सुरेश यादव–
परासी, ३० जेठ । पश्चिम नवलपरासीमा एक हप्ताका लागि पाँचौ पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जेठ ३१ गते राती १२ बजेदेखि असार ७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ ।
जिल्लामा कोरोना संक्रमण दर घटेसँगै निषेधाज्ञा केही खुकुलो बनाइएको छ । अब हरियो तरकारी, फलफूल, खाद्यन्न, दुध, माछा÷मासु, अण्डा, एग्रोभट, विउविजन, रासायनिक मल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने पसल व्यवसायहरु मात्र विहान ५ देखि दिउँसो २ बजेसम्म खोल्न पाइने निर्णय भएको छ । तर हाटबजार, मण्डी जस्ता भिडभाड हुने स्थानमा विक्री वितरण भने पाइने छैन ।
जिल्ला स्थीत सरकारी कार्यालय तथा सार्वजनिक संस्थानका कार्यालय प्रमुखहरु अनिवार्य उपस्थीत भई कार्यालय सञ्चालन गर्न पूर्व तयारी गर्न भनिएको छ । साथै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई कार्यालय परिसरको सरसफाई, सेवाग्राही बस्ने स्थानमा मार्किङ्ग गर्ने, सावुन पानीले हात धुने, स्यानिटाइजर र थर्मल गन आदिको व्यवस्था गर्न पनि अनुरोध गरिएको छ । कार्यालयबाट प्रदान गरिने अत्यावशकीय सेवा न्युनतम कर्मचारीलाई आलोपालो गरि सञ्चालन गर्न भनिएको छ ।
यस्तै बैंक तथा वित्तिय संस्था र राजश्वसँग सम्बन्धीत संस्थाले भौतिक दुरी कायम गरि जनस्वास्थ्यका मापदण्ड पालना गर्दे निश्चित समयावधि तोकि सेवा सुचारु गरिने भएको छ । कार्यरत कर्मचारीको आधा कर्मचारीबाट दैनिक विहान १० देखि दिउँसो ३ बजेसम्म सेवा प्रवाह गर्न बैठकले निर्णय गरेको छ । यसअघि बैंक तथा वित्तीय संस्था एक दिन विरायर मात्र खुल्दै आएका थिए । जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण तिव्रगतिमा फैलिन थालेपछि बैशाख २१ गतेदेखि निषेज्ञाधा जारी भएको हो ।
यसअघि गत बैशाख ३१ देखि जेठ १५ सम्म दोश्रो पटक, जेठ १५ देखि २२ गतेसम्मका लागि तेश्रो पटक र जेठ २२ देखि ३१ गतेसम्म चौथो पटकका लागि निषेधाज्ञा थप गरिएको थियो । निषेधाज्ञाका कारण सङ्क्रमण फैलिएर भयावह अवस्था आउनबाट रोकेको तर अहिले पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय भएको जिल्ला प्रशान कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।