सुनवल, १२ चैत । पश्चिम नवलपरासीको सुनवल नगरपालिकालाई पर्यटकिय गन्तब्यको रुपमा चिनाउन नगरपालिकामा व्यस्थित नमुना हिलपार्कको निर्माण कार्य भैरहेको छ । नगरको वातावरण स्वच्छसफा बनाउन र आन्तरिक तथा बाह्य पर्यटक भित्राउन पर्यटन शैलीमा व्यस्थित हिलपार्क बनाउन लागिएको छ ।
नगरमा पार्क र व्यस्थित पर्यटकिय स्थल नभएकाले सुनवलबासी बुटवलको फुलबारी, हिलपार्क, सिद्धबाबा, बनबाटिका र जिल्लाको दाउन्ने, त्रिवेणीधाम रामग्राम स्तुप लगायतका विभिन्न क्षेत्रमा जाने गर्दछन् । अब सुनवलमै सुविधायुक्त नमुना व्यस्थित हिलपार्क निर्माण भैरहेको छ जसले जिल्लाका विभिन्न क्षेत्रका पर्यटकहरुलाई सुनवल नगरमा तान्न र यहाँका पर्यटन फस्टाउनमा मद्दत पुग्ने छ ।
नगर नगरपालिकाले वडा १ को पहाडी क्षेत्रमा पब्लिक,प्राईभेट, पार्टनरशीप लगानी अवधारणमा हिलपार्क बनाउने योजना अगाडी सारेको छ । नगरपालिकाले हिलपार्कलाई १५ बर्षे योजनाको रुपमा लिई ७२ करोड बजेटको वृहद परियोजना प्रतिवेदन (डिपिआर) बनाई निर्माण कार्यमा तिब्रता दिएको छ । नगरपालिकाकाले यस हिलपार्कमा भ्युटावर, फुलबारी, चिडियाघर, बालउद्यान, ट्रयाकिंग, पिक्नीक स्पोट, मेडिटेशन सेन्टर, खेलकुद स्पोट, स्वमिङ्गपुल, जिमखाना निर्माण गर्ने योजना रहेको नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीले जानकारी दिनु भयो ।
नगरपालिकाले हिलपार्क क्षेत्रसम्म बाटोघाटो, विद्युत, खानेपानी, शौचालयको निर्माण कार्य गरिसकेको छ भने हिलपार्क क्षेत्रमा वृक्षारोपण, फुलविरुवा रोपण, पार्कको सुन्दरीकरण र बाउण्डरी वालको निर्माण कार्यहरु पनि गरिरहेको नगरपालिकाले जनाएको छ । यो हिलपार्क नेपालमा नमुना हिलपार्कको रुपमा रहने नगरपालिकाले दावी छ । यस हिलपार्कको बालउद्यानमा बालबालिकाहरु रमाउने छन भने बृद्धबद्धाहरु मर्निङ्ग वाक देखि मनोरम दृश्यको अवलोकन तथा मेडिटेशन समेत गर्न सक्नेछन त्यस्तै युवाहरु बनभोन, नाचगान, ट्रयाकिङ्ग, मनोरम दृश्य अवलोकन, फोटोसेशन, र खेलकुल समेत गर्न सक्ने छन् ।
यो निर्माणाधिन हिलपार्क सुनवल चोकबाट ३ किलोमिटर पहाडको डाँडामा अवस्थित छ । यस पार्कबाट सुनवल बजारको पुरै दृश्य हेर्न सकिने छ । सुनवलबासीहरु हाईवेमा मर्निगवार्क गर्न जोखिम रहने र शान्त तथा रर्माइलो वातावरण नभएकाले नगरपालिकाले यस हिलपार्कको व्यवस्थापन गर्न लागेको हो । सुनवल नगरपालिकामा पार्कको कतै व्यवस्था नभएकाले सुनवलबासीहरु धुँवा धुलोमा बस्न बाध्य छन् । तर यस पार्कले यहाँका बासिन्दालाई शान्त स्वच्छ तथा सफा वातावरण बनाउन संगै मनोरन्जन पनि दिनेछ ।
यो हिलपार्क सुनवल नगरपालिकाको गौरवको योजना रहेको छ । यसको लागि नगरपालिकाले ठुलो रकम बिनियोजन गर्न नसकेपनि यश बर्ष ३० लाख बजेट बिनियोजन गरि निर्माण कार्य गरिरहेको नगरपालिकाको शहरी पुर्वाधार बिकास शाखा प्रमुख सन्तोष गैरेले जानकारी दिनु भयो।योे हिलपार्क सुनवलको बजेटले मात्र सम्भव नभएकाले नगरपालिकाले संघिय तथा प्रदेश सरकार संग पनि बजेटको माग गरिरहेको उन्हाले जानकारी दिनु भयो । सुनवल नगरपालिकाका विकासमा तिब्र रुपल अगाडी बढिरहेको छ । नगरपालिकाले सुनवलमा अटो भिलेज, हिलपार्क, महलपोखरीमा आवश्यक भौतिक पुर्वाधारको विकासमा अगाडी बढिरहेको छ ।