१६ जिल्लाका २३ स्थानमा आगलागी,  १४ करोड बढीको क्षति

0
26

देशका १६ जिल्लाका २३ स्थानमा भएको आगलागीबाट १ जना घाइते हुनुका साथै १४ करोड रुपैयाँभन्दा बढीको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार भक्तपुर, ललितपुर, दोलखा, तेह्रथुम, रोल्पा, मोरङ, कञ्चनपुर, बाजुरा, कैलाली, प्युठान, दाङ, बर्दिया, खोटाङलगायत जिल्लामा आगलागी भएको हो ।


रुपन्देहीको कोटहीमाई गाउँपालिका ७ भगैस्थित खेतमा गहुँ काटेको नलमा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा २९ वर्षीय एक पुरुष घाइते भएको प्राधिकरणको भनाइ छ । घाइतेलाई उपचारका लागि भैरहवास्थित सिटी अस्पताल पठाइएको छ । यता मध्यपुर ठिमी नगरपालिका( ५ कमेरोटारस्थित ग्रीन सि ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवेयर गोदाममा अचानक आगलागी हुँदा ७ करोड ५० लाख रुपैयाँ बराबरको सामानहरु जली नष्ट भएको छ ।



त्यस्तै ललितपुर महानगरपालिका-३ बल्खु मलपोखरी अफनडोल स्थित निशु फर्निचर उद्योगमा अचानक आगलागी हुँदा विभिन्न फर्निचरको सामान सहित सत्यदेवी इन्टरनेशनल प्रालिमा रहेको विभिन्न मोटर पार्टसका सामान र इमानुयल फर्निचर उद्योगको विभिन्न सामान र मोसा जलि कुल ६ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जानकारी दिएको छ ।



उता, दोलखाको सैलुङ गापा ८ मनगाउस्थित एक गोठ र घरमा अचानक चुल्होबाट आगो सल्किई आगलागी हुँदा १० वटा पशु मरेका छन् भने १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै खोटाङको आठराई गाउँपालिका ७ थोक्लुङस्थित एक घर र गुवाली घरमा भान्सा कोठाबाट अचानक आगो सल्किई आगलागी हुँदा पूर्णरुपमा जली १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here