सुनवल नगरपलिका तराईमा अवस्थित छ, जसमा नवलपरासी जिल्लाको चुरे क्षेत्रको सानो भाग, उत्तरमा पाल्पा जिल्ला, दक्षिणमा रामग्राम नगर पालिका, पूर्वमा बर्दघाट नगरपालिका र पश्चिममा रुपन्देही जिल्ला रहेको छ । यो नगरपालिका सन् २०१४ मा नेपाल सरकारको स्थानीय प्रशासन अधिनियम अनुसार साबिकका दुई गाविसहरु, स्वाठी र सुनवललाई मिसाएर बनाइएको हो । सन् २०१७ को नेपालको राष्ट्रिय राजनीतिक परिवर्तन पछि, नवलपरासी जिल्लाको रामनगर क्षेत्र समेत सामेल गरि नगरपालिकाको क्षेत्र विस्तार गरिएको छ । सुनवल नगरपालिका यहि भदौ ३ गते नेपालकै पहिलो बालमैत्री स्थानिय शासन नगर घोषणा हुदै छ । यस अभियानलाई कसरी पुरा गरिएको सो बिषयमा नगरका प्रमुख भिम बहादुर थापा संग नन्दन खबरले गरको कुराकानी यस्तो छ ।
बालमैत्री स्थानीय शासन वास्तवमा के हो ? यसको वारेमा सुनवलको बुझाइ के छ ?
बालबालिकालाइ उनिहरको इच्छाअनुसार, सुहाउदो र हित हुने वातावरण जहाँ उनीहरु सुरक्षित महशुस गर्छन, आफ्ना कुराहरु निर्धक्कसंग राख्न सक्छन् , जहाँ बालबालिकालाइ मित्रवत् व्यवहार गरिन्छ र बालअधिकारको संरक्षण गरिन्छ, त्यस्तो वातवारणलाइ नै हामी बालमैत्री वातावरण भन्ने गर्छौ । भविश्यमा सक्षम, सबल नेतृत्व र सक्षम मानवस्रोत तयारीका लागि आज देखि नै बालबालिकाको क्षेत्रमा गरिने लगानी नै बालमैत्री स्थानीय शासन हो ।
बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार सुनिश्चित गर्नु, बालबालिकाको आवाज सुन्नु, योजना प्रक्रियामा समेत सहभागी गराई बालबाकिलाको लागि समय श्रम र बजेट लगानी गर्नु नै बालमैत्री स्थानीय शासन हो । बालबालिकाको अधिकार र कर्तव्यको सर्वोत्तम ख्याल गरी सामाजिक, मनोवैज्ञानिक एवं संवेगात्मक तवरले उच्च क्षमतावान र विश्व स्तरमा प्रतिस्पर्धी जनशक्ति विकास गर्नु सुनवल नगरपालिकाको बालमैत्री अभियानको प्रमुख लक्ष्य हो ।
हाल सुनवल नगरपालिकाको बालमैत्री अभियान कहाँ पुगेको छ ?
सर्वप्रथम त सुनवलका हामी जनप्रतिनिधिहरु बालबालिकाको सवालमा संवेदनशिल छौ. । सुनवल नगरपालिकाले विगतमा नै नेपालको पहिलो बालमैत्री नगरको पहिचान बनाईसकेको सन्दर्भमा स्थानीय तहको पुर्नसंरचना पश्चात थपिएका वडाहरुलाइ पनि बालमैत्री वडा बनाउदै फेरी पनि संघीय संरचनापछिको नेपालकै पहिलो बालमैत्री नगर बनाउने हामीले हाम्रो उद्धेश्य अनुसार विविध गतिविधिहरु संचालन भइरहेका छन्, हालसम्म बालमैत्री वडा तथा नगर घोषणाको लागि आवश्यक सबै प्रक्रियाहरु पूरा भइसकेका छन् । भाद्र ३ गतेनै एक भव्य समारोहका बिच हामीले प्रदेश नं. ५ का मुख्य मन्त्री माननीय शंकर पोखरेल ज्यूको प्रमुख आतिथ्यतामा बालमैत्री नगर घोषणा गर्दैछौं ।
यो निकै गाह्रो काम हो भनिन्छ, यो अबस्थासम्म आइपुग्दा कामहरुलाई कसरी अगाडि बढाउनु भयो ?
