🔹उमेश बिक-
परासी ,३ असार। पश्चिम नवलपरासीमा साेमबार दिउँसोदेखि परेको अबिरल बर्षाका कारण सरावल गाउँपालिका र पाल्हीनन्दन गाउँपालिका १ शंकरपुर तथा प्रतापपुर र सुस्ताका केही भुभाग जलमग्न भएका छन् ।
वर्षाको पानीले निकास नपाएर गाउँहरु डुबानमा हुँदा स्थानीयले सास्ती भाेग्नु परेको छ ।
यसैगरी सरावलकाे वडा नं. ६ मा करिब ४३ घर (पुसाैलि गुज्जर टाेल ७ घर , खडाैना २१ घर मधवलिया १२ घर, नाैडिहवा ३ घर ) तथा वडा नं. ७ मा १० घर तथा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ शंकरपुरमा ८ घर बिस्थापित भएको स्थानीय गाेबरी यादवले जानकारी दिए ।
जनप्रतिनिधिहरुले दीर्घकालीन समाधानको उपाय अपनाउन नसक्दा आफुहरु सधैंभरि बाढीको त्रासमा बस्नुपरेको स्थानीय लक्ष्मिकान्त चाैधरीले बताए ।
गाउँ तथा बाटोमा पनि घुँडाभन्दा माथि पानी पुगेकाले स्थानीय समस्यामा परेका छन् । घरभित्र पानी पस्दा अन्न र पशुचौपाया जोगाउन धौधौ परेको सरावल ६ का मुबारक धुनियाले बताएका छन । करिब ३ दिनदेखि बाढी गाउँघरमा पस्दासमेत समस्या बुझ्न कोहिपनि नआएकाे र सम्बन्धित वडाध्यक्ष बेखबर रहेकाे घनश्याम चाैधरीले बताउँछन् ।
गाउँमा पानीको कारणले गर्दा बिषालु सर्प तथा किरा फट्याङ्ग्रा बढेकाे लक्ष्मिकान्त चाैधरीले बताए । लगातार वर्षाको कारण पानीको बहाव बढ्दै गएपछि आसपासका मानिसहरु त्रसित भएका छन् । जिल्लाको प्रतापपुर, सरावल, पाल्हिनन्दन र सुस्ता गाउँपालिका बासिन्दाहरु सधैं बाढी र प्राकृतिक विपद्को जोखिममा रहेका छन् ।
साे स्थानका केहि बस्ती डुबानमा परेको भएपनि अहिलेसम्म धनजनको क्षति नभएको स्थानीयले बताए ।