग्रेवलको काम बर्षाको कारण देखाउदै अहिले काम रोकेको छ ।। बर्षाले काम अवरोध भएको र अब छिटै काम शुरु गर्ने ठेकदार दावा शेर्षाले जनाकारी दिए । बाटो निर्माणमा ढिलाईले उक्त निर्माणधिन सडक हिलाम्मे र धुलाम्मे हुँदा स्थानियहरु हैरानी खेप्नु बताउछन् ।