परासी, २ चैत्र । सुस्ताको झोलुङ्गे पुल निर्माणमा ढिलाई हुँदा सुस्ताबासीहरु अझै पनि जोखिमपुर्ण डुङ्गा यात्रा गर्दै आएका छन् । पुल निर्माण कार्य समयमै सम्पन्न नहुँदा सुस्ताबासीहरु भारतीय बाटो प्रयोग गर्दा एसएसबीबाट विभिन्न यातना पनि खेप्दै आएका छन् । नारायणी नदी (गण्डक) ले घेरिएको सुस्ता भुमीबाट आफनै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन जोखिमपुर्ण डुङ्गाा यात्रा गर्नु पर्ने बाध्यता छ रहेको छ भने बर्षाको समयमा भारतीय यातनाका बिचपनि भारती बाटोनै प्रयोग गर्न बाध्यात्मक अवस्था रहेको छ ।
नारायणी नदी पारी भारतको विहारसंग जोडिएको सुस्ताभुमी जिल्लाको सुस्ता गाउँपालिका वडा ५ को एक गाउँ हो । उक्त गाउँलाई वडा कार्यालाय, गाउँपालिका र सदरमुकाम संग जोडने गरि सरकारले ५ वर्ष अगाडी २०७२ सालमा झोलुङ्गे पुलको आयोजना दिएपनि ठेकेदारको चरम लापरवाहीले उक्त पुल निर्माण हुन सकेको छैन । वर्षाैदेखि भारतीय यातना खेप्दै र जोखिम पुर्ण डुङ्गाबाट यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवाँ गाउँ जोडन एसियाकै दोश्रो ठुलो झोलुङ्गे पुलको आयोजना दिएको थियो ।
त्रिसुली आश्रय जे.भी कन्सट्रक्शन कम्पनीले २०७४ सालमा (२९ महिनामा) सम्पन्न गर्ने गरि २७ करोड रुपैयामा उक्त ठेक्का लिएको छ । उक्त पुलको १ हजार ५ सय ७१ मिटर लम्बाई र डेढ (१.६) मिटर चौडाई रहेको छ । उक्त झोलुङ्गे पुल निर्माणमा ठेकदार कम्पनीले ढिलाई गर्दै ५ बर्षमा पनि अन्डर ग्राउण्डकै कार्यमा सिमित रहेको छ । ठेकदारले पुलको जग बनाउन कुल २ सय २० वटा पाईल धाँसिनु पर्नेमा ५ बर्ष लगाएर जम्मा २०० पाईल मात्र धाँसेको छ ।
झोलुङ्गे पुलका लागि नदीमा धाँसिने पाईलिङ्गमा ४ वटा ठुलो अग्लो पिलर ठढयाईने छ भने १० वटा सानो पिलर ठडयाई झेलुङ्गे पुल बाँधिने कार्य हुने छ । २ बर्षमा सन्पन्न गर्नु पर्ने योजना ठेकेदारले, चरम लापरवाही गर्दै म्याद थप्ने काम गर्ने र ५ बर्षसम्म पनि पाईलिङ्गकै काममा अल्झि अरु अरु कुनै काम नगरेको सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवालले आरोप लगाउनु भयो ।
ठेकदार कम्पनी बर्षमा २÷३ महिना काम गर्ने अनि बर्षभरि विभिन्न बहाना गर्दै गायब हुने गरेको मछ । ठेकदार कम्पनीले कहिले लेबरको अभाव त कहिले पानीको उच्च बहाव देखाउदै काममा ढिलाई सुस्ती गर्दै आएको छ ।
यता पुललाई छिटो छरितो सम्पन्न गराउन सुस्ता गाउँपालिकाले चाँसो देखाएको छ । पुलको काम छोडी एक बर्ष फरार रहेको ठेकदार कम्पनीलाई सुस्ता गाउँपालिकाले सम्बन्धित निकायबाट दबाब दिलाई पुनः पुलको निर्माण कार्यमा लगाएको छ । गाउँपालिकाले पुलको नियमित निरिक्षण र आईपर्ने समस्याहरुको सामाधान गर्दै पुल निर्माणको कार्य छिटै सम्पन्न गराउन ठेकदार कम्पनीलाई ताकेदा गर्दै आएको छ ।
सुस्ता पुग्न एकमात्र नेपाली बाटो जोखिमपुर्ण डुङ्गा यात्रा हो । सुस्ताभुमी पुग्न नदीमा करिब ढाई (२.५) किलोमिटरको दुरी डुङ्गाले यात्रा तय गर्नु पर्दछ । उक्त यात्रा बाढाीको समयमा २ घण्टा र सुख्खा समयमा करिब १ घण्टा लाग्ने गर्दछ । वर्षाको बेला नदीमा उच्च बाढीका कारण नदीमा डुङ्गा चलाईदैन उता भारतको विहार बाटो हुदै आवत जावत गर्दा बाध्यता रहेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले दुखेसो पोख्नु भयो ।
सुस्ताबासीहरुको मुख्य पेशा खेती र माछा मार्ने हो । ३ सय घरधुरी रहेको सुस्तामा खासगरि विपन्न परिवारका समुदायहरुको बसोबास बढि छ । करिब ४० हजार ९ सय ८० हेक्टेयर क्षेत्रफलमा फैलिएको उक्त सुस्ता भुमी बर्षौं देखिनै भारतीय पक्षद्धारा अतिक्रमण हुदै हाल १४ हजार ४ हेक्टेयर क्षेत्रफल अतिक्रमण भैसकेको छ र १९ हजार ५८० हेक्टर क्षेत्रफल भारतीय पक्षले विवादित भन्दै जोतभोगबाट रोक लगाएको छ ।
हाल सुस्ताबासीहरुको जोतभोगमा जम्मा ७ हजार हेक्टेयर क्षेत्रफल मात्र रहेको बताउछन् । सुस्तामा बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्य भौतिक पुर्वाधार समेतको समस्या वर्षौदेखि नै यस्तै छ । यसबर्षबाट सुस्तामा सोलारबाट बिजुलीको पहुँछ भएको छ भने अरु समस्या यथावत नै छन् ।