कुर्थावल सडक ग्रावेलिङ्गमा अनियमितता : नाला निर्माणमा पुरानो ईट्टा प्रयोग गरि कुम्ल्याइयो बजेट

0
487

परासी, ८ भदौ । नवलपरासीको सरावल गाउपालिका ६ कुर्थावलमा भएको सडक ग्राभेलिङ्ग तथा नाला निर्माण कार्यमा अनियमितता भएको पाइएको छ । कच्ची सडकलाई ग्रावेलिङ्ग गरि दुबै साईडमा ढल निकास बनाउने कार्यमा व्यापक अनियमितता भएको स्थानियहरुले आरोप लगाएका हुन् । उपभोक्ता समितिले स्टिमेट अनुसार काम नगरि ४० मिटर बाटोमा ग्रावेल नखसालेको र ढल निर्माणमा ३ ट्रालि पुरानो ईट्टा प्रयोग गरि नाला प्लस्टर समेत अधुरो राखी अनियमितता गरेको स्थानिय करदवन चौधरीले आरोप लगाए ।

गाउँपालिकाले स्थानिय दिवाकर यादवको अध्यक्षतामा बनेको सडकमा ग्रावेल तथा दुबै साईडमा नाला निर्माण गर्ने उपभोक्ता समितिलाई १३ लाख ६८ हजार ४७९ रुपैयामा सो योजना सम्झौता गरेको थियो जसमध्ये ६८ हजार ४७९ रुपैया उपभोक्ता समितिले श्रमदान गर्ने सम्झौता भएको थियो तर समितिले जनसहभागिता लागत रु ६८ हजार ४७९ रुपैया श्रमदान नगरेकाले पुरै बाटो ग्रावेलिङ्ग र नाला प्लस्टर हुन नसेको वार्ड ६ का अध्यक्ष कैलाश यादवले बताए ।

यता उपभोक्ता समितिका अध्यक्ष दिवाकर यादवले भने, हामीले स्टिमेट अनुसार ११६ मिटर लामो बाटोमा ग्रावेल खसाली दुबै साईडमा नाला निर्माण गरिसकेका छांै बाकी हिलाम्मे देखिएको ४० मिटरको बाटो हाम्रो स्टिमेटमा नरहेकाले हामी त्यसमा काम नगरिएको सफाई दिए । उनले भने, यस हिलाम्मे बाटोको चर्काे आलोचना हुन थालेपछि गाउँपालिकाको निर्देशनमा आफनो व्यक्तिगत लगानीमा सो बाटोमा भस्कट खसाली सकेको र अब केहि दिनमै मिस्कट खसालेर ग्रावेलिङ्ग गर्ने बताए ।

आयोजनाको काम पुरा नहुँदा बर्षाले बाटो पुरै हिलाम्मे भएको थियो । बाटो हिलाम्मे भएकाले स्थानिय तथा यात्रीहरुलाई आवत जावत गर्न निकै कठिनाई भैरहेको गुनासो गरे । यस्तो सानो आयोजनामा लाखौ रुपिया घोटाला हुन्छ, तर पनि सरोकारवाला निकाय मौन रहेको एक स्थानियले आरोप लगाए । उता झरही खोलामा पुल नबनिदिएका कारण वर्दघाट चिसापानीसम्मका मानिस कुर्थावल गाँउ हुदै बुडबन्तवापुरको पुल भएर मानिसहरु आउने जाने गरेका थिए । तर अहिले सडकमा खाल्टो परेको र भारी बर्षाले त्यो पनि विकल्प अवरुद्ध हुने देखिन्छ ।

यता गाँउबाट सडकको अनियमितता भएको, पुरानो इटा प्रयोग भएको र काम अधुरो भएको गुनासो गाउपालिकामा आएको योजना अनुगमन समितिका संयोजक समेत रहेकी गाउपालिकाकी उपाध्यक्ष उत्तमा रायले बताईन् । आफुले तिन पटकसम्म अनुगमन गरेको सुनाउदै उनले गाँउलेको भनाई एक किसिमको भएको र प्राविधिकले जति स्टिमेट थियो, त्यती बराबरको काम भएको जानकारी गराएका कारण यथार्थ के हो ? निक्र्यौल गर्न नसकिएको उनको भनाई छ । सडक पुरै हिलाम्मे र खाल्टो भएका कारण सो खाल्टो पुर्नु पर्ने हो, तर बजेट निकासा नभएका कारण हुन नसकेको प्रतिक्रिया उनले जनाईन् । केही दिनमै निकासी गराएर खाल्टो पुर्ने उनले दाबी गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here