परासी, २६ असोज । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले वडा नं.४ स्थित दाउन्नेदेवी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गर्न गरेको निर्णय विरुद्ध उच्च अदालत तुलसीपुर बुटवल ईजलासले अन्तरीम आदेश जारी गरेको छ । अभिभावक भेला गरी चुनावी प्रक्रिया सुरु भईसकेको अवस्थामा बर्दघाट नगरपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाले नगर शिक्षा समितिको असोज १६ को निर्णय भन्दै शुभाषचन्द्र जिसीलाई अध्यक्ष सहितको ९ सदस्सीय विद्यालय व्यवस्थापन समिति गठन भएको पत्र असोज १९ गते विद्यालयलाई पठाएको थियो ।

दाउन्नेदेवी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागि अभिभावक भेलाबाट ७ सदस्सीय उमेदवारी परेको थियो । शिक्षा ऐन अनुसार अभिभावक भेलाबाट सुरुमा ४ सदस्य मात्र छनौट गर्नुपर्ने व्यवस्था रहेको तर उमेदवार ७ जना मध्ये कसैले पनि उमेदवारी फिर्ता नलिएकाले विद्यालय व्यवस्थापन समिति गठन गर्न समस्या भएको थियो । अभिभावक भेलाबाट ४ सदस्य छनौट हुन नसकेकाले नगरपालिकाले एक पत्र मार्फत नँया विद्यालय व्यवस्थापन समिति गठन नुहँुदा सम्मका लागि भन्दै एकैपटक ९ सदस्सीय विद्यालय व्यवस्थापन समिति गठन गरेको पत्र विद्यालयलाई पठाएको थियो ।

चुनावी प्रक्रिया सुरु भईसकेको अवस्थामा नगरपालिकाले शिक्षा ऐन विपरित गएर हस्तक्षेप गरेको भन्दै अभिभावक भेलामा उमेदवारी दिएका सातजना मध्येका एकजना उमेदवार सानु प्रेमबहादुर लामाले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट निवेदन दर्ता गरेका थिए । बर्दघाट नगर कार्यपालिकाको कार्यालय, नगर प्रमुख धिरज बस्याल, शिक्षा युवा तथा खेलकुद शाखालगायत १० जनालाई विपक्षी बनाई दायर भएको रिट निवेदकको तर्फबाट अधिवक्ता झविन्द« ज्ञवालीले बहस गरेका थिए ।
उक्त रिटको सन्दर्भमा न्यायधीश बाबुराम रेग्मीको एकल ईजलासले बर्दघाट नगरपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाले गठन गरेको विद्यालय व्यवस्थापन समिति शिक्षा ऐन २०२८ को कानुनी व्यवस्था अनुकुल नरहेकोभन्दै तत्काल उक्त निर्णय लागु नगर्नु नगराउनुभन्दै अन्तरिम आदेश जारी गरेको हो । यस आदेशसँगै बर्दघाट नगरपालिकाले गठन गरेको विद्यालय व्यवस्थापन समिति स्वतः निस्क्रीय भएको छ ।
साथै बर्दघाट नगरपालिकासहितका विपक्षीहरुबाट उच्च अदालतको आदेश किन जारी हुन नपर्ने हो भन्दै आधार, कारण र प्रमाण सहितको लिखित जवाफ लिई बाटाका म्याद बाहेक १५ दिन भित्र उच्च सरकारी वकिलको कार्यालय बुटवल मार्फत उच्च अदालत तुलशीपुर, बुटवल ईजलासमा हाजिर हुन आदेश गरेको अधिवक्ता झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।