परासी, ११ भदौ । मालपोत कार्यालय नवलपरासीले नियम मिचेर जग्गा नामसारी गरेको पाइएको छ । कार्यालयले जग्गा नामसारी गर्दा चाहिने आवश्यक कागजात विना नै नियम विपरित कार्य गरि जग्गा नामसारी गरेको खुलेको छ ।
सुनवल नगरपालिकाका १३ घयुडल्ला बस्ने ज्ञान प्रसाद पाण्डेको नाममा रहेको कित्ता नम्बर २३७ को १ कठ्ठा १२ धुर जग्गा आवश्यक कागजागत, वार्डको घरगोठ–बाटो सिफारिश पत्र, तिरो रसिद र नाता प्रमाणित नगराईकनै मालपोतका कर्मचारीहरु आर्थिक प्रलोभनमा परि जग्गा नामसारी गरेको पाइएको छ ।
जग्गा धनी ज्ञान प्रसाद पाण्डेको नाममा रहेको उक्त जग्गा आर्थिक चलखेलको चक्करमा मालपोतका केहि कर्मचारीले आवश्यक कागजात बिना पाण्डेको बुहारी सुमित्रा पाण्डे र नाती गुणाखर पाण्डेको नाममा बकस मार्फत नामसारी गराएको सोमबार आयोजित पत्रकार सम्मेलनमा वडा १३ का अध्यक्ष कृष्ण प्रसाद देवकोटाले बताए ।
सुनवल नगरको प्रवक्ता समेत रहेको वार्ड अध्यक्ष देवकोटाले भने, यसरी आवश्यक कागजागत नमिलाईकन सिधै नियम मिचेर मालपोतका मालपोत अधिकृत कृष्ण गौतम, खरिदार धर्मराज पन्थी र लेखन्दास बाबुराम अर्यालले जग्गा नामसारी गराई नियम विपरित कार्य गरेकाले यिनीहरुलाई कानुनी कठगघरा उभ्याउने सम्मेलनमा जानकारी दिए । यस कार्यमा कर्मचारीहरू निकै लाभ लिन खाेजेका थीए ।
यता जग्गा धनी ज्ञान पाण्डेको दुईजना छोरा छन् तर अहिलेसम्म उनीहरुमा अंश बण्डा भईसकेको छैन । बाजे पाण्डेले आफनो ठुलो छोरा अरुण कुमार पाण्डेको नाममा जग्गा नामसारी नगरिकन सिधै बुहारी सुमित्रा र नाती गुणाखर पाण्डेको नाममा नामसारी गर्दा छोरा अरुण पाण्डेले आपत्ति समेत जनाएका छन् ।
कराेडाै रुपैया चलखेल गर्न मालपोत कार्यालयकै कर्मचारीको मिलो मतोमा सरावल १ बासाबसहीको करिब २ विगाहा जग्गा किर्ते गरि एक भुमाफियाको नाममा नामसारी गरेको घटना अझै सेलाएको छैन कि फेरि नियम मिचेर अर्काे गलत कार्य घटना बाहिर आईपुगेको छ । यसरी पटक पटक आर्थिक चलखेलको चक्करमा नियम विपरित कार्य गर्दै आएकोे मालपोतका कर्मचारीहरुले कार्यालयको निकै बदनामी गराएका छन् ।