परासी, १७ असार । स्वास्थ्य कार्यालय नवलपरासीले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने स्वास्थ्य सम्बन्धित आधारभुत तालिम प्रदान गरेको छ । स्वास्थ्य कार्यालयले पाल्हीनन्दन गाउँपालिका वडा ४ को सभाहलमा संचालन गरेको १० दिने उक्त आधारभुत तालिम विहिवार सम्पन्न भएको हो । कार्यालयले रामग्राम नगरपालिकाबाट ७ जना र पाल्हीनन्दन गाउँपालिकाबाट १३ जना गरि कुल २० जना महिला स्वास्थ्य स्यवंसेविकाहरुलाई स्वास्थ्य सम्बन्धि १० दिने आधारभुत तालिम प्रदान गरि एक कार्यक्रमबिच प्रमाण पत्र समेत प्रदान गरेको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पोख्रेलको अध्यक्षतामा उक्त राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्यवंसेविकाहरुको लागि १० दिने आधारभुत तालिम सम्पन्न भएको हो । तालिममा सहभागि महिला स्वयंसेविकाहरुलाई स्वास्थ्य कार्यालय प्रमुख कृष्ण प्रसाद पोख्रेल, पाल्हीनन्दन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धर्मजित पटेल, सनई स्वास्थ्य चौकी ईन्चार्ज हरिशंकर गुप्ता, गेरमी स्वास्थ्य चौकी ईन्चार्ज राजेश गुप्ता, रम्पुरवाँ स्वास्थ्य चौकी ईन्चार्ज सुर्यनारायणले स्वास्थ्यका आधारभुत ज्ञान र प्राथमिक उपचार सम्बन्धित प्रशिक्षण दिएका थिए । तालिममा सहभागि उपमा हरिजन, मनोर्मा चौधरीले यो तालिम निकै लाभदायि रहेको र यस तालिमबाट स्वास्थ्य सम्बन्धी धेरै ज्ञानका कुरा सिकिएकोले आगामी दिनमा कार्यगर्न थप उर्जा र हौसला मिलेको थजानकारी दिए ।

तालिम समापन कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख पोख्रेलले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्ने र समुदायमा स्वास्थ्य जनचेतना फैलाउदै विभिन्न रोगहरुबाट जोगिन सचेत गराउने कार्यमा क्रियाशिल भई कार्य गर्ने सुझाव दिनु भयो । कार्यालय प्रमुख पोख्रेलले महिला स्वयंसेविकाहरुलाई स्वास्थ्य कार्यालयबाट समुदायमा दिईने सेवा तथा खोप लगायतका कार्यहरुमा पनि सघाउन र समुदायमा स्वास्थ्य सम्बन्धी जनचेतना जगाउन आग्रह गर्नु भयो ।
समापन कार्यक्रममा पाल्हीनन्दन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धर्मजित पटेल, स्वास्थ्य कार्यालयका लेखा अधिकृत नारायण भट्टराई लगायतले यहाँका जनताहरुलाई स्वास्थ्य प्रति सचेत गराउने विभिन्न रोगबारे जनचेतना जगाउने र यसबाट बच्ने उपाय समेत जनताहरुलाई सिकाउने आग्रह गरे । त्यसैगरि स्वास्थ्य कार्यालयकै आयोजनामा प्रतापपुर गाउँपालिकामा पनि स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधारभुत तालिम दिइएको छ । तालिम प्रतापपुर गाउँपालिका कार्यावाहक अध्यक्ष अन्जु कुमारी चौधरीको प्रमुख आतिथ्यतामा विहिवारै सम्पन्न भएको छ ।
