परासी, १० भदाै । नवलपरासीका छोटी भन्सार कार्यालयहरुमा कर्मचारीलाई जागिर खुवाउने कार्य मात्र भएको छ । अधिकार विहिन छोटी भन्सार कार्यालयहरुमा एक जना कार्यालय सहायक राखी तलब खुवाउने कार्य मात्र भएको पाइएको छ ।
नवलपरासीमा महेसपुर भन्सार कार्यालय बाहेक भैरहवाँ भन्सार कार्यालयको मातहतमा संचालित ४ वटा छोटी भन्सार कार्यालयहरु छन् तर कुनै पनि भन्सार कार्यालयबाट एक रुपैया बराबर मालसमानको भन्सार काटने अधिकार दिइएको छैन ।
त्यति मात्र होईन ति भन्सार कार्यालयको गोदाममा कुनै प्रकारको मालसमान पनि स्टक गर्न पाईदैन । जिल्लाको साना नाकाको रुपमा रहेको विषुनपुरा, भुजहवाँ, झुल्नीपुर र त्रिवेणी गरि ४ वटा छोटी भन्सार कार्यालय स्थापित छन् । कुनै भन्सार कार्यालय आफनै जिर्ण भवनमा छ भने कुनै गण्डक नहरको जिर्ण कालोनीमा संचालित छ ।
यि ४ वटै छोटी भन्सार कार्यालयहरु नाम मात्रको भन्सार कार्यालय हुन । यहाँबाट मोटरसाईकल तथा साना सवारी साधानको सुविधा काटने कार्य बाहेक अरु कुनै प्रकारको मालसमानको भन्सार काटने कार्य हुदैन् । भन्सारमा खटिएका कर्मचारीहरु स्थानिय स्तरबाट एक जना कार्यालय सहयोगी राखी दिनभरि सुविधा कटाउने र सुविधाको नाममा १० देखि ५० रुपैया सम्म अवैध रकम असुल्ने गरेको स्थानिय व्यपारी बताउछन् ।
पैसाको लोभले स्थानिय युवाहरु कार्यालय सहयोगी बनी भन्सारमा खटिएको कर्मचारीको कार्य गर्दै आएका छन् । भैरहवाँ भन्सार कार्यालयले खटाएको कार्यालय सहायक पदका कर्मचारीहरु भन्सारमा कमै भेटिन्छन् । उनीहरु दिनभरि चिया पसलमा गफिदै वा आफनो व्यक्तिगत कार्यमा बाहिर पाईने गरिएका स्थानियले आरोप लगाए ।
यि भन्सार कार्यालयहरुमा नत्र सुरक्षाको राम्रो प्रवन्ध छ नत्र भन्सार अधिकार सम्पन्नै छ । यि नाकाहरुबाट मालसमानको भन्सार नभएकाले स्थानिय व्यपारीहरु समस्या झैल्दै आएको बताए ।