परासी, ४ बैशख । पछिल्लो समय लुम्बिनी विकास कोषले रामग्राम स्तुप क्षेत्रमा चासो देखाउन थालेको छ । नवलपरासीका सर्वसाधरण, जनप्रतिनिधि, प्रशासन, सञ्चारकर्मी लगायतले लामो समय देखि झक्झकाईरहेका बेला लुम्बिनी विकास कोषले अहिले रामग्राममा चासो देखाएको पाईएको छ ।
कोषले अहिले तत्कालका लागि रु दुई करोड बजेट विनियोजन गरेर विकासको काम थालेको छ । जसमध्य रु एक करोड जग्गा अधिग्रहणका लािग छुट्याईएको छ भने रु एक करोड स्तुप क्षेत्रमा पैदलपथ बनाउन विनियोजन गरिएको लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले जानकारी दिए । अहिले रामग्राम स्तुपमा रंगरोगन, सरसफाई लगायतका काम भईरहेको पनि उनले बताए ।

जग्गा अधिग्रहणका लागि बुद्धजयन्ती पछि प्रमुख जिल्ला अधिकारी, नगरपालिकाका मेयर, जनप्रतिनिधि, नापी, मालपोत कार्यालय लगायतका सरोकारवालाहरुसँग बैठक गरी प्रक्रिया थालिने पनि उनले बताए ।
लुम्बिनी विकास कोषले यसपटक रामग्राम स्तुपमा बुद्धजयन्ती मनाउने गरी तयारी पनि गरिरहेको जनाएको छ । कोषका प्रशासकीय अधिकृत चुडामणी भटराईका अनुसार वैशाख १५ गते देवदह, १६ गते रामग्राम र १७ गते लुम्बिनी तथा १८ गते कपिलवस्तु तिलौराकोटमा बुद्धजयन्ती मनाउने गरी तयारी भईरहेको छ ।
लुम्बिनी विकास कोषले वेवास्ता गर्दै आएको रामग्राममा पछिल्लो समय देखाईरहेको चासोलाई सकरात्मक नै लिईएको जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले बताए ।