कावासाेती, ६ कार्तिक । पूर्वी नवलपरासीमा रहेका सबै क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । पूर्वी नवलपरासी अर्थात् नवलपुरमा रहेका १२ वटा क्रसर उद्योगहरु सबै मापदण्डविपरीत रहेको पाइएको हो ।
नवलपुर, दुम्किबासमा बागलुङ कालिका क्रसर उद्योग, महावीर एग्रिगेट इण्डष्ट्रिज प्रालि, त्रिवेणी क्रसर उद्योग रहेका छन् । त्यसैगरी, अरूणखोलामा महाराजा क्रसर उद्योग, चोरमारामा न्यू मनकामना मिलर प्रोडक्ट प्रालि, मध्यविन्दु क्रसर उद्योग रहेका छन् । त्यसैगरी, कावासोतीको डण्डाका न्यू महालक्ष्मी रोडा एण्ड एग्रिगेट इण्डष्ट्रिज प्रालि, दलदलेमा नवलपुर क्रसर उद्योग, मनकामना क्रसर उद्योग रहेका छन् । त्यस्तै, केउरेनीमा कालिका क्रसर उद्योग, झरही खोलामा त्रिशक्ति झरही क्रसर एण्ड स्क्रिन प्लान्ट उद्योग, महालक्ष्मी क्रसर उद्योग सञ्चालनमा रहेका छन् ।
नवलपुरमा दर्ता भएर सञ्चालनमा रहेका यी १२ वटै क्रसर उद्योगहरु कोही खोला तथा नदीकिनारमा, कोही राजमार्ग (सडक)किनारमा, कोही विद्यालयनजिक, कोही जंगलनजिक, कोही सुरक्षा निकायकै नजिकै सञ्चालनमा रहेका छन् । नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले आफूले पनि केही क्रसर उद्योगहरु अनुगमन गरेको र ती क्रसर उद्योगहरु अधिकांश मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको बताइन् ।
नवलपुर जिल्लामा क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रका अवस्थाहरु, दर्ता भए नभएको, अन्य प्रक्रिया पूरा गरे नगरेको, भ्याट बिल भए नभएको, भ्याट बिल काटे नकाटेको, आइइई÷इआइए गरे नगरेकोलगायतका सबै विषय निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताइन् । अनुगमनको क्रममा कतिपयले दर्ता नै नगरेको, कतिपयले आइइई÷इआइए नगरेको, कतिपयले फर्जी बिल काट्ने गरेको पाइएको उनले बताइन् । नवलपुरका अन्य क्रसर उद्योग तथा प्रशोधन केन्द्रको अनुगमन गरेर जिल्लाको यथार्थ अवस्था आएपछिमात्रै सबैलाई एकैपटक कानुनी कारबाही अगाडि बढाउने उनले बताइन् ।
राजस्व असुली गर्न खोज्दा एलडिओ नै सरूवा
नवलपरासी जिल्ला एउटै हुँदा केही क्रसर उद्योगहरु अवैधरुपमा उत्खनन गरेका क्रसर उद्योगहरुको अवैध नदीजन्य वस्तु जफत गरेर त्यसको जरिवाना असुली गर्न खोज्दा नवलपरासीमा स्थानीय विकास अधिकारी नै सरूवा भएको घटनासमेत भएको छ । तत्कालीन स्थानीय विकास अधिकारी युवराज कट्टेल सरूवा भएका थिए । तत्कालीन स्थानीय विकास अधिकारी कट्टेलले आफू सरूवा हुनु दुःखद भएको तर राज्यले खटाएको ठाउँमा आफू जान तयार रहेको भन्दै सरूवा लिएर गएका थिए । उनलाई सामान्य प्रशासन मन्त्रालयले २०७४ असार ३० गते सरूवा गरेको थियो । चोरमारामा रहेको न्यू मनकामना क्रसर उद्योगले बुझाउनुपर्ने झन्डै २ करोड राजस्व नतिरेसम्म उद्योग सञ्चालन गर्न नदिने निर्णय गरेकै दिन उनलाई सरूवा गरिएको थियो ।
अधिकांश प्रशोधन केन्द्र अवैध
६० बढी प्रशोधन केन्द्र रहेको नवलपुरमा अधिकांश बालुवा प्रशोधन केन्द्र अवैधरुपमा सञ्चालनमा रहेका छन् । ती प्रशोधन केन्द्र (उद्योग)ले कतिले दर्तासमेत नगरी सञ्चालन गरेको, कतिपयले दर्ता गरे पनि आइइई÷इआइए नगरेको, बालुवा प्रशोधन गर्ने भनी सञ्चालन गरे पनि क्रसर उद्योगले सरह गिटी कुट्ने, ढुङ्गासमेत बिक्री गर्ने गरेको पाइएको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।