समाज परिवर्तनका लागि सामाजिक क्षेत्रमा काम गर्दा चुनौती त हुन्छ नै, तर असम्भव भने हुदैन । भौतिक पूर्वाधारमा गरिएको लगानीको प्रतिफल छिटो देखिने तर सामाजिक विकासको क्षेत्रमा गरिएको लगानीको प्रतिफल प्राप्त हुन केही वर्ष लाग्ने भएकोले पनि बालबालिकाको क्षेत्रमा गरिएको लगानी र कामलाइ शुरुवातमा बुझ्न र बुझाउन हामी सबैलाइ समस्या परेको थियो तर पनि यसको प्रतिफल दिर्घकालिन रुपमा देखिने र समृद्ध समाज निर्माणका लागि महत्वपूर्ण भएको हामी सबै जनप्रतिनिधिको बुभाईलाई समाजमा बुझाउदै जाँदा क्रमश वास्तवमा बालमैत्री स्थानीय शासनलाई समाजले निकै हार्दिकताका साथ स्वीकार गर्दै आम जनसमुदाय यो अभियानमा होमिनुभयो । विद्यालय, संघसंस्था, बालबालिका, आम जनसमुदाय सबै मिलेर हामीले काम गरेउ ।
यो अवस्था सम्म आइपुग्न साविक सुनवल नगरपालिकामा बालमैत्री घोषणाका लागि गरिएका प्रयासहरु कोशेढुंगाको रुपमा स्थापित भयो । विगतका कार्यको अनुभवलाइ संगाल्दै , बालमैत्री बनाउन बाँकी वडाहरुको अवस्था सर्वेक्षण पश्चात नेपाल सरकारद्धारा निर्धारण गरिएको बालमैत्री स्थानीय शासनका सूचकहरु प्राप्तीको लागि योजनाबद्ध ढङ्गले कार्य ग¥यौं, नगर र वडामा नगर कार्यपालिका वडा समिति सहित बालमैत्री समिति, बाल संजाल लगायतका संरचना निर्माण गरी स्वास्थ्य, शिक्षा, संरक्षण, सहभागिता लगायतका क्षेत्रसंग सम्बन्धीत सबै निकायसंग सहकार्य र समन्वयका साथ काम गरिएको हुनाले आज यो चरणमा आइपुगेका हौं ।
तपाँईले नेपालका स्थानीय तहहरुमा पहिलो बालमैत्री नगर बनाउने प्रतिवद्धता गर्दै गर्दा र अहिले बालबालिका र उनीहरु संग सम्बन्धीत सवालमा समाजको धारणामा के परिवर्तन भएको छ?
निकै राम्रो सवाल उठाउनुभयो , सदीयौ देखिको आम धारणा परिवर्तन गर्ने कुरा सहज कुरा होइन, वर्षौदेखि सोच्दै र गर्दै आएका कुराहरु परिवर्तन हुन केही समय त पक्कै लाग्छ । तर पनि हामीले छोटो समयमानै घरपरिवार र समुदायमा बालमैत्री स्थानीय शासनको मर्म बुझाउन निकै प्रयास गरीयो र सफल पनि भयौं । हिजो बच्चाले बदमासी गर्दा उसलाइ दण्ड सजाय दिने अभिभावकले आज बच्चा चञ्चले स्वभावका हुन्छन्, धेरै कुरा सिक्न जान्न खोज्छन र यही क्रममा वदमासी पनि गर्छन्, उनीहरुलाइ दण्ड सजाय भन्दा पनि मायाले सम्झाउनुपर्छ भन्ने कुरा बुझ्न थाल्नुभएको छ ।
गाउँ टोलको कुनै वच्चा दुव्र्यसनीमा संलग्न भइरहेको देख्दा पनि आफ्नो वच्चा होइन अरुले जेसुकै गरोस् भनेर सोच्नेहरुले आज समाजमा २० जना राम्रा बच्चा छन् तर १ जना दुव्र्यसनीमा फसेको छ भने उसले अरुलाइ पनि नकारात्मक बाटोतिर लान सक्छ हामीले दुव्र्यसनीमा संलग्न बच्चालाइ कुलत छुटाएर सभ्य बनाउन सकेउ भने समाजलाइ राम्रो हुन्छ र सबै बालबाकिलाको भविश्य राम्रो हुन्छ भन्ने बुझ्नुभएको छ । आजको दिनसम्ममा आइपुग्दा अधिकांश अभिभावकहरु आफै लागुपदार्थ दुव्र्यसनी विरुद्ध काम गर्दै हुनुहुन्छ , विद्यालयमा बालमैत्री वातावरणमा बालाबलिकाको मनोभावना बुझी अध्ययन अध्यापन गर्ने कार्य प्रभावकारी बन्दैछ , कुनै वच्चा हिंसामा परेको छ, वालविवाह हुन लागेको छ अथवा बालश्रमिकको रुपमा कार्य गरिरहेको छ भने उसले बालअधिकार पाएन उसको उद्धार गर्नुपर्यो भनेर जनप्रतिनिधिलाइ आम समुदायले भन्न थाल्नुभएको छ , हिजो बालक्लबमा बस्दा आफ्ना छोराछोरीको पढाइ विग्रन्छ भन्ने भ्रममा हुनुभएका अभिभावकले बालबालिका बालक्लबको माध्यमबाट समाजका विकृति विसंगती हटाउन, बालअधिकार सुनिश्चित गर्न आवाज उठाउदै हिडेको र नेतृत्व विकास भएको देखेपश्चात आज आफैले बालबालिकालाइ बालक्लबमा आवद्ध हुन प्रेरित गर्न थाल्नुभएको छ ।
बालबालिकाको विचारको सम्मान गर्नुपर्छ भन्ने कुरा बुझ्नुभएको छ । समाजमा हुने विभिन्न कार्यक्रमहरुमा बालबालिकालाइ समेत आफ्ना कुराहरु राख्ने अवसर दिन थाल्नुभएको छ । देख्दा सानो लागेपनि अभिभावकहरुको आफ्नो बालबाकिलाकाप्रतिको यस्तो चिन्तनले वास्तममै समृद्ध समाज निर्माणको हाम्रो परिकल्पनालाइ सार्थक बनाउन निकै सहयोग गर्नेछ । समाजमा बालबालिका र बालमैत्री स्थानीय शासनको सावलमा निकै सकारात्मक धारणा सिर्जना भएको छ, यो हाम्रो महत्वपुर्ण उपलब्धि हो ।
नेपालका विभिन्न जिल्लाहरुमा बालअधिकारको अभियान र कार्यक्रम नभएको होइन, तर सुनवललाई नेपालकै पहिलो बालमैत्री नगर बनाउन कसरी सफल हुनुभयो ?
सुनवल नगरपालिकाको जनप्रतिनिधि भएपश्चातको पहिलो बोर्ड बैठकबाट वडा अध्यक्ष सहित सम्पूर्ण कार्यपालिका सदस्यले थपिएका वडालाइ समेत बालमैत्री बनाउर्दै संघीय संरचना पश्चात समेत नेपालको पहिलो बालमैत्री नगर घोषणा गरि पहिलो बालमैत्री नगरको पहिचानलाइ कायम राख्ने निर्णय गरेका थियौं । केवल निर्णय गर्नु र प्रतिवद्धता गर्नु मात्रै ठुलो कुरा नभइ यसलाइ व्यवहारमा उतार्नु महत्वपूर्ण हुने हुँदा यसको लागि हामीले बालमैत्री घोषणा कार्य योजना, बालबालिकाको लागि लगानी योजना तयार गरी जिम्मेवारी बाँडफाँड गरी काम ग¥यौं, वडा अध्यक्ष र सदस्यहरुले बालमैत्री स्थानीय शासनलाइ मुख्य प्राथमिकताको विषय निर्धारण गरी कार्य गर्न थाल्यौं साथै हाम्रा अनुभवी कर्मचारी , बालमैत्री नगर र वडा समितिको सक्रियता, बालसंजाल र बालक्लबहरुको सक्रियता, विद्यालय, स्वास्थ्य संस्था लगायत सबै सम्बन्धीत संघसंस्थाको सकारात्मक सहयोग र आ आफ्नो क्षेत्रबाट गरिएको प्रतिवद्धता र कार्यका कारण नेपालको पहिलो बालमैत्री नगर बन्न सफल भएको हो ।
अहिले देशभरि सुनवलको चर्चा छ, भनिन्छ सुनवलले काम त्यहि गर्छ तर फरक तरिकाले गर्छ त्यसैले उ सँधैै अगाडि हुन्छ भनिन्छ नि ? के कुरामा फरक छ सुनवल ?
