चितवन, १ साउन । तीन जिल्लाको पवित्र तीर्थस्थले देवघाटधाममा साउने संक्रान्ति मेला सुरु भएको छ । नेपालकै पवित्र तीर्थस्थल समेत रहेको यहाँ साउनको पहिलो दिन साउने संक्रान्तिमा स्नान गर्ने भक्तजनको यहाँ भीड लागेको छ ।
मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेष रूपमा मनाउँछन् ।
संक्रान्तिका लागि बिहानैदेखि यहाँ भक्तजन आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गरिरहेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।
यससगै यहां महिना व्यापी बोल ॐ महोत्सव पनि गरिदै आएको छ । ओम (ॐ) शब्दमा अलौकिक शंक्ति रहेकाले बम शब्दलाई हटाएर बोल ओमको नामबाट महोत्सव गत बर्ष देखि सुरु भएको थियो ।
देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनको आयोजनामा सुरु भएको मेला साउन महिनाभरी सञ्चालन हुनेछ । महोत्सवको आज दिउसो पर्यटन मन्त्री रवीन्द्र अधिकारीबाट आज उद्धघाटन गर्ने कार्यक्रम पनि रहेको छ ।
यस साउन महिनामा ४ वटा सोमबार परेकोले मेलाको झनै महत्व रहेको बताइन्छ । यद्यपी साउनको पहिलो दिन सोमबार नपरेकोले सोमबा भन्दा केहि कम भक्तजनहरुको आएको अध्यक्ष पौडेलले बताए ।
कालिगण्डकी र त्रिशुलीको संगम वेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुनुका साथै चर्म रोगसमेत निदान हुने जनविश्वासका कारण देवघाटधाममा स्नान गर्नेको भीड लाग्ने गरेको हो ।
साउने मेला भर्न देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन् । पहँलो बस्त्र लगाएर खाली खुट्टामै भक्तजन बोल ऊं मेला भर्न आएका छन् ।
साउनको हरेक सोमबार निराहार वर्त बसी बिहान सवेरै स्नान गरेर बेलपत्र तथा गङगाजल शिवमन्दिरमा चढाउने गरिन्छ ।
धर्मशास्त्रमा साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रुपमा समेत लिने गरिएकाले साउनमा पूजाआजा गर्दा पूण्य मिल्ने विश्वास गरिन्छ ।
मेलमा चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, लमजुङ्ग, लगायत भारतका लाखौ भक्तजनहरु जल भर्ना तथा चढाउन आउन् गर्दछन् ।
यस्तै भारबाट समेत खाली खुट्टामा मेला भर्न आउँछन् । साउन महिना भरि गरेर देवघाटमा २ लाख ५० हजार बढी भक्तजनहरुले आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।
आज समाजसेवी तथा पूर्व सांसद मैयाँदेवी श्रेष्ठले विश्वशान्तिका लागि पशुपति मन्दिरमा १५ जना बटुक राखि रुद्री पुजा समेत गरेकी छन् ।
नदीमा पानीको बहाव बढेकाले कुनै घटना नहोस् भनेर व्यवस्थापनका लागि स्वयंसेवक खटाइएको र डुंगासमेत राखिएको समितिले जनाएको छ ।
बाटो, खानेपानी, विद्युत् गायतको पनि व्यवस्थापन भइरहेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए ।
चितवन नवलपरासी र तनहुँको संगममा रहेको देवघाटको सुरक्षाका लागि तीनै क्षेत्रका स्थानीय प्रशासनसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ ।