परासी, २३ बैशाख । पश्चिम नवलपरासीमा विहिबार पनि थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सुनवल नगरपालिकामा दुई जना र बर्दघाट नगरपालिकामा एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका कोराना फोकल पर्सन देवीलाल पौडेलले जानकारी दिनुभयो ।
सुनवल नगरपालिका वडा नम्बर २ का ५५ वर्षीय पुरुषको विहिबार होम आइसोलेसनमा मृत्यु भएको छ । सोही पालिकाको वडा नम्बर १३ की ४० वर्षीय महिलाको पृथ्वी चन्द्र अस्पताल परासीमा मृत्यु भएको छ ।
यस्तै बर्दघाट नगरपालिका वडा नम्बर ११ का ६५ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको कोरोना फोकल पर्सन पौडेलले बताउनुभयो । विहिबार ३ जना संक्रमितको मृत्यु भएसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संङ्ख्या ६० पुगेको छ ।
यसैविच पश्चिम नवलपरासीमा विहिबार एकैदिन थप एक सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा विहिबार देखिएको यो संङ्ख्या हालसम्मकै उच्च हो । जसमध्य पुरुष ७० जना र महिला ४९ जना छन् । पिसिआर परिक्षणबाट एक सय र एन्टिजिन परिक्षणबाट १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
विहिबार रामग्राम नगरपालिकामा मात्रै ५३ जनामा संक्रमण भएको छ । यस्तै सुनवल नगरपालिकामा २१ जना, बर्दघाट नगरपालिकामा १८ जना, सरावल गाउँपालिकामा १५ जना, पाल्हीनन्दन गाउँपालिकामा ७ जना, प्रतापपुर गाउँपालिकामा ३ जना र सुस्ता गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको छ ।
विहिबार एक सय १९ जनामा कोरोना संक्रमण थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या २२ सय ९ पुगेको छ । अब जिल्ला भित्र ६ सय ९३ जना सक्रिय सक्रमित आइसोलेसनमा रहेका छन् । यस्तै विहिबार पश्चिम नवलपरासीमा १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । विहिबार १४ जना महिला र ४ जना पुरुष संक्रमण मुक्त भएका हुन् । जिल्लाबाट पठाएको मध्य अझै एक सय २७ जनाको पिसिआर परिक्षणको रिपार्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।