परासी, २० असोज । नवलपरासी प्रहरीले २ वटा पिकप सहित २२ लाख ७९ हजार मुल्यको तस्करीका मालसमान बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट २ वटा पिकप, १ वटा मोटरसाईकल सहित २२ लाख ७९ हजार ९ सय मुल्य बराबरको तस्करी गर्न लागिएको विभिन्न अवैध सर–सामान बरामद गरेको हो ।
मंगलबार विहान १० बजेको समयमा व्यपारीले भन्सार छली दुबै पिकपमा भारतबाट नेपाल ल्याउदै गरेको १२० बोरा अर्थात ६० क्वीन्टल प्याज सिमा प्रहरी चौकी महेसपुरले जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ हरपुरबाट बरामद गरि जिल्ला प्रहरी कार्यालय बुझाएको छ । दुबै पिकमा ६०÷६० बोरा अवैध प्याज लोड गरिएको थियो ।
व्यपारीहरुले सेटिङ्ग मिलाएर बा १५ च ७९८५ र लु २ च ९२७५ नम्बरको पिकपमा अबैध प्याज लोड गरि नेपाल भित्राईरहेको सुचना पाएपछि सिमा प्रहरीको गस्ती टोलीले पिकप, चालक सहित उक्त प्याज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार बरामद प्याजको मुल्य ३ लाख र दुबै पिकपको १६ लाख गरि १९ लाख सहित नियन्त्रणमा लिइएको दुबै चालक सहित उक्त सर–सामानहरु आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरीले बिहानको समयमा भन्सार छली भारतबाट नेपाल भित्रीदै गरेको लु ५६ प ६८९४ नं. को मोटरसाईकल सहित ५१ पिस कपडा पनि बरामद गरेको छ । पाल्हीनन्दन गाउँपालिका ३ कुस्माबाट बरामद मोटरसाईकल र कपडा १ लाख ८७ हजार मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले सुस्ता गाउँपालिका ५ ठाडीघाटबाट १ लाख ४० हजार मुल्य बराबरको ३५ बोरामा हरियो मटर (केराउ) बरामद गरेको छ भने प्रतापपुर गाउँपालिका ५ बसहियाबाट ५२ हजार मुल्य बराबरको १७ बोरामा सेतो मटर (केराउ) बरामद गरि आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाएको छ ।