परासी, २८ भदौ । मदरसा मदिनतुल ओलुम नवलपरासीले कक्षा १० पास भएका ११ जना छात्राहरुलाई शैक्षिक प्रमाण पत्र वितरण गरेको छ । नेपालकै पहिलो कक्षा १० सम्म मान्यता प्राप्त उक्त मदरसाबाट एस ई ई पास गरेका ११ जना छात्राहरुलाई सोमबार एक कार्यक्रम बिच मार्कशिट र शैक्षिक सामाग्रीहरु वितरण गरेको हो । मदरसा मुस्लिम समुदायको उर्दुअरबी, धार्मिक ज्ञान र संस्कार सम्बन्धित शिक्षा दिने एक धार्मिक विद्यालय हो । उक्त मदरसा जिल्लाको प्रतापपुर गाउँपालिका वडा ६ मा अवस्थित छ ।

मदरसा व्यवस्थापन समितिका अध्यक्ष साकिर अंसारीको अध्यक्षतामा भएको शैक्षिक प्रमाण पत्र तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथि पुर्वमन्त्री सांसद ह्देश त्रिपाठीले कक्षा १० पास गरेका ति ११ जना छात्राहरुलाई शैक्षिक प्रमाण पत्र वितरण गर्दै बधाई समेत ज्ञापन गर्नु भयो ।
नेता त्रिपाठीले, नेपालको शिक्षा प्रणाली धेरै अगाडी बढिसकेको र नेपालको साक्षरता रेसियो पनि निकै अगाडी बढिरहेको बताउनु भयो । नेता त्रिपाठीले नेपाल अधिराज्यकै यो पहिलो मदरसा हो जसले कक्षा १०,११ र १२ सम्मको अध्यापन गराउने अवसर पाएको बताउदै मदरसाहरु पनि नेपाली पाठयक्रमको मुलधारमा आई शिक्षण गराई रहेकाले यस शिक्षाले विद्यार्थीहरुलाई धार्मिक क्षेत्र तथा उनीहरुको जिवनमा पनि निकै व्यवहारिक रहने विश्वास व्यक्त गर्नु भयो ।

मदरसाबाट कक्षा ८ पछिको उच्च शिक्षा हासिल गर्न बाध्य भएर भारत जाने बाध्यात्मक अवस्थाको अन्त्य भएको र अब यसै मदरसाबाट पनि उर्दुअरबी भाषा सहित उच्च शिक्षा प्रदान गर्न सक्ने सहज अवस्था पाएको आफुँहरु निकै खुशी भएको मदरासका प्रधानाध्यापक आमिरआजम अंसारीले जानकारी दिनु भयो । यस मदरसाबाट धार्मिक तथा भाषिक शिक्षा तर्फबाट कुरान, उर्दु, अरबी, दिनियात सहित अंग्रेजी, विज्ञान, गणित र सामाजिक अध्ययन विषयहरुको पठन पाठन गराउदै आइएको प्रअ अंसारीले जानकारी दिनु भयो ।
निकै लामो परिश्रम र लगनशिता पछि उक्त मदरसाले मुस्लिम छात्र छात्राहरुलाई कक्षा १० र ११, १२ सम्मको अध्यापन गराई उनीहरुको भविष्यलाई उज्जवल बनाउने सपना साकार गर्ने अवसर यस मदरसाले पाएको छ । गत बर्ष कक्षा १० का अनुमति प्राप्त गरि एस ई ई मा सहभागि हुने यो मदरसा नेपालकै पहिलो मदरसा रहेकोले यस जिल्लाका मुस्लिम समुदायहरु निकै उत्साही भएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि प्रतापपुर गाउँपालिका कार्यबाहक अध्यक्ष अन्जु कुमारी चौधरीले उत्र्तिण विद्यार्थीहरुलाई बधाई ज्ञापन सहित अझै उच्च शिक्षा हासिल गर्न उत्प्रेरित गर्दै यस मदरसालाई आवश्यक सहयोग समेत गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
कार्यक्रममा अतिथि पुर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खान, प्रतापपुर गाउँपालिका वडा ८ का अध्यक्ष कादिर अलि अंसारी, समाजसेवी करम हुसैन अंसारी लगायतले यस मदरसाको प्रशंसा गर्दै यस मदरसाको चौतर्फि विकासका लागि आवश्यक सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा वडा ८ का अध्यक्ष कादिर अलि अंसारीले मदरसाको भौतिक विकासका लागि ५१ हजार १ सय ११ रुपैया आर्थिक सहयोग समेत गर्नु भयो । कार्यक्रममा मदरसामा अध्ययनरत छात्राहरुले आफनो प्रस्तुती समत गरेका थिए ।

मदरसा, उर्दु अरबी भाषा, ईस्लाम धर्म र यसका कानुनी प्रावधान तथा संस्कारका विषयमा अध्ययन गराउने विद्यालय रहेपनि राज्यले यस्ता धार्मिक विद्यालयहरुलाई पनि मुलधारमा ल्याई व्यस्थित गर्दै उर्दुअरबी भाषा र धार्मिक ज्ञान संगै मान्छेको जिवनमा आवश्यक शिक्षा, अंग्रेजी, विज्ञान, गणित, सामाजिक र नेपाली जस्ता विषयहरु थपेको छ । धार्मिक र व्यवहारिक शिक्षालाई संगसंगै लैजाने उद्देश्यले राज्यले नेपालका मदरसाहरुलाई पनि क्रमशः कक्षागत अनुमति दिदै अध्यापन गराउदै आएको छ ।