परासी, १५ असोज । रामग्राम नगरपालिकाले परासीबजारका मासु पसलहरुको अनुगमन गरेको छ । मासु पसलहरुलाई नियमन र व्यस्थित गर्ने उद्देश्यले आज परासी बजारका २१ वटा कुखुरा तथा खशी मासु पसलहरुलाई अनुगम गरेको हो ।
नगरपालिकाको आर्थिक विकास शाखा प्रमुख निर्मला पोख्रेलको संयोजकत्वमा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञका पशु चिकित्सक भरत काफले, नगरपालिकाको पशु शाखाका नायब पशु सेवा प्राविधिक गोविन्दराज पौडेल, नेपाल प्रहरीका प्रहरी नायब निरिक्षक दिपकराज नेपाल, उद्योग बाणिज्य संघका महासचिव गिरीराज पाण्डे, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य हुसैन अंसारी, उपभोक्ता हकहित संरक्षण मन्च रामग्राम नगरका अध्यक्ष यम कुमारी सुबेदीको टोलीले मासु पसलहरुको अनुगमन गरेको हो ।
मासु पसलहरु अनुगमनको क्रमा अधिकांश मासु पसलहरु दर्ता नरहेको, अव्यस्थित, फोहोर र मासुको गुणस्तर समेतमा कमी पाइएको छ । अव्यस्थित रुपमा टंकीमा खोलिएका मासु पसलहरुलाई तत्काल टंकी हटाई सटरमा व्यस्थित रुपले पसल संचालनमा ल्याउन समितिले पसलेहरुलाई निर्देशन दिएको हो ।
दर्ता नरहेको पसलहरुलाई दर्ता गराउन, मासुको गुणस्तर र पसलको सरसफाईमा ध्यान दिन र सुरक्षाको मापदण्ड अपनाउदै व्यस्थित रुपमा पसल संचालन गर्न समेत पसलहरुलाई अनुगमन समितिले आग्रह गरेको हो । केहि अव्यस्थित र दर्ता नरहेको पसलहरुलाई एक हप्ता भित्र दर्ता गराई पसल व्यस्थित गराउन समितिले पत्र पनि काटेको छ । पसललाई व्यस्थित नगरेमा कानुन बमोजिम आवश्यक कार्वाहीको समितिले सिफारिस समेत गर्ने जनाएको छ ।