परासी, १३ पुष । नेपाली गण्डक नहरमा पानी आएपछि हिउँदेबाली सिँचाई गर्न किसानलाई सहज भएको छ । हिँउदे बाली सिँचाईका लागि भारतीय पक्षले गण्डक नहरमा पानी छोडेपछि गहुँ मसुरो तोरी, आलु लगायतका तरकारी बाली सिँचाई गर्न किसानहरुलाई निकै सहज भएको बताउछन् । नेपाल–भारत गण्डक सम्झौता अनुसार पानी नेपालको भएपनि पानीमाथि कब्जा भने भारतीय पक्षको रहेकाले उनीहरु संग सिजनल खेती सिँचाईका लागि नेपाली नहरमा पानी छोडन आग्रह गरिदै आइएको छ ।

प्रत्येक बर्ष भारतीय पक्षले नेपाली नहरमा ढिलो पानी छोडदै आएकाले नेपाली किसानहरु सिँचाईका बेला नहरमा पानी नपाउँदा चर्काे शुल्क तिरेर बोरिङ्गबाट खेत सिँचाई गर्दै झन्झट व्यवहोर्दै आएका थिए तर यसबर्ष नेपाल गण्डक पश्चिम नहर सिँचाई व्यवस्थापन कार्यालय र जल उपभोक्ता समिति नवलपरासीको पहलमा भारतीय पक्षले भारतीय नहर भन्दा छिटो नेपाली गण्डक नहरमा पानी छोडेको कार्यालय प्रमुख रन्धीर कुमार शाहले जानकारी दिनु भयो । कार्यालय प्रमुख शाहका अनुसार ‘‘हाम्रो अनुरोधमा भारतीय पक्षले नहरमा गत मंसिर २६ गते नै पानी छोडयो जसले यहाँका किसानहरुलाई सिँचाई गर्न निकै सहजता भएको जानकारी दिनु भयो ।”
पानी मुल नहर, शाखा र माइनरहरुमा पानी पुगेपनि खेत लेबलका अधिकांश संरचनाहरु ध्वस्त र विग्रीएकाले खेतमै पानी पुग्न सकेको छैन । यस्तो संरचनाहरुको मर्मत सम्भारका लागि कार्यालय लागी परेको र यस तर्फ सम्बन्धित पालिका र किसानहरुको पनि ध्यान पुग्न जरुरी रहेको प्रमुख शाहले आग्रह गर्नु भयो । जुन क्षेत्रको खेतमै नहरको पानी पुगेछैन त्यस क्षेत्रको नहर, शाखा र माईनरमा पानी पुगेकोमा किसानहरु पम्पिङ्गसेटबाट पानी तानी खेत सिँचाई गरिरहेको कार्यालयले जनाएको छ ।
यस नहरले बर्दघाट, रामग्राम गरि २ नगरपालिका र सुस्ता, प्रतापपुर, सरावल, पाल्हीनन्दन गरि ४ गाउँपालिकाको कुल १० हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाई हुदै आएको छ । यस गण्डक कमाण्ड क्षेत्रमा पुर्वदेखि पश्चिमसम्म ३२ किलोमिटर लामो १ वटा मुल नहर, ३ वटा शाखा नहर, ६ वटा माईनर नहर, २६ वटा एमसी, ६ वटा एस एफ डि र १६२ वटा एमएसडी रहेको छ । यस बाहेक खेतमा सजिलै पानी पुग्ने गरि सयांैको संख्यामा नाला कुलोहरु पनि छन तर अधिकांश खेत लेबलका संरचनाहरु ध्वस्त भएका र अधिकांश किसानहरु आफै कुलोनालो मिची खेत बनाई सकेकाले खेतमा नहरको पानी पुग्न नसकेको जल उपभोक्ताका अध्यक्ष हैदर अलि मोमिनले जानकारी दिनु भयो ।
विगत लामो समयदेखि नहरको वृहद सरसफाई तथा मर्मत सम्भार नभएको र नहरका गेट, साईफन, कुलो लगायतका संरचनाहरु जिर्ण भएर भत्किएकाले नहरमा आवश्यक मात्रामा पानी नआउने कारणले खेतको सिँचाईबाट किसानहरु बन्चित हुने गर्दथे । तर यसबर्षदेखि नहरमा वृहद सरसफाई र मर्मत सम्भारको कार्यले नहरमा भरपुर पानी आएपछि किसानहरु हर्षित भई सिँचाई गरिरहेका छन् ।
नेपाल सरकारले ६० करोड रुपैयाको बजेटमा गतबर्षदेखि नेपाल गण्डक पश्चिम नहर सिँचाई प्रणालीलाई व्यस्थित गर्दै नहरको वृहद सरसफाई तथा मर्मत सम्भार कार्य गरिरहेको कार्यालयले जनाएको छ ।
यता कार्यालयले, विभिन्न पालिका तथा स्थानिय जनताहरुलाई गाउँघरको ढल नहरमा नमिसाउन र फोहर नफाल्न आग्रह गरेको छ । नहरमा ढल मिसाउदा र फोहार फाल्दा नहरको गेट थुनिएर जाने उता किसानहरु सिँचाई गर्दा खेतमा फोहोर र ढलका सायनयुक्त पानी पुग्नेले बालनाली उत्पादनमा हस आउने गर्दछ । त्यस्तै कार्यालयले नहरलाई जथाभावी नकाटन र कुलो नमिच्न आग्रह गरेको छ ।