मुख्यमन्त्रीका प्रत्यासीलाई मिलाउन एमालेका शीर्ष नेता उदासिन

0
607

राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्य

२६ माघ, काठमाडौं । नेकपा एमालेका शीर्ष नेताले प्रदेशसभा संसदीय दलको नेताका प्रत्याशीहरुबीच सहमतिका लागि देखिने खालको प्रयास नगरेपछि गुटगत आधारमै चुनाव हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालले पार्टीभित्रको गुटगत र जातीय तथा लैंगिक सन्तुलन मिलाउने गरी सहमतिको प्रयास गर्ने अनुमान थियो । पछिल्लो पटक नेता सुवास नेम्वाङले दुवै नेतालाई सहमतिको लागि पहल गर्न आग्रह गरेको स्रोतले जनाएको छ ।

 

तर दुबैले दलको नेता र मुख्यमन्त्रीका दाबेदारहरुले चुनाव लड्ने चाहना व्यक्त गरेको भन्दैसहमतिको लागि चासो दिएनन् । एमालेको बहुमत रहेका प्रदेश १ र ३ मा शुक्रबार दलको नेता चयन हुँदैछ । वाम गठबन्धनको भागवण्डा अनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेको भागमा परेको छ । पाँचको संसदीय दलको नेतामा शंकर पोखरेल चयन भइसकेका छन् भने प्रदेश १, ३ र ४ मा चुनावकै सम्भावना बढेको नेम्वाङले अनलाइनखबरलाई बताए ।

प्रदेश ६ र ७ मा भने मुख्यमन्त्री माओवादीले लिएको छ । प्रदेश ५ को संसदीय दलको नेतामा शंकर पोखरेल र प्रदेश ६ को संसदीय दलको नेतामा यामलाल कँडेल सर्वसम्मत रुपमा चयन भइसकेका छन् । प्रदेश ७ भने टुंगो लागेको छैन ।

मुख्यमन्त्रीका प्रत्यासीहरुलाई मिलाउन आफूले पहल गरे पनि सफल नभएको नेम्वाङले बताए । वाम गठबन्धनको पद बाँडफाँट कार्यदलको संयोजकको हैसियतले नेम्वाङले सहमतिको प्रयास गरेका हुन् । ‘मैले प्रदेश १ का भीम आचार्य र शेरधन राईसँग पनि सहमतिको पहल गरेँ । प्रदेश ३ का अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसँग पनि छलफल गरेँ तर उहाँहरु दुवै पक्ष जित्ने अडानमा हुनुहुन्छ,’ नेम्वाङले अनलाइनखबरसँग भने ।

शेरधन राई र भीम आचार्य (दायाँ)

प्रदेश १ मा संसदीय दलको नेताका लागि भीम आचार्य, शेरधन राई र जीवन घिमिरे प्रतिस्पर्धामा छन् । तीमध्ये राई संस्थापन पक्षका हुन् भने आचार्य झलनाथ खनाल तथा जीवन घिमिरे माधव नेपाल पक्षका हुन् । आचार्य र घिमिरेबीच सहमति गराएर एकजना मात्र उम्मेदवार उठाउन नेपाल पक्षका नेताहरुले बिहीबार दिनभर पनि प्रयास गरेका छन् ।

घिमिरेलाई मन्त्रीको आश्वासन दिएर थमाउने प्रयास भइरहेको छ । तर, घिमिरेले भने आफू मुख्यमन्त्रीको दौडमै रहेको दाबी गरेका छन् । उनले निर्वाचनमा जानुपर्ने अवस्था सृजना भएको खण्डमा संसदीय दलको नेताको लागि आफनो पनि उम्मेदवारी मनोनयन गर्ने बताए । पछिल्ला समय पार्टीभित्र आचार्यको आलोचना बढेको र माथिल्लो तहका नेताहरु पनि सन्तुष्ट नरहेको अनुमान गर्दै नेपाल समूहको बैकल्पिक नेता बन्ने दाउसहित घिमिरेले उम्मेदवारीको घोषणा गरेका थिए । तर, आचार्यलाई सघाउन सचिव योगेश भट्टराई दुई दिनयता पूर्वमा छन् ।

भट्टराईले भने- सहमतिको अन्तिम प्रयासमा रहेका छौं । पार्टीले अहिलेसम्म अवलम्वन गरेको अभ्यास भनेको सिनियारिटीको आधारमा पद बाँडफाट गर्ने छ, त्यसका लागि प्रयास जारी छ ।’

पोलिटब्यूरो सदस्य एवं मोरङ ३ का सांसद भानुभक्त ढकाल, केन्द्रीय सल्लाहकार कमिटी सदस्य राजेन्द्र गौतमलगायत शेरधन राईलाई संसदीय दलको नेता बनाउने लविङमा लागेका छन् । ढकालले १ नं. प्रदेशमा जातिय कलष्टर मिलाएर लानुपर्ने बताए । अहिले जातीय क्लस्टर मिलाएर लान नसकिएमा अन्याय हुने बताउँदै ढकालले सिनियारिटी भन्दापनि सबैको साझा हुने व्यक्ति संसदीय दलको नेता बनाउने प्रयासमा लागेको बताए ।

निर्णायक बन्दै घिमिरे !

जिवन घिमिरे

प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ सिट गरी कुल ५१ सिट जितेको छ । संसदीय दलको नेता चुन्न निर्वाचन भएमा २६ मत आवश्यक पर्छ । विगतमा भएको निकटताको आधारमा प्रदेश संसदमा नेपाल समूहको भारी बहुमत छ ।

नेपाल समूहका २९ जना छन् भने ओली समूहका २० जना देखिएका छन् । २ जनाको समूहगत आबद्धता खुलेको छैन ।

तर, आचार्यको सवालमा माधव नेपाल पक्षका आधा दर्जन सांसद कुनै हालतमा मत नदिने पक्षमा छन् । घिमिरे उम्मेदवार बनिरहँदा मोरङका राजकुमार ओझा, लिलावल्लभ अधिकारीसहित केही सांसदले पनि आचार्यलाई सहजै समर्थन नगर्ने देखिएको छ ।

त्यसबाहेक घिमिरेले अन्य कति मत प्रभावित गर्न सक्छन् भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । स्पष्ट कुरा के हो भने घिमिरेको समर्थन जता भयो उतैको पल्लाभारी हुने निश्चित देखिएको छ ।

आचार्य समूहले आफ्नो पक्षमा मत दिने बनाएको सूचीमा समानुपातिक सांसदको संख्या बढी छ । तर आचार्यको रुखो छवि र स्थानीय निर्वाचनको समयमा उम्मेदवारलाई टिकट बाँड्दा पैसा लिएको आरोप लागेपछि उनीविरुद्ध यहाँका नेता आक्रोशित थिए ।

पार्टीको प्रदेश संयोजक रहेका आचार्यले प्रदेशसभामा टिकट वितरण गर्दै आफ्नो गुटकालाई प्राथमिकता दिएकोले संख्यात्मक रुपमा संसदीय दलमा पनि नेपालको स्पष्ट बहुमत छ ।

मुख्यमन्त्रीका दावेदार घिमिरे भने राईलाई समर्थन गर्दै सभामुख पद हात पार्ने प्रयासमा रहेको दावी पनि कतिपय एमाले नेताहरुले गरेका छन् । त्यो अवस्था आयो भने राईलाई प्रतिष्पर्धामा बल पुग्नेछ । शेरधन राईको पक्षमा प्रत्यक्ष निर्वाचित सांसद बढी छन् ।

प्रदेश ३ मा संस्थापनको उम्मेदवार को ?

प्रदेश ३ मा मुख्यमन्त्रीका आकांक्षीहरु आधा दर्जन छन् । तर, अन्तिममा संस्थापन पक्ष र माधव नेपाल पक्षबाट एक एकजनामात्र उम्मेदवार हुने देखिन्छ । संस्थापन पक्षबाट राजेन्द्र पाण्डे र डोरमणि पौडेलमध्ये एकजनालाई अघि सार्ने सम्भावना रहेको एक नेताले बताए । माधव नेपाल पक्षबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार बनेकी छन् ।

प्रदेश ३ मा एमालेका ५८ सांसद छन् । ५८ मध्ये ओली पक्षमा ३४ जना रहेको दावी गरिएको छ ।

महिला र पार्टीको सिनियर नेता भएका कारण अष्टलक्ष्मीले ओली समूहको मत पनि तान्न सक्ने अनुमान नेपाल पक्षको छ । यद्यपि ओली पक्षबाट को उम्मेदवार बन्ने भन्ने कुराले ती मत निर्धारण हुने एक नेताले बताए । ओली पक्षबाट डोरमणि पौडेल, राजेन्द्र पाण्डे, केशव स्थापित, सानुकुमार श्रेष्ठ र कैलाश ढुंगेलले मुख्यमन्त्री दाबी गरेका छन् । अन्तिममा डोरमणि वा पाण्डेमध्ये एक उम्मेदवार बन्न सक्ने स्रोतले जनाएको छ ।

प्रदेश ४ मा संस्थापन पक्षकै प्रतिस्पर्धा

 

प्रदेश ४ मा एमाले संसदीय दलको निर्वाचन माघ २८ गते हुने भएको छ । त्यहाँ मुख्यमन्त्रीका लागि पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक किरण गुरुङको प्रतिस्पर्धा छ । गुटका हिसाबले पार्टीभित्र दुवै संस्थापन पक्षका हुन् । किरण नवौं महाधिवेशनमा ओलीको उपाध्यक्ष उम्मेदवार बनेका थिए भने पृथ्वीसुब्बा सचिव उम्मेदवार बनेर जितेका हुन् । दुई गुरुङमध्ये एक छान्न ओलीलाई सकस परेको छ । उनले गत साता दुवैसँग अलग-अलग छलफल पनि गरेका थिए । किरणलाई मुख्यमन्त्री बनाउन ओलीमाथि उपाध्यक्ष बामदेव गौतमको पनि दबाव छ ।

प्रदेश ४ मा ६० सिटमध्ये एमालेका २७ सांसद छन् । त्यसमा माधव नेपाल पक्षका दुईजनामात्र छन् ।

प्रदेश २ र ७ मा चुनावको मिति तोकिएन

प्रदेश ७ मा संसदीय दलको नेताको चुनाव हुने भएको छ । त्यहाँ माओवादीले मुख्यमन्त्री पाएको छ ।

संसदीय दलको नेताका लागि संस्थापन पक्षले डडेलधुराका पठानसिंह बोहोरालाई अघि सारेको छ । माधव नेपाल पक्षबाट प्रकाश शाह, दीर्घ सोडारी र तारा लामा तामाङमध्ये एक उम्मेदवार हुनेछन् ।

यसैबीच बरिष्ठ नेता माधव नेपाल बिहीबार कैलाली पुगेका छन् । दलको नेताका दाबेदारमध्ये सोडारी र प्रकाश शाहले नेपाललाई भेटेको बताइएको छ । उता संस्थापन पक्षले दलको नेतामा बोहोरा र सभामुखमा बझाङका अर्जुन थापालाई अघि सारेको स्रोतले जनाएको छ ।

प्रदेश ७ मा ५३ सदस्यीय संसदमा एमालेका २५ सांसद छन् । तीमध्ये संस्थापन पक्षमा १४ जना रहेको दावी ओली पक्षको छ । माधव नेपाल पक्षले भने भीम रावलका कारण आफ्नो पक्षकै बहुमत हुने दाबी गरेको छ । दलको नेता चयनको मिति भने तोकिएको छैन ।

प्रदेश २ मा पनि निर्वाचनबाटै दलको नेता चयन हुने भएको छ । प्रदेश संयोजक सत्यनारायण मण्डल र पोलिटव्यूरो सदस्य शत्रुघन महतोबीच सहमति नभएपछि चुनाव हुने भएको हो । तर, चुनावको मिति भने तय भएको छैन । प्रदेश २ मा एमालेका २१ सांसद छन् । तीमध्ये महताको पक्षमा १३ जना रहेको बताइएको छ । साभार :अनलाइनखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here