स्थानीय चुनावको टिकट बाँड्न संसदीय ‘बोर्ड’ बनाउँदै कांग्रेस, कुन समितिले गर्छ निर्णय ?

0
331

काठमाडाै, १० चैत । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउँदैछ ।

कांग्रेसले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा गरी यी तहमा विधानको व्यवस्थाअनुसार नै संसदीय समिति बनाउने तयारी गरेको हो ।

कांग्रेस विधानले निर्वाचनका लागि उम्मेदवार छान्न सबैभन्दा शक्तिशाली संरचना संसदीय समितिको परिकल्पना गरेको छ । यी विभिन्न तहमा गठन हुने समितिले तहगत रूपमा निर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार राख्छन् ।

यी सबै तहमा चैत १५ गतेभित्रै संसदीय समिति बनाउन पार्टीका सम्बन्धित तहलाई निर्देशन गरिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार उनी र अर्का महामन्त्री गगन थापाले संसदीय समिति बनाउन भन्दै केन्द्रबाट हस्ताक्षर गरी पत्र नै पठाएका छन् ।

कांग्रेस विधानको धारा ३३ मा संसदीय समितिको गठनबारे उल्लेख छ । सो धाराको (१) मा कुनै पनि तहको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता हुने मितिभन्दा १ महिनापूर्व उम्मेदवारको अन्तिम निर्णय गरिसक्नुपर्ने उल्लेख छ । ती समितिले निर्वाचनका लागि उम्मेदवारी दर्ता हुनु १ महिना पूर्वअन्तिम निर्णय गरिसक्नुपर्ने विधानमा भनिएको छ ।

निर्वाचन आयोगले वैशाख १२ र १३ गते उम्मेदवारको मनोनयन दर्ताको मिति तोकेको अवस्थामा भने कांग्रेसले विधानमा उल्लेख भएअनुसार चैत ११ गतेअघि नै संसदीय समिति बनाएर उम्मेदवार छान्ने प्रक्रिया टुंग्याइसक्नुपर्ने थियो । अहिले कांग्रेसका सबै तहमा धमाधम संसदीय समिति गठन गर्ने काम शुरू भएको छ ।

बाग्मती प्रदेश कांग्रेसले सोमवार मात्रै संसदीय समिति बनाएको हो । कांग्रेस विधानअनुसार महानगरपालिका प्रमुख/उपप्रमुखको केन्द्रीय संसदीय समितिले, नगरपालिका र उपमहानगरपालिका प्रमुख/उपप्रमुखको प्रदेश संसदीय समितिले, गाउँपालिका प्रमुख/उपप्रमुखको जिल्ला संसदीय समितिले र वडाध्यक्ष तथा सदस्यको प्रतिनिधिसभा क्षेत्र संसदीय समितिले उम्मेदवारको टुंगो लगाउनुपर्छ ।

विधानअनुसार संसदीय समितिले गर्ने निर्णयलाई सम्बन्धित कार्यसमितिले अनुमोदन गर्नुपर्छ । संसदीय समितिमा सम्बन्धित कार्यसमितिका पदाधिकारीका साथै सभापतिको प्रस्तावमा निश्चित संख्यामा सदस्य मनोनित गर्ने गरिन्छ ।

कांग्रेस महामन्त्री शर्माले केन्द्रीय तहमा चैत ११ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय संसदीय समिति गठन गर्ने जानकारी दिए । कांग्रेस विधानअनुसार संसदीय समितिमा पुग्नुअघि तल्लो तहको कार्यसमितिले प्रत्येक पदमा १ महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्छ ।

कांग्रेसका तल्ला तहबाट प्रक्रियागत रूपमा सिफारिस भएर आएका नाममध्येबाट उम्मेदवार चयन हुने व्यवस्था विधानमा छ । राजधानीमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here