हो जव हामी निर्वाचित भएर नगरपालिकामा आयौं जनताले दिएको समृद्ध शहर बनाउने जिम्मेवारीका साथ आयौं , यसमा जनतासंगै नगरको समृद्धीका लागि केहि सपना र योजना हाम्रा पनि थिए , हामी गम्भिर भयौं र बडो जिम्मेवारीका साथ कामको शुरुवात गरेउ, चाहे त्यो पुर्वाधार विकासको क्षेत्र होस् चाहे त्यो शंसाधन विकासको क्षेत्र होस् हामी प्रथमिकताका साथ योजनावद्ध रुपमा दिर्घकालिन सोच बनाएर अगाडि बढिरहेका छौं । भनिन्छ दुनियामा सफल मान्छेहरुले फरक काम गर्दैनन् बरु त्यहि काम फरक तरिकाले गर्छन यो भनाईबाट हामी प्रेरित छौं त्यसैले सुनवलको यो एउटा पहिचान हो कि हामी हरेक कामलाई फरक तरिकाबाट गछौं र श्रेष्ठता हासिल गछौं ।
त्यसैले आज हामी देशभर पहिचान बनाउनुको साथै चर्चामा छौं, निर्वाचित भएर पद सम्हालिसकेपछि पहिलो बैठकबाट संघीय संरचना पछिको समेत पहिलो बालमैत्री नगर बनाउने निर्णय पनि गर्यौ र त्यो समयमै पूरा पनि ग¥यौं, सुनवलमा बालमैत्री शासनको सवालमा सम्पूर्ण जनप्रतिनिधि , कर्मचारी र सम्बन्धित सरोकारवालाहरुको एकमत छ । नतिजा प्राप्तीका लागि अहोरात्र खटेर काम गर्नु, कठिन छ तर असम्भव छैन भनी उच्च इन्छा शक्तिका साथ काम गर्नु, निस्वार्थ सेवाको भावना, तटस्थता, आर्थिक पारदर्शिता र विशेष गरी साझेदारहरु संगको समन्वय र सहकार्य गरी सामुहिक प्रतिवद्धताका साथ गरिएको कार्य नै हाम्रो सफलताको कडि हो ।
पहिलो बालमैत्री नगर बनाउने सफलता प्राप्त गर्दै गर्दा कस्तो अनुभुति भइरहेको छ?
यो हाम्रो मेहनतको प्रतिफल हो । वार्षिक, मासिक र दैनिक रुपमा समेत कार्ययोजना बनाइ प्रत्येक दिन गरिएको कार्य , बालबालिकाको अधिकार विकास र उनीहरुसंग सम्बन्धित घटना तथा सवाललाइ महत्वका साथ अगाडि बढाउँदा फेरी पनि सुनवललाइ नेपालकै पहिलो बालमैत्री नगरको रुपमा स्थापित गर्न सफल भएका छौं । यो केवल नगर र जिल्लाको मात्र नभएर राष्ट्रकै लागि गौरवको विषय हो ।
वर्षौदेखि बालअधिकार र बालमैत्री स्थानीय शासनमा काम गर्दै आउनुभएका विभिन्न संघ संस्था निकाय र व्यक्तिहरुको लागि गौरवको विषय हो । त्यसकारण पनि खुशी महशुस भइरहेको छ । निरन्तरको खटाइ, समर्पण र प्रयासको नतिजा आउदा निकै आनन्दको महशुस हुँदो रहेछ । जीवनमा सबैभन्दा ठूलो र महत्वपूर्ण उपलब्धी हाँसिल गर्न सफल भएको अनुभुती भइरहेको छ । अब हामी यतिमै मात्र सिमित नरहेर बालमैत्री स्थानीय शासनलाई दिगोपनाका लागि पनि काम गर्नेछौँ ।
बालमैत्री स्थानीय शासनको दिगोपनाको लागि के योजना बनाउनु भएको छ त?
कुनै पनि स्थानीय तहलाइ बालमैत्री घोषणा गर्नु आफैमा पूर्ण होइन । घोषणा पश्चातको निरन्तरतालाइ ध्यानमा राख्न नसकिएमा घोषणा गर्नुको औचित्य नरहन सक्छ । त्यसकारण बालमैत्री स्थानीय शासनलाइ निरन्तर टिकाइराख्न र गुस्तरीय बालमैत्री वातावरण तयार गर्न रणनीतिक योजनाको विशेष आवश्यकता महशुस गरी बालमैत्री स्थानीय शासन दिगोपनाका लागि पञ्चवर्षिय रणनीतिक योजना तयार गरिएको छ ।
उक्त योजनामा बालबालिकाको क्षमता विकास, गुणस्तरीय स्वास्थ्य, गुणस्तरीय शिक्षा, बालहिंसा न्युनीकरण, घरपरिवार र समुदायको बालमैत्रीको सवालमा क्षमता विकास र विशेष गरी बालअधिकारका चार क्षेत्रहरु बाल बचाउ, बाल संरक्षण, बाल विकास र बालसहभागीका सवालहरुलाइ निरन्तर सम्बोधन गर्ने र बालबालिकाका सवाललाइ स्थानीय तहको नीति तथा कार्यक्रममा संस्थागत गर्ने गरी विविध रणनीति तथा बजेट सहितको योजना बनाइएको छ र सोही अनुसार सुनवल नगरपालिकाले दिगोपनाका लागि कार्य गर्नेछ ।
सुनवलकै परिकल्पनामा बालमैत्री सिकाई केन्द्रको अवधारणा अनुरुप अगाडि बढिरहनु भएको छ र देश विदेशबाट सुनवलमा अध्ययन अवलोकन गर्न आउनेको पनि संख्या ह्वात्तै बढेको छ भनिन्छ नि ?
हजुर, सहि सुन्नुभयो , साविक सुनवल नगरपालिका वि.सं. २०७२ जेष्ठ ३२ गतेका दिन नेपालकै पहिलो बालमैत्री नगरको रुपमा घोषणा भएको थियो । बालमैत्री नगरको पहिचान बनाएसंगै देशका विभिन्न स्थानीय तहहरुबाट के कसरी बालमैत्री बनाउन सकिदो रहेछ भन्ने सिकाइका लागि सुनवल नगरपालिका आउने क्रम निकै वढ्यो । हालसम्म यस नगरमा नेपालको पूर्व मेचि देखि पश्चिम महाकाली सम्मका ९९ ओटा टोली गाउँपालिका÷न.पा.÷जिल्ला समन्वय समिति, विभिन्न संघसंस्था र विदेशबाट समेत अध्ययन अवलोकनको लागि आइसक्नुभएको छ भने बालमैत्री सम्बन्धी सिकाईका लागि निरन्तर आउने क्रम जारी छ ।
सुनवल नगरपालिका, बालमैत्री सिकाइ केन्द्रको रुपमा स्थापित भइसकेको छ , सम्पूर्ण बालमैत्री सम्बन्धी गतिविधि संचालन सहित बालमैत्री घोषणा कार्यमा अनुभवहरु आदनप्रदान गर्ने र विशेष गरी राष्ट्रका विभिन्न स्थानीय तहलाइ बालमैत्री स्थानीय शासनको महत्व, अवलम्बन र घोषणामा गर्नुपर्ने कार्य सिकाउने उद्धेश्यका साथ सिकाइ केन्द्रको छुट्टै भवन नै निर्माण भएको छ र उक्त सिकाइ केन्द्र औपचारिक रुपमा छिट्टै संचालनमा समेत आउनेछ ।