परासी, ९ भदाै । नवलपरासीको कावासोतीमा रहेको केरुङ्गे खोलाले बगाएर गएराति एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका १४ हेगौली निवासी ५० वर्षीया मालसिंह महतोको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।
खोलापारी खेतमा माछा मार्ने ढडिया थापेर फर्किने क्रममा उनलाई राति ११ बजे तिर खोलाले बगाएको स्थानीयले बताएका छन् । खेतमा गएका उनी राति अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा राति १ बजे केही तल शव भेटिएको थियो । उनको शव पोष्टमाटर्मका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ ।