परासी, २७ श्रावण । यहाँका एक वार्ड अध्यक्षले आफुले पाउने सुविधा वार्डका जेष्ठ नागरिकलाई तिर्थयात्रामा पठाएर खर्च गरेका छन् । रामग्राम नगरपालिका ८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुरले वार्ड अध्यक्षले पाउने पारिश्रमिक र सुविधा विभिन्न सामाजिक कृया कलापमा खर्च गर्दै आएको र यो बर्ष सो सुविधा वापतको रकम खर्च गरेर वार्ड भित्रका १ सय ५० जना जेष्ठ नागरिकलाई तिन दिनका लागि धार्मिक तिर्थ गर्न पठाएका हुन् ।

जनप्रतिनिधिले सुविधा लिएर कर बढाएको आरोप लाग्दै आएको अवस्थामा ठाकुरले आफुले एक्लै सुविधा छोडेर कुनै अर्थ नरहेको बताए । बरु पाउने सुविधा लिएर आफ्नो ब्यतिगत आवश्यकता पुरा गर्नु भन्दा वार्डकै बासिन्दाले आफुलाई चुनाव जिताएर वार्ड अध्यक्ष बनाएको हुदा सो रकम उनिहरुको इच्छा अनुसारको कार्यक्रममा खर्च गरिदिने गरेको सुनाए । आफ्नो घरपरिवार चलाउनका लागि आफ्नै उद्यम ब्यवसाय छ, उनले भने, राज्यबाट पाउने सुविधा जनतामै खर्च गरिदिएको छु ।
तिनै जनताले मलाई स्थानमा पुर्याए,उनले थपे, आफुले पाएको यो बर्षको सुविधा वार्डका जेष्ठ नागरिकलाई तिर्थ यात्रामा खर्च गरि दिए । अघिल्लो बर्षको सुविधा बाढी पिडितलाई राहतमा खर्च गरेका थिए । अघिल्लो बर्ष ठुलाे बाढी आएर डुबान हुदा गाँउमा बालीनाली नष्ट हुनुका साथै कतिपयको घर समेत भत्किएर समस्या आएको थियो । त्यो बेला पनि ठाकुरले कहिँबाट चन्दा सहयोग नउठाई उनले पाउने सुविधामा पनि थप गरेर बाढीपिडितलाई सहयोग गरेका थिए । अहिले तिन लाख भन्दा बढि खर्चेर उनले डेढ सय जनालाई तिर्थ गर्ने अवसर जुराई दिएका छन् । जो सर्बसाधारणका लागि राहत हुने भएको छ ।
उनका अनुसार वार्डका डेढ सय जना जेष्ठ नागरिकलाई भारतको विभिन्न स्थानमा तिर्थ यात्रा गर्न भ्रमणमा पठएका छन् । दुई वटा बसको खर्च र उनिहरुलाई तिन दिनसम्म लाग्ने खाजा,खाना र आवास खर्च दिएर शनिवार विहान भारतका लागि बस प्रस्थान गराएका थिए । ति बसबाट तिर्थयात्रामा जाने जेष्ठ नागरिकले भगवान बुद्धले परिनिर्वाण लिएको स्थान कुशिनगर,अयोध्या,लेहणा माई स्थान,बनइलिया माईको थान,भरतकुण्ड,गुप्तरकुण्ड,गोरखपुर स्थित गोरखनाथ दर्शन,तरकुलहा देवी,रामकोला र इटहिया बोलबंम धाम गरेर फर्कने छन् । कतिपय बिपन्न परिवारले तिर्थाटन समेत गर्न नपाएको बेला वार्ड अध्यक्षले उनिहरुलाई पनि तिर्थाटन गर्ने अवसर मिलाई दिएर प्रशंसनिय कार्य गरेको जिल्ला समन्वय समितिका प्रमुख शिव शंकर रायले बताए ।
जनप्रतिनिधिलाई अहिले राजनीतिक रुपमा नीति निर्माण,विकास निर्माणसंगै आफ्ना ब्यतिmगत लगानी गरी जनताको सेवा गर्ने अवसर मिलेकोमा वार्डअध्यक्ष ठाकुरले त्यसको सदुपयोग गरेको उनले बताए । ठाकुरको यस्तो सराहनिय कार्य अरु जनप्रतिनिधिका लागि पनि उदाहरण बन्न सक्ने उनको भनाई थियो । केही रकम सुविधालाई जोगाएर पुरै जिवन कट्ने होईन, उनले भने, त्यो पनि सुविधा जनतामै खर्च गरिदिएर सधैका लागि स्मरणिय कार्यले जनतामा जनप्रतिनिधिले सधै यादगार रहने छन् ।