प्रशोधन केन्द्रहरु पनि धेरैजसो खोलानजिक, जंगलछेउ, घनाबस्तीको बीचमा सञ्चालनमा रहेका र तिनले फर्जी बिल काट्ने गरेको समेत पाइएको छ ।
राज्यले तोकेको ठाउँमा जान तयार छौँ : क्रसर व्यवसायी
नवलपुरका क्रसर व्यवसायीहरुले नवलपुरमा सञ्चालनमा रहेका क्रसर उद्योगहरु सञ्चालनका बखत मापदण्डअनुसार सञ्चालनमा रहेको तर अहिले नयाँ–नयाँ मापदण्ड आउँदा मापदण्डविपरीत हुन पुगेको स्वीकार गरेका छन् ।
नेपाल रोडा ढुङ्गा व्यवसायी संघ नवलपुरका अध्यक्ष भोजेन्द्रबहादुर रायमाझीले राज्यले निर्धारण गरिदिएको मापदण्डअनुसारको स्थान राज्यले देखाइदिए आफूहरु उक्त स्थानमा गएर क्रसर उद्योग सञ्चालन गर्न तयार रहेको बताए । उनले राज्यले ल्याएको नयाँ मापदण्डअनुसारको स्थान पाउन मुस्किल पर्ने बताए ।
प्रशासनले थाल्यो अनुगमन
नवलपुर प्रशासनले जिल्लाभित्र सञ्चालनमा रहेका क्रसर उद्योग तथा प्रशोधन केन्द्रहरुको अनुगमन थालेको छ । नवलपुरमा एक दर्जन बढी क्रसर उद्योग र ५ दर्जन बढी प्रशोधन उद्योगहरु सञ्चालनमा रहेका छन् ।
प्रशासनले बिहीबार दुम्किबासआसपासका क्षेत्रमा सञ्चालनमा रहेका क्रसर र प्रशोधन उद्योगमा अनुगमन गरेको थियो भने शुक्रबार अरूणखोलाआसपासको क्षेत्रमा अनुगमन गरेको हो । नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको नेतृत्वमा, सुरक्षा निकाय, कर कार्यालय, साना तथा घरेलु उद्योग, विद्युत् कार्यालय, नापी कार्यालय, मालपोत कार्यालयका प्रतिनिधिको समेत सहभागितामा अनुगमन सुरू गरेको हो ।
प्रमुख जिल्ला अधिकारी पंगेनीले अनुगमनलाई निरन्तरता दिने बताइन् । उनले भनिन्, ‘हामीले ससाना विषयलाई पनि ध्यान दिएर अनुगमन गरेका छौँ, स्टक सामग्रीको तथ्याङ्क पनि मागेका छौँ ।’
सात दिनभित्र स्टक प्रमाणित गर्न प्रशासनको निर्देशन
जिल्ला प्रशासन कार्यालय नवलपुरले नवलपुरका क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रलाई स्टक प्रमाणित गर्न सातदिने निर्देशन दिएको छ । नवलपुरमा रहेका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रमा अस्वाभाविकरुपमा गिटी, बालुवा तथा क्रसर स्टक देखिएपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले यस्तो निर्देशन दिएको हो ।
बिहीबार र शुक्रबार गरी दुई दिनसम्म गरिएको अनुगमनमा अधिकांशमा आवश्यकताभन्दा बढी स्टक देखिएपछि स्टक प्रमाणित गर्न निर्देशन दिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् । उनले भनिन्, ‘स्टक जस्ताको तस्तै देखिन्छ । तर, दैनिक बिक्री तथा निकासी भएको पनि देखिन्छ । त्यसलाई प्रमाणित गर्न सात दिनको निर्देशन दिएका छौँ ।’
भ्याट बिल बरामद
कतिपय क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रले भ्याट छल्ने, नक्कली भ्याट बिल काट्ने, चेकिङमा रहेको प्रहरीलाई देखाउने बिल र असली बिल फरक हुने गरी बिलहरु काटेको समेत पाइएकोले त्यस्ता बिलहरु बरामद गरी अनुगमन टोलीले आवश्यक कारबाही अगाडि बढाएको छ । प्रमुख जिल्ला अधिकारी पंगेनीका अनुसार ती उद्योगहरुले भ्याट बिलसमेत नक्कली छाप्ने र नक्कली भ्याट बिल काटेर राजस्व छलेको समेत पाइएको छ ।
साभार ः याे सामाचार चितवन पाेषटमा रामकुमार श्रेष्ठले लेख्नु भएकाे छ ।