उमेश बि.क / नवलपरासी ,४ असार। बाढीको उच्च जोखिममा रहेको पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ मा विपदका समयमा हुन सक्ने क्षति र त्यसको जोखिम न्यूनिकरणका लागि शुक्रबार अत्यावश्यक खोज तथा उद्धार सामाग्री हस्तान्तरण गरिएको छ ।
सरावल गाउँपालिकाको सहयोगमा सरावल ६ रामपुर खडाैनामा अवस्थित अलहुदा संस्था (मानव सेवा संस्था ) मातहतमा रहने गरि उद्धार सामाग्री गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले हस्तान्तरण गर्नुभएको हो ।
बाढीपीडित क्षेत्रमा दुख पिडामा परेका नागरिकहरुको राहत उद्दारका लागि त्रिपाल १० थान , रबर बोट( डुङ्गा) १ थान ,लाईफ ज्याकेट ८ थान, हेलमेट ८ थान,गम्बुट ४ सेट, टर्चलाईट ७ थान, रेनकोट ५ थान र १ थान टिनकाे बाकस लगायत विभिन्न राहत उद्दार सामाग्रीहरु अलहुदा मानव सेवा संस्थालाई हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेलले जानकारी दिनुभएको हाे।
विपद प्रतिकार्यमा संलग्न जनशक्तिलाई स्रोत साधनयुक्त बनाई क्षति न्युनिकरण गर्ने उद्धेश्यले सामाग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बताउनुभयो ।
खोज तथा उद्धार सामाग्रिको अभाव हुँदा वाढीका कारण डुवान तथा जोखिममा परेका व्यक्ति वा परिवारको समयमा उद्धार गर्ने नसकिएको स्थानीयकाे यस अघिको गुनासो थियो । विगतमा सामाग्रि अभाव भएपनि यस पटक प्रयाप्त सामाग्रि उपलब्ध गराइएका कारण बाढीबाट हुन सक्ने क्षति घट्नेमा अध्यक्ष चाैधरीले विश्वास व्यक्त गर्नुभयो । उँहाले भन्नुभयो‘वितरण गरिएको सामाग्री अझै अपुग भएको खण्डमा ,त्यसलाई छिट्टै पुरा गर्छाैं ।’
त्यस्तै गाउँपालिका उपाध्यक्ष उत्तमा रायले विपद प्रतिकार्यमा खटिने टाेलिले हस्तान्तरण गरिएको सामग्री सहि तरिकाले सदुपयोग गरि यसकाे सुरक्षामा विशेष ध्यान दिन अनुरोध गर्नुभएको हाे ।
उद्धार सामाग्री समाजसेवी घनश्याम चाैधरी तथा स्थानीय जनताकाे राेहवरमा अलहुदा संस्था (मानव सेवा संस्था ) का अध्यक्ष अताउर रहमान चुरीहारलाई हस्तान्तरण गरिएको हाे ।