नन्दन ताल अतिक्रमणको चपेटामा : संरक्षणमा चाँसाे देखाउदै पाल्हीनन्दन गाउँपालिका

परासी, १० चैत्र । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६, सनई गाउँको उत्तरी सीमानामा रहेको ऐतिहासिक नन्दन ताललाई कब्जा गरी स्थानीय बासिन्दाले खेत बनाएपछि तालको अस्तित्व मेटिने अवस्थामा पुगेको छ ।

केही स्थानीय बासिन्दाले ताल अतिक्रमण गरी खेतीपाती गर्दै आएका कारण तालको अस्तित्व नै मेटिने खतरामा पुगेको छ । तालको संरक्षणमा सम्बन्धित निकायले ध्यान नपु-याउँदा अतिक्रमण भएको हो ।

९२ बिगाहा क्षेत्रफलमा फैलिएको नन्दन तालको संरक्षण तथा अतिक्रमित जग्गा फिर्ता ल्याउन र संरक्षण गर्न स्थानीय तह र जिल्ला समन्वय समितिबाट ठोस पहल हुन सकेको छैन ।

२० वर्ष अघिसम्म जिल्लाकै ठुलो तालको रुपमा परिचित यो तालमा विभिन्न देशका आगन्तुक चराचुरुङ्गी, विभिन्न प्रजातिका माछा तथा जलचर पाइन्थ्यो । अतिक्रमण बढ्दै गएपछि यसले आफ्नो पहिचान गुमाउँदै गएको हो ।

हाल तालको नाममा एउटा पोखरीमात्र छ । संरक्षणमा बेलैमा चासो नदेखाउने हो भने उक्त पोखरी पनि केही वर्षमै अतिक्रमण भई खेतका रुपमा परिणत नहोला भन्न सकिँदैन ।

सनई गाउँकै दक्षिण भागमा ८२ बिगाहा क्षेत्रफलमा फैलिएको सनई ताल पनि छ । त्यो ताल पनि संरक्षणको अभावमा अतिक्रमण भइरहेको छ ।

पाल्हीनन्दन गाउँपालिकाका दुई ठुला तालको करिब १७४ बिगाहा क्षेत्रफल अतिक्रमण भइसक्दा पनि जग्गा फिर्ता गराउन कुनै निकायबाट पहल नभएको स्थानीयवासी राजेन्द्र सहनीले बताए ।

विगतमा तालको संरक्षण र तारबारका लागि तत्कालीन जिल्ला विकास समिति र सनई गाविसबाट बजेट विनियोजन भएको थियो । तर स्थानीयस्तरमा भएको विवादले संरक्षणका काम हुन सकेनन् ।

एक वर्ष अगाडि मात्र तालको संरक्षण गर्दै ताललाई सिमसार क्षेत्र बनाउन राष्ट्रपति चुरे संरक्षण विकास समितिले दुई वर्षसम्म रकम विनियोजन गरे पनि ताल कब्जा गर्ने व्यक्तिहरुले विभिन्न धाकधम्की र राजनीतिक दबाब दिएर काम गर्न दिएनन् । परिणामस्वरुप सो रकम फ्रिज भएको जिल्ला समन्वय समितिले जानकारी दियो ।

ताल संरक्षणको उद्देश्यले कुनै निकाय तथा व्यक्ति सो क्षेत्रमा पुगेको थाहा पाउनासाथ ताल अतिक्रमणमा संलग्न स्थानीयवासीले विभिन्न धाकधम्की दिएर धपाउँदै आएका छन् । विगतमा केही भूमाफियाहरु लालपुर्जा वितरण गर्ने खेलमा लागे पनि सफल भएनन् । अहिले पनि राजनीतिक दलका स्थानीय नेताहरुले तालको अतिक्रमित जग्गाको लालपुर्जा बाँड्ने आश्वासनमा भोटको राजनीति गर्दै आएका छन् ।

वि.सं. २०५६÷०५७ सम्म आफ्नै स्वरुपमा थियो । तत्कालीन गाविसले तालमा माछाको ठेक्का लगाउने गर्दथ्यो । राजनीतिक पहुँचका आधारमा विस्तारै ताल अतिक्रमण सुरु भयो ।

तालको जग्गा फिर्ता ल्याउन र तालको संरक्षणमा सम्बन्धित निकायले ध्यान पु¥याउन जरुरी रहेको स्थानीय चन्द्रमणि चौधरीले आग्रह गरे ।

के भन्छ पाल्हीनन्दन गाउँपालिका ?

तालको संरक्षण र विकासका लागि आवश्यक बजेट विनियोजन गरी अघि बढ्ने पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।

प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्ने पालिकाको दायित्व रहेको भन्दै उनले सो दायित्वबाट नपन्छिने प्रस्ट पारे । आउँदो गाउँसभाबाट आवश्यक बजेट विनियोजन गरी तालको गुरुयोजना बनाई त्यसको संरक्षण र विकासमा सक्रिय भएर लाग्ने उनले बताए ।

गुप्ताले अब तालको नाममा राजनीति गर्न नदिन र तालको संरक्षण एवं वृहत् विकासका लागि तारबार गर्ने, सीमसार क्षेत्र बनाउने, चराचुरुङ्गी र साकाहारी जनावरहरुको पालनपोषण गर्ने प्रतिवद्धता जनाए ।

पाल्हीनन्दन गाउँपालिकामा ताल बाहेक पनि विभिन्न सार्वजनिक पोखरी र जग्गा अक्रिमण भएका छन् । गाउँपालिकाभित्रका सबै सार्वजनिक जग्गाको तथ्याङ्क संकलन गरी अतिक्रमित जग्गा फिर्ता लिन र ती क्षेत्रहरुको संरक्षण एवं विकासमा पालिकाले सक्रिय भूमिका निर्वाह गर्ने प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताए ।

Related articles

अख्तियार छानबिनमा संसद सचिवालयः कानुनविपरीत २ करोड खर्च

काठमाडौँ, २६ मंसिर । सार्वजनिक खरिद ऐनविपरीत संघीय संसद् सचिवालयले करिब २ करोड रुपैयाँ खर्च गरेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । अख्तियारले खरिद प्रक्रियासम्बन्धी सबै कागजातसहित जानकारी दिन सचिवायलमा पत्र काटेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाल, सचिव राजेन्द्र फुयाँलसहित […]

पुर्वगृहराज्य मन्त्री सांसद कण्डेलद्धारा स्वास्थ्यकर्मी तथा पत्रकारहरुलाई खाजा वितरण

परासी, १० बैशाख । पुर्व गृहराज्यमन्त्री एवं सांसद देवेन्द्रराज कण्डेलले स्वास्थ्यकर्मी तथा पत्रकारहरुलाई खाजा वितरण गरेका छन् । क्रोना भाईरसको संक्रमण रोकथाम तथा उपचार सेवा प्रदान गरिरहेका जिल्लाका स्वास्थ्यकर्मी र जनचेतना फैलाउ खटिरहेका पत्रकारहरुलाई दिउँसो खाजा खाने गरि सहयोगात्म भावनाले चाउ–चाउ र पानी वितरण गरेका छन् । नेपाली कांग्रेस पाल्हीनन्दन गाउँकार्यसमितिको आयोजनामा कुल २८० कार्टुन […]