परासी, १३ भदौ । बाढीले डुबानमा परेका आधादर्जन बढि सरकारी कार्यालयहरुको सेवा आज बन्द छ । पश्चिम नवलपरासीमा बाढीले डुबानमा परि अधिकांश सरकारी कार्यालयहरुको महत्वपुर्ण कागजात तथा कम्प्युटर लगायतका मेसिनरीहरु भिजेर विग्रेकाले ति कार्यालयहरुबाट तत्कालै सेवा दिन असमर्थ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञानकेन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, निर्वाचन कार्याल, नापी कार्यालय, शिक्षा समन्वय ईकाई कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन लगायतका कार्यालयहरुको सेवा आज बन्द छ ।
गत शुक्रबार अविरल बर्षाका कारण जिल्लाको सदरमुकाम परासीमा आएको भिषण बाढीले परासी बजार पुरै डुबानमा परेको थियो । त्यसैबाढीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना व्यारेक पनि डुबानमा परेको थियो । त्यस्तै कृषि ज्ञान केन्दं्र, घरेलु तथा साना उद्योग कार्यालय, स्वास्थ्य कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, शिक्षा समन्वय ईकाई कार्यालयल, नापी कार्यालय, निर्वाचान कार्यालय, विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायतका करिब एक दर्जन सरकारी कार्यालयहरु डुबानमा परेका थिए ।
डुबानमा परेका अधिकांश कार्यालयहरुको महत्वपुर्ण कागजातहरु भिजेका छन् भने कम्प्युटर, ल्याप्टप, प्रिन्टर, फोटोकपी, स्क्यानर, लगायतका मेसिनहरु पनि भिजेर विग्रेका छन् । त्यस्तै अफिस टेबल, कुर्ची, सोफा, दराज, फाईलहरु, नेटवकिङ्गका वायरहरु पनि भिजेका छन् भने कर्मचारीहरु बस्ने अवासका खाट र ओछयान, खाद्यान्न कपडालत्ताहरु समेत भिजेको कृषि ज्ञानकेन्द्रका निमित्त प्रमुख सन्तोष कुमार चौधरीले जानकारी दिनु भयो । केहि कार्यालयहरुमा भौतिक क्षति समेत भएको छ ।
शुक्रबार राती २ बजेको समयमा झरही नदी र रावणखण्डा खोला ओभरफ्लो भई सदरमुकाम परासी बजारमा एक्कासी बाढी पसेकाले अधिकांश कार्यालयहरु आफनो महत्वपुर्ण कागजात तथा कम्प्युटर, ल्यापटप लगायतका आवश्यक उपकरणहरु सुरक्षित गर्न नसिकएकोले भिजेको विग्रेको हो ।
बाढी संगै आएको हिलोले कार्यालयमा पसेर पुरै बर्बाद बनाएको छ । आज कार्यालयमा भिजेका कागजातहरु सुकाउदै सुरक्षित गरिदै छ भने बाढीले भिजी विग्रेका कम्प्युटर, ल्याप्टप, प्रिन्टर लगायतका उपकरणहरु मर्मत गराउदै कार्यालयको वृहद सरसफाई समेतका कार्यहरु भैरहेकाले आज डुबानमा परेका अधिकांश कार्यालयहरुको सेवा बन्द रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो । सेवा बन्दका कारण सेवाग्राहीहरुमा पर्न गएको असुविधा र क्षति प्रति क्षमायाचना गर्दै प्रजिअ मिश्रले एकदुई दिन भित्रै ति कार्यालयहरुको सरसफाई तथा उपकरणहरु मर्मत गराएर पुनः सेवा सुचारु गराईने बताउनु भयो ।
बाढीले परासी बजारका ५ सय बढि घरहरु डुबानमा परेका थिए भने सय बढि पसल र आधा दर्जन उद्योगहरु पनि डुबानमा परि कराडौंको क्षति भएको अनुमान गरिएको छ । बाढीले सरकारी कार्यालय एवं स्थानियहरुको मोटरसाईकल र सवारी साधानहरु समेतमा पानी पसी विग्रेर मर्मत कार्य गराउदै आएका छन् ।