काठमाडौं– सांसद हेम कुमार राई आगामी पुसमा ३५ वर्ष पुग्दैछन्। उनी प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने कान्छामध्येका एक सांसद हुन्। सोलुखुम्बुमा पूर्वमन्त्री तथा कांग्रेस नेता बलबहादुर केसीलाई पराजित गरेर तत्कालीन माओवादी केन्द्रबाट उनी विजयी भएका हुन्। हाल नेकपाका केन्द्रीय सदस्य समेत रहेका उनीसँग ‘विश्व युवा दिवस’का अवसरमा नेपाल लाइभका लागि डिबी खड्काले गरेको संवादः
अन्तर्राष्ट्रिय युवा दिवसको यस वर्षको थिम नै ‘सेफ स्पेस फर युथ’ हो। नेपाली राजनीतिमा युवाका लागि स्थान कत्तिको सुरक्षित छ?
युवाका लागि निकै कम ठाउँ छ। राजनीतिमा युवाहरुको भूमिका हुन्छ तर अवसरका लागि अत्यन्तै न्युन मौका दिइन्छ। नेपालका अन्य सबैजसो क्षेत्रमा पनि युवा प्राथमिकतामा परेका छैनन्। जताततै पाका मान्छे हाबी छन्।
राजनीतिमा युवाले ठाउँ बनाउन नसक्नुको कारण हस्तक्षेप गर्न नसकेकाले कि विश्वास जित्न नसकेकाले हो?
हामी युवा राजनीतिज्ञले चाहिने जति हस्तक्षेप गर्न नसकेकै हो। अहिले राजनीतिमा रहेका युवाहरुमा असंगठित पाराले जथाभावी विरोध गर्ने प्रवृत्ति छ। युवाहरु संगठित भएर सशक्त रुपमा आफ्नो स्थानको खोजी गरिरहेका छैनौं। नेतृत्व तहले युवामाथि विश्वास गर्न अझै आनाकानी गरिरहेका पाइन्छ। परम्परागत सोच र दृष्टिकोणबाट हाम्रो नेतृत्व उम्किन सकेको छैन। उनीहरु आफू युवा हुँदाको अवस्थालाई हेरेर अहिलेका युवालाई मूल्यांकन गर्छन्। जुन सर्वथा गलत हुन जान्छ। किनभने त्यो समयका युवा र अहिलेका युवामा आकाशपाताल फरक छ। हुर्काइ र वातावरणले नै अहिलेका युवा स्मार्ट छन्।
तपाईंहरु संसद र पार्टीमा रहेका युवा किन संगठित हुन नसक्नु भएको त?
हामी सबैको दृष्टिकोण र बुझाइ केन्द्रित हुन सकेका छैन। त्यसैले युवा राजनीतिज्ञहरु विभाजित छौं। खासगरी अहिले हामी युवा राजनीतिज्ञहरु संघर्षको चरणमा छौं। त्यसैले आफूले केही हासिल गर्नका लागि कुनै न कुनै नेताको पक्ष लिनुपर्ने हुन्छ।
हरेक राजनीतिक पार्टीमा गुट र लाइन छन्। हिजो सामन्ती शासकहरुले जसरी अरुलाई फुटाएर राजनीति गर्थे, अहिले गुटका संरक्षक नेताहरु त्यसै गरिरहेका छन्। नेतृत्व तहमा युवाहरुलाई फुटाएर राजनीतिक लाभ हासिल गर्ने प्रवृत्ति देखिएको छ। त्यसैले युवाहरु एकै ठाउँ आउनै सकिरहेका छैनौं।
प्रतिनिधिसभामा टिकट पाउँदा पनि ‘सिनियारिटी’ त हेरियो होला। युवा उमेरको तपाईंले कसरी टिकट प्राप्त गर्न सफल हुनुभयो?
मैले युवा भएर होइन, सिनियर भएर टिकट पाएको हो। १५ वर्षको उमेरदेखि सक्रिय राजनीतिमा छु। अहिले राजनीति गरेकै २० वर्ष भयो। तत्कालिन माओवादी केन्द्रको जिल्ला इन्चार्ज र पोलिटब्युरो सदस्य थिएँ। यही सिनियारिटी मेरो टिकट पाउने योग्यता बन्यो। म राजनीतिमा सिनियर थिइनँ भने क्षमताको र योग्यताको मूल्यांकन गरेर अवसर दिइनेवाला थिएन।