फुर्सदिला खेल प्रशिक्षक : सरकारी तलब खान्छन्, निजी काममा व्यस्त हुन्छन्

0
289

३० साउन, मोरङ । विराटनगरका नारायण बुढाथोकी सितेरियो कराँतेका प्रशिक्षक हुन् ।

राष्ट्रिय खेलकुद परिषदबाट प्रशिक्षकमा नियुक्त बुढाथोकी जिम्मेवारीअनुसार प्रशिक्षणको काममा खटिनुपर्ने हो । तर, उनी प्रशिक्षणमा होइन, अधिकांश समय निजी पसलमा व्यापार व्यावसाय गरिरहेका भेटिन्छन् ।

बुढाथोकीले शहीद रंगशाला अगाडि विराट स्पोर्टस एण्ड स्टेेशनरीको पसल सञ्चालन गरेका छन् ।

राखेपमा खेल प्रशिक्षकको जागिर खाएर पनि फुर्सदिला उनीमात्र छैनन् । हृयाण्डबलका प्रशिक्षक रमेश सापकोटा पनि प्रशिक्षण भन्दा आफ्नै निजी काममा बढी व्यस्त देखिन्छन् । तैपनि मासिक तलव भत्ता बुझ्दै आइरहेका छन् ।

बुढाथोकी र सापकोटा त प्रतिनिधि पात्र मात्रै हुन् । सरकारले स्थायी र करारमा खेल प्रशिक्षक नियुक्त गरे अधिकांश कोच प्रशिक्षणभन्दा व्यापार-व्यवसायमा व्यस्त छन् ।

खेलकुद परिषद्ले पूर्वाञ्चलको १६ जिल्लाका लागि फुटबल, कराँते, बास्केट बल, एथलेटिक्स, भारोत्तोलन, भलिबल, वक्सिङ, सितेरियो कराँते, तेक्वान्दो, उसु, क्रिकेट, व्याडमिन्टन, कुस्ती, टेवलटेनिस लगायत खेलका लागि प्रशिक्षक नियुक्त गरेको छ ।

पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, विराटनगर कार्यालयका प्रमुख टेकप्रसाद कट्टेलका अनुसार पूर्वाञ्चलका १६ जिल्लामा कुल १ सय ३५ खेल प्रशिक्षक कार्यरत छन् । उनीहरु द्वितीय तहदेखि नायब सुब्बास्तरको पदमा कार्यरत छन् ।

स्थायी तथा करारमा कार्यरत खेल प्रशिक्षकहरुले अन्य क्षेत्रमा काम गर्न नपाउने प्रावधान छ । तर, सरकारी अनुगमनको अभावमा साविकको पूर्वाञ्चलका १६ जिल्लामा नियुक्त खेल प्रशिक्षकमध्ये कमैले मात्र नियम मानेका छन् ।

खेल प्रशिक्षणमा नभई आफ्नै काममा व्यस्त हुने प्रशिक्षकहरु आफूहरु गलत नभएको दाबी गर्छन् ।

स्टेसनरीमा भेटिएका सितेरियो कराँतेका बुढाथोकी भन्छन्, ‘प्रशिक्षणका लागि आवश्यक भौतिक संरचना अभाव छ । नियमित प्रशिक्षण गराउन सकिएको छौन ।’

हृयाण्डवलका प्रशिक्षक सापकोटाको गुनासो पनि उस्तै छ । भन्छन्, ‘म खेल प्रशिक्षणका लागि नियुक्त भएको हुँ । तर नियुक्ति मात्र गरेर पुग्दैन, त्यसका लागि कम्तीमा भौतिक संरचना र खेल सामग्री हुन आवश्यक छ । त्यो सबै व्यवस्था सरकारले मिलाएको खण्डमा खेल प्रशिक्षण गराउन कुनै समस्या छैन ।’

तलबमा हुन्छ वार्षिक ४ करोड खर्च

राखेपअन्तर्गतका पूर्वाञ्चलमा मात्र वरिष्ठ खेल प्रशिक्षकका रुपमा ९ जना, अधिकृत तृतीय १९ जना र नासुस्तरका सबै भन्दा बढी १ सय ७ जना छन् । झापामा सबैभन्दा धेरै २७ खेलका प्रशिक्षक छन् । मोरङ र सुनसरीमा १७/१७ जना कार्यरत छन् ।

वरिष्ठ खेल प्रशिक्षक पदमा कार्यरतलाई मासिक ३४ हजार, अधिकृत तृतीय तहकालाई ३० हजार र नासुस्तरको पदमा कार्यरतलाई मासिक २४ हजार तलब दिइन्छ ।

पूर्वाञ्चलमा नियुक्त १ सय ३५ खेल प्रशिक्षकका लागि वाषिर्क ४ करोड रुपैयाँ तलबमा खर्च हुँदै आएको छ । तर, उनीहरु मध्ये मुस्किलले २० जना प्रशिक्षकले नियमित रुपमा खेल सिकाइरहेका छन् भने आधाभन्दा बढी नियमित प्रशिक्षणमा छैनन् ।

कर्मचारी भन्दा पदाधिकारीको जम्बो टोली

नेपाल सरकारलेे खेलकुदको विकासका लागि भनेर खेलकुद विकास समिति गठन गरेको छ । तर, समितिमा सरकारका कर्मचारी भन्दा पदाधिकारीको टोली जम्बो छ ।

पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको कुल कर्मचारी संख्या ३५ जना छ । तर, पदाधिकारी संख्या भने त्योभन्दा तेब्बर अर्थात् १ सय ६० जना छन् ।

राजनीतिक नियुक्ति लिएर आएका पदाधिकारीहरुलाई तलबको सुविधा नभए पनि बैठक भत्ताको व्यवस्था छ । प्रति बैठक ७ सयका दरले भत्ता पाउने गरेका छन् । यही भत्ताको लोभमा क्षेत्रीय खेलकुद विकास समिति कार्यकर्ता भर्तिकेन्द्र जस्तै बनेको छ, जहाँ सरकार परिवर्तन भएसँगै पदाधिकारी फेरिन्छन् ।

समस्याको चाङ

समग्र खेलकुदको विकास गरी नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि राखेपले क्षेत्र साथै जिल्ला तहमा खेलकुद विकास समिति निर्माण गरेको छ । यद्यपि, खेलकुद विकासका लागि भनेर गठन भएको समिति भने प्रर्याप्त बजेटदेखि आवश्यक खेल सामाग्रीको अभाव झेल्दै आइरहेका छन् ।

खेलकुद विकास समितिमा प्रतियोगिताका लागि बजेट अभाव हुने गरेको छ । वार्षिक रुपमा खेलकुद प्रतियोगिताका लागि सानो आकारको बजेट छुटिने गरेको छ ।

कार्यालयका प्रमुख कट्टेल वाषिर्क खेलकुद प्रतियोगिताका लागि १० लाख विनियोजन हुने बताए । ‘खेलकुद कार्यक्रम सञ्चालनका लागि न्यून दरमा बजेट छुटि्टन्छ’ उनले भने, ‘सीमित बजेटमा धेरै काम गर्नुपर्ने भएकाले राम्रो नतिजा आउन सकेको छैन ।’

भलिबलका वरिष्ठ प्रशिक्षक वीरेन्द्र चौधरी आवश्यक खेल मैदानदेखि भौतिक संरचनाको अभाव रहँदा प्रशिक्षणमा समस्या आउने गरेको गुनासो गर्छन् ।

कराँते प्रशिक्षक राजु महर्जन बजेट अभावमा कतिपय प्रतियोगितामा खेलाडी सहभागी गराउन नसकिएको बताउँछन् । प्रतियोगिता गराउन शुभेच्छुक, शुभचिन्तक तथा साथीभाइसँग चन्दा माग्नुपर्ने अवस्था रहेको उनले गुनासो गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here