परासी, ४ फागुन । नवलपरासीको रामग्राम नगरपालिका वडा १६ स्थित सुक्रौली स्वास्थ्य चौकीको नवनिर्मित भवन एक कार्यक्रम बिच उद्दघाटन भएको छ । उक्त दुई तल्ले सुविधायुक्त नवनिर्मत स्वास्थ्य चौकी भवनको कार्यक्रमका प्रमुख अतिथि रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले रिबन काटेर तथा शिलालेख अनावरण गरि उद्धघाटन गरेका हुन् । स्वास्थ्य चौकीको आयोना तथा नगरपालिका वडा १६ का अध्यक्ष भगवान चौधरीको अध्यक्षतामा भएको उद्दघाटन कार्यक्रममा नगर प्रमुखले भवनको उद्दघाटन गर्दै भवनको निरिक्षण पनि गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गुप्ताले, यस स्वास्थ्य चौकीबाट यहाँका स्थानियले छिटोछरितो गुणस्तर तथा प्रभावकारी उपचार सेवा पाउने विश्वास व्यक्त गर्नु भयो । उहाँले यस चौकीको सेवालाई थप विस्तार गर्दै यहाँ बर्थिङ्ग सेन्टर पनि स्थापना गर्ने बताउनु भयो । उहाँले नगरपालिका भित्रका जुनसुकै वडाका गर्भवति महिलाहरुलाई अस्पतालमा सुत्केरीका लागि ओसारपसार गर्न छिटै निशुल्क रुपमा एम्बुलेन्स पनि संचालन गर्ने बताउदै वडा वडाहरुमा पनि उपचार सेवा प्रदान गर्न आधारभुत स्वास्थ्य चौकीहरुको स्थापना भैरहेको बताउनु भयो ।

१ करोड ५४ लाख ६५ हजार ९६० रुपैयाको लागतमा उक्त दुई तल्लो सुविधायुक्त भवनलाई ज्ञानज्योती सिर्जनशिल कन्सट्रक्शनले निर्माण गरेको छ । विगत लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आएको उक्त स्वास्थ्य चौकी नगरपालिका भित्रकै अव्वल स्वास्थ्य चौकी रहेको छ । उक्त स्वास्थ्य चौकी भवनका लागि तिन जना स्थानियले मिली ३ कट्टा जग्गा दानको ठाउँमा उक्त भवन बनेको छ ।
कार्यक्रममा भवन निर्माणका लागि १ कट्टा १० धुर जग्गा दान गर्ने स्वर्गिय ढेला थारुको छोरा श्रीनारायण चौधरीलाई दोसल्ला ओढाई सम्मान पनि गरिएको थियो । त्यस्तै भवनकै लागि १० धुर जग्गा दान गर्ने बेचन थारु, १० धुर जग्गा दान गर्ने जुठाई थारुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा स्वास्थ्य चौकी संचालनका लागि निशुल्क रुपमा आफनो घर उपलब्ध गराउने रामचन्द्र गुप्ता, घनश्याम मल्ल र भगवति मल्ललाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख नरेन्द्र कुमार गुप्ता, वडा १६ का अध्यक्ष भगवान चौधरी, वडा १५ का अध्यक्ष धनपत यादव, सुआहाराका जिल्ला संयोजक कृष्ण गुरुङ्ग, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य हुसैन अंसारी, डैनहवाँ विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामटहल गुप्ता, हकुई स्वास्थ्य चौकीका ईन्चार्ज निजाम मिँया, टोल विकास समतिका अध्यक्ष दिपक चौधरी, समाजसेवी रामचन्द्र गुप्ता, मुरारी प्रसाद चौधरी, सुनिल लामिछाने लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथिलाई मायाको चिनो पनि वितरण गरिएको थियो ।