गैंडाकोट, ३१ श्रावण । पुर्वी नवलपरासीको गैंडाकोटमा उत्पादित दुधको बजारीकरणमा मुख्य समस्या रहेको गैंडाकोटका दुग्ध सहकारीका प्रतिनिधी तथा दुग्ध व्यवसायीहरुले बताएका छन् ।
उत्पादित दुधको लागत बढि तथा मुल्य कम परेको समेत उनिहरुले बताएका छन् । विजय एफएम १०१.६ गौरबमय १५ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित “दुग्ध व्यवसायको प्रर्वधनमा मिडियाको भूमिका” विषयमा दुग्ध सहकारी तथा दुग्ध व्यवसायीसंगको अन्र्तक्रिया कार्यक्रममा उनिहरुले बजारीकरणको समस्या रहेका बताएका हुन् ।
गैंडाकोटमा ६ वटा दुग्ध उत्पादक सहकारी संस्था रहेका छन् । यी सहकारीमा दैनिक २८ हजार लिटर दुध उत्पादन हुने गर्दछ । स्थानिय बजारमा २ हजार लिटर दुध खपत हुने गरेको भएपनि अन्य दुग्ध विकास संस्थान तथा कम्पनीहरुमा नै निर्भर पर्नु परेको छ ।
उनिहरुले दुग्धजन्य क्षेत्रमा केही विचौलीयाका कारण वदनाम हुनुपरेको समेत बताएका छन् । हाल यी सहकारीले दुधको खरिद विक्रिको व्यवस्था मिलाएर कृषकको आयमा वृद्धी गर्दै थोरै दुधको आपुर्ती गरेको भएपनि दुध कच्चा पदार्थ भएकाले चुनौती वढीरहेको बताएका छन् । अब सवै सहकारी मिलेर अघि वढ्नुपर्ने उनिहरुको भनाई थियो ।
कार्यक्रममा गैंडाकोट एकिकृत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष खगराज सापकोटा, शिवशक्ती दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका सचिव जिवनाथ कंडेल, नवज्योती दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामचन्द्र आचार्य, मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका उपाध्यक्ष प्रेमप्रसाद सापकोटा, अमरापुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सदस्य भुपेन्द्र भण्डारीको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण विजय एफएफका समाचार प्रमुख तथा कार्यक्रम संयोजक प्रेम क्षेत्रीले गर्नुभएको थियो